Hamro Patra
बढ्यो शीतलहर: ज्येष्ठ नागरिकलाई दाउरा वितरण

टीकापुर, पुष २८

बेतबाँस उत्पादनका नामले परिचित कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ स्थित सत्ती कर्णाली सामुदायिक वनले जेष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण शुरु गरेको छ । वनको कार्यक्षेत्र भित्र रहेका १ शय १२ घरका ७५ वर्षदेखि माथि उमेरका जेष्ठ नागरिकलाई लक्षित गर्दै दाउरा वितरण शुरु गरिएको हो ।

Khadga Memorial And Janajagriti

मौसममा आएको बदलीसँगै शीतलहर बढ्न थालेपछि सामुदायिक वनले दाउरा वितरण गर्न शुरू गरेको छ । सामुदायिक वनका अध्यक्ष धनसिंह साउँदले १ शय १२ घरका जेष्ठ नागरिकलाई प्रतिव्यक्ति दुई क्वीन्टलका दरले दाउरा उपलब्ध गराउन लागेको बताए ।

चिसोयाममा तातोका लागि सहज होस् भनेर दाउरा वितरण गरेको अध्यक्ष साउँदले बताए । ‘जेष्ठ नागरिकलाई तातो पनि हुने र सम्मान पनि हुने हुनाले हामीले यो अभियान शुरु गरेका हौं’ साउँदले भने, ‘यसअघिका वर्षहरुमा चिसो बढेको समयमा चोक चोकमा दाउरा उपलब्ध गराउँदै आएका थियौं, यो वर्ष घरमै दाउरा पुर्याउँदै छौं ।’

एक हजार ४ शय उपभोक्ता सदस्य रहेको सामुदायिक वनले विभिन्न सामाजिक कार्य समेत गर्दै आएको छ । तीन शय हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वन वि.सं. २०५१ मा स्वर्गीय मोहनबहादुर रावलको पहलमा दर्ता भएको थियो । कर्णाली नदीको तटीय क्षेत्रमा रहेको बगरमा रावलको पहलमा पहिलो पटक बेतबाँस लगाएर वनको संरक्षण शुरु गरिएको थियो ।

अध्यक्ष साउँदका अनुसार सामुदायिक वनले वर्षेनी एक हजार २ शय क्वीन्टल बेत उत्पादन गर्दै आएको छ । यसरी उत्पादन गरेको बेत बिक्रीबाट आएको रकमले सामुदायिक वनले सामाजिक कार्य गर्दै आएको छ । सामुदायिक वनको १४५ हेक्टरमा बेत वन रहेको छ ।

वनले विगतमा एम्बुलेन्स, उपभोक्ताको कृषि प्रयोगका लागि दुई वटा ट्याक्टर खरिद गरेको थियो । यसबाहेक वनले उच्च मावि सञ्चालन, सामुदायिक सहकारी संस्था र उपभोक्ताका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । त्यसक्षेत्रका नागरिकलाई एम्बुलेन्स सेवा पाउन कठिन भएपछि वनले पुनः एम्बुलेन्स सेवा शुरू गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update