Hamro Patra
वडा विभाजनको गृहकार्य गर्दै टीकापुर नगरपालिका

टीकापुर, पुस २१

टीकापुर नगरपालिकाका वडा संख्या र सीमाना हेरफेरका लागि नगरपालिकाले गृहकार्य शुरु गरेको छ । नगरपालिकाले गठन गरेको वडा संख्या र सीमाना हेरफेर गर्न गठित कार्यदलले वडा विभाजनका लागि गृहकार्य शुरु गरेको हो ।

कार्यदलका संयोजक वडा नं. १ का अध्यक्ष गंगाराम आचार्यले वडा विभाजनको गृहकार्यका लागि आज टीकापुरस्थित राजनीतिक दलहरुसँग सुझाव संकलन गरिएको बताए । आचार्यले वडाहरुको जनसंख्या, क्षेत्रफल, भुगोलका आधारमा विभाजन गर्न सिफारिस गर्नका लागि दलहरुसँग छलफल गरेको बताए ।

Khadga Memorial And Janajagriti

राजनीतिक दलहरुले नगरको समान विकासका लागि वडा नं. १ लाई १० वटा र वडा नं. २ लाई २ वटा वडामा विभाजन गर्न सुझाव दिएका छन् । छलफलमा सहभागी नेकपाका नेता खड्कबहादुर शाहले वडा नं. १ निकै ठूलो र जनसंख्या समेत धेरै भएकाले १० वटा वडामा विभाजन गर्न सुझाव दिएको बताए ।

‘अहिलेको अवस्थामा विकासको प्रक्रिया, सेवा प्रवाह निकै चुनौतिपूर्ण रहेकाले वडा विभाजन अपरिहार्य गर्नुपर्छ’ शाहले भने ‘जनसंख्याकै आधार मान्दा समेत एक नम्बर वडालाई दशवटा बनाउनु पर्छ ।’

कार्यक्रममा सहभागी नेपाली काँग्रेसका नेता नवराज रावलले भुगोल र रेखांकन प्राविधिक रुपमा मिलाएर विकासलाई विकेन्द्रित गर्न वडाको संख्या बढाउनु पर्ने बताए । ‘बजार क्षेत्रमा मात्रै विकास भएको देखिन्छ’ रावलले भने ‘वडा विभाजन गर्दा समान रुपमा विकास हुने हुनाले सबै दलले एकलाई दश वटा र दुईलाई दुईवटा वडामा विभाजन गर्न सुझाव दिएका छौं ।’

दलहरुले दिएको सुझाव अनुसार ९ वटा वडामा रहेको टीकापुर नगरपालिका १९ वडामा विभाजित हुनेछ । कार्यक्रममा नेकपाका शाहसहित मोहन वि.क., नेपाली काँग्रेसका रावलसहित भवनेश्वर अधिकारी, धनराज उपाध्याय, जनता समाजवादी पार्टीका हरिप्रसाद तिमिल्सेना र जीतबहादुर चौधरी तथा राष्ट्रिय जनमोर्चाका दयाराम सञ्ज्याल लगायत सहभागी थिए ।

नगरपालिकाले वडा विभाजनका लागि आचार्यको संयोजकत्वमा वडा नं. २ का अध्यक्ष प्रकाश बुढा, कार्यपालिका सदस्यहरु डम्बर राजी, रमेश विश्वकर्मा, सीता चौधरी, इञ्जिनियर नवराज जोशी र नापी कार्यालय टीकापुरका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरेको थियो ।

वडा नं. १ नेपालकै सर्वाधिक जनसंख्या भएको वडा मानिन्छ । नगरपालिकाले तयार गरेको पाश्र्वचित्र अनुसार वडा नं. १ मा ४८ हजार बढी जनसंख्या रहेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update