Hamro Patra
बसपार्क सञ्चालन नहुँदा पार्किङ समस्या

टीकापुर, पौष २३

कैलालीको टीकापुर बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको चार महिना बितिसक्दा पनि बसपार्क सञ्चालनमा आउन नसक्दा पार्किङमा समस्या हुन थालेको छ। सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्व्यन एकाइ धनगढी कार्यालयमार्फत बसपार्कको निर्माण सम्पन्न भएको हो।

Khadga Memorial And Janajagriti

बसपार्क सञ्चालनमा नआउँदा यात्रुवाहक सवारी साधन पार्किङका लागि समस्या हुँदै आएको भए पनि नगरपालिकाको ढिलासुस्तीका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ। ८ करोड २८ लाखको लागतमा निर्माण सम्पन्न भएको बसपार्क सधैँ खाली देखिन्छ भने बाहिर सडकका छेउछाउमा सधैँ सवारी साधनको चाप देखिने गरेको छ। दैनिक एक सयभन्दा बढी यात्रुवाहक सवारी साधनहरु टीकापुर आउने जाने गर्दछन्। ती सबै सवारीको पार्किङ स्थल सडक छेउ नै हो।

रिभर साइड यातायात प्रालिमा काम गर्दै आएका गोकर्ण धमलाले बसपार्कको बोलपत्र भई कार्यान्वयनमा नआउँदा पार्किङको धेरै ठूलो समस्या रहेको बताउँदै दुर्घटनाको जोखिम पनि बढेको बताउछन्। उनी सडकमा सवारी साधन पार्किङ गर्दा पार्किङ गरिएका सवारीमा गाडीहरु ठोक्किएर कैयौँ दुर्घटनाहरु भएको बताउछन्।

सुदूरपश्चिम यातायात प्रालि टीकापुर काउन्टरमा कार्यरत भरत हमालले बसपार्क नभएका कारण यात्रुकसमेत अलमलमा पर्ने गरेको बताए। “बसपार्क क्षेत्रमा पार्किङको व्यवस्था छैन। सवारी चालकहरुले कताकता लिएर सवारी साधन लिएर पार्किङ गर्नुपर्ने अवस्था छ”, हमालले भने “यसले यात्रुहरु पनि अलमलमा छन्, कहाँ गएर बस चढ्ने भन्नेमा।”

टीकापुर नरगपालिकालाई बसपार्क निर्माणको जिम्मा पाएको राजेन्द्र रोयल जेभीले बसपार्क निर्माण सम्पन्न गरी गत भदौ ३ गते नै हस्तान्तरण गरेको थियो। नगरपालिकाले बसपार्कको चाभी ग्रहण गरे पनि बसपार्कमा सम्भावित जोखिमका कारण निर्माण कम्पनीले अझैसम्म आफ्नो एकजना कर्मचारीलाई बसपार्कमै खटाएको छ। टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले बसपार्कको बोलपत्र प्रक्रिया शुरु भएको बताउँदै अबको केही दिनमा बसपार्क सञ्चालनमा आउने बताएका छन्।

बसपार्कसँग जोडिएको छ लेनको सडक निर्माणको काम चलिरहेको अवस्थामा बसहरु पार्किङमा झनै समस्या आएको चालक विकास चौधरी बताउँछन्। अत्याधुनिक तवरले निर्माण गरिएको भनिएको बसपार्कको उचित संरक्षण हुन नसक्दा ठाउँठाउँमा टायलहरु भत्किन थालेका छन्। नगरपालिकाले दुई वर्ष पहिले निर्माण गरेको सिटी बसपार्क पनि सञ्चालनमा आउन सकेको छैन। नगरपालिकाले सिटी बसपार्क निर्माणका लागि २० लाख खर्च गरेको थियो।

रासस

प्रकाशित मिति: बिहीबार, पुस २३, २०७७  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update