Hamro Patra
स्वास्थ्य सेवामा फड्को मार्दै टीकापुर

योगेश रावल
टीकापुर, ३ बैशाख
टीकापुर नगरपालिकाले चालु आवमा स्वास्थ्य सेवाको विकास र विस्तारमा फड्को मारेको छ । उसले सबै वडामा स्वास्थ्य सेवा पु¥याउनुका साथै सेवाको गुणस्तरीयतामा समेत उल्लेख्य काम गरेको छ ।

नगरपालिकाले वडा नं. ६ को बेलुवा (नारायणपुर) र वडा नं. ८ को बटनपुर (धनसिँहपुर) मा स्वास्थ्य चौकी सञ्चालन गरेको छ । ती साविक नारायणपुर र धनसिँहपुर गाविस अन्र्तगतका स्वास्थ्य केन्द्र हुन । स्वास्थ्य चौकीमा सुत्केरी सेवा विस्तार गरिएको छ । जहाँ एचए र सिनियर अहेवको नेतृत्वमा ७÷७ जना स्वास्थ्यकर्मीको टिम खटाईएको छ ।

त्यस्तै चालु आवमा नगरपालिकाले विजयनगर, रामपुर, अस्नेहरी, मनिकापुर, सत्ती र झुँगामा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको छ । जहाँ अहेवको नेतृत्वमा १ अनमी र १ कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । ती सबै शहरी स्वास्थ्य केन्द्रमा गर्भवती र सुत्केरी जाँच हुने गरेको टीकापुर नगरपालिका स्वास्थ्य शाखाका प्रमुख बलबहादुर रावलले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

उनले स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्रमार्फत अन्य बिरामीको समेत नियमित स्वास्थ्य जाँच र औषधोपचार हुने गरेको बताए । नगरपालिकाले चालु आवमा नौ जना स्वास्थ्यकर्मी भर्ना गरी स्वास्थ्य संस्थामा खटाएको छ ।
त्यसैगरी नगरपालिकाले गर्भवतीलाई अस्पतालसम्म पु¥याउन निशुल्क एम्बुलेन्स सेवा समेत सञ्चालनमा ल्याएको छ । रेडक्रस टीकापुरले सञ्चालन गर्ने गरी नगरपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको हो । नगरपालिकाले रेडक्रस टीकापुरलाई एम्बुलेन्स खरिदका लागि ८ लाख सहयोग गरेको थियो ।

एम्बुलेन्स सेवा माघ महिनाबाट सञ्चालनमा आएको रेडक्रस टीकापुरका सभापति जगदीश्वर पण्डितले जानकारी दिए । उनले गर्भवतीलाई व्यथा लागेपछि एम्बुलेन्सले अस्पतालसम्म निशुल्क पु¥याउदै आएको बताए । ‘गर्भवतीलाई अस्पताल पु¥याए वाफत पैसा तिर्नु पर्दैन’ उनले भने–‘सबै खर्च नगरपालिकाले उपलब्ध गराउँछ ।’

नगरपालिकाले नगरबासीका लागि रगत जाँचको शुल्क समेत आफै तिरिदिने निर्णय गरेको छ । यसअघि रगत जाँच गरे वाफत सम्बन्धित व्यक्तिले रेडक्रस टीकापुरलाई तिर्नुपर्ने १२ सय रुपैयाँ नगरपालिकाले तिरिदिन थालेको छ । नगरपालिकाको यो निर्णय असोज महिनाबाट कार्यान्वयनमा आएको सभापति पण्डितले जानकारी दिए । उनले एकजना बिरामीले एक महिनासम्म लगातार ३ पिन्ट रगतको निशुल्क जाँच सेवा पाउने बताए । उनका अनुसार अन्तिम पटक सेवा लिएको एक महिनापछि पुनः निशुल्क सेवा पाउनेछन ।

नगरपालिकाले टीकापुर अस्पतालमा बालरोग विशेषज्ञ सेवा समेत सुरु गरेको छ । बालबालिका बिरामी भएपछि उपचारका लागि अन्यत्र जानुपर्ने वाध्यताको अन्त्य गर्न नगरपालिकाले मासिक २ लाख भन्दा बढी तलब भत्ता दिने गरी बालरोग विशेषज्ञ सेवा सुरु गरेको हो । नगरपालिकाको सहयोगमा बालरोग विशेषज्ञ डा. अमरनाथ ठाकुरले सेवा थालेका छन । उनले सेवा सुरु गरेपछि धेरै बालबालिकाले उपचारका लागि अन्यत्र जानुपर्ने वाध्यता हटेको नगरपालिकाको भनाई छ ।

त्यसैगरी नगरपालिकाले टीकापुर अस्पतालमा स्त्रीरोग विशेषज्ञ सेवा सुचारु गर्ने बारेमा समेत पहल थालेको छ । नगरपालिकाले स्त्रीरोग विशेषज्ञ सेवा सुरु गर्न चालु आवको आगामी तीन महिनाका लागि ७ लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिएको छ । ‘बजेट लगायतको सबै व्यवस्था भैसक्यो तर चिकित्सक आउन नमानेका कारण सेवा सुरु हुन समय लाग्ने देखिएको छ’ शाखा प्रमुख रावलले भने–‘धेरै प्रयत्न गर्दा पनि सम्बन्धित चिकित्सक आउन मानेका छैनन् ।’

स्वास्थ्य शाखाले अघिल्लो आवबाटै विभिन्न पाँच विद्यालयमा किशोर किशोरी सेवा अन्र्तगत साथी शिक्षा कार्यक्रम लागु गरेको छ । ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरुले स्वास्थ्य समस्याका बारेमा आपसी सरसल्लाह गर्ने गर्छन । उनीहरुले एकअर्काको स्वास्थ्य समस्याका बारेमा उपचार लगायतका सल्लाह दिने गरेको शाखा प्रमुख रावल बताउँछन ।

टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले नगरबासीले विगत लामो समयदेखी भोग्दै आएको स्वास्थ्योपचारको समस्या समाधानमा गम्भिर ढंगले काम गरिरहेको बताए । उनले नगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा गरेको कामको सकारात्मक प्रतिक्रिया आईरहेको बताए ।

उनले टीकापुर अस्पतालमा बालबालिकालाई लक्षित गरेर एनआईसियु सेवा सुरु गर्ने बारेमा पहल भैरहेको जानकारी दिए । ‘भौतिक संरचना सबै तयार छ । केही उपकरण जडान गर्ने तयारीमा छौं’ उनले भने–‘आगामी तीन महिना भित्र एनआईसियु सेवा सुरु हुन्छ ।’

टीकापुर अस्पतालमा दक्षिण कोरीयाली संस्था कोईकाले एनआईसियु भवन निर्माण गरिदिएको छ । जनशक्ति लगायतको अभावमा एनआईसियु भवन सञ्चालनमा आउन सकेको छैन । अस्पतालमा एनआईसियु सेवा नभएका कारण नवजात शिशुलाई स्वास्थ्य समस्या भए कोहलपुरस्थित शिक्षण अस्पतालमा रिफर गर्नुपर्ने वाध्यता छ ।

सुदूरपश्चिम प्रदेश अन्र्तगत सबै वडामा स्वास्थ्य सेवा पु¥याउने टीकापुर पहिलो नगरपालिका बनेको छ । प्रदेशमा रहेका ८८ स्थानीय तह मध्ये अझै ४० प्रतिशतका सबै वडामा स्वास्थ्य सेवा पुगेको छैन । ती वडाका बासिन्दा अन्यत्र गएर स्वास्थ्योपचार गर्नुपर्ने वाध्यता छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update