टीकापुर, पुस २१
नयाँ खाले कोरोना भाइरसको संक्रमण रोक्न बेलायतमा फेरि लकडाउन घोषणा गरिएको छ ।
हिजो टेलिभिजन सम्बोधनमार्फत बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका हुन । पछिल्लो समय बेलायतमा कोरोना भाइरसका संक्रमित ह्वात्तै बढेपछि स्वास्थ्य प्रणाली नै समस्यामा नपरोस् भनेर लकडाउन गरिएको जोन्सनले बताएका छन ।
बेलायतले अक्सफोर्ड र अष्ट्राजेन्काले बनाएको कोरोनाविरुद्धको खोप लगाउन सुरू गर्ने बताएको केही घन्टापछि नै बोरिसले लकडाउन घोषणा गरेका हुन । सबैभन्दा पहिला बेलायतमै देखिएको र अहिले अरू मुलुकमा पनि फैलिसकेको नयाँखाले कोरोना भाइरसको संक्रमण रोक्न आपतकालीन कदम चाल्नु आवश्यक रहेको जोन्सनले बताए ।
’मैले आज तपाईंहरूलाई सम्बोधन गरिरहँदा हाम्रा अस्पतालहरूमा महामारी सुरू भएदेखिकै सबैभन्दा बढी दबाब छ,’ जोन्सनले भने,‘देशका धेरै भागमा विभिन्न कडा मापदण्ड अपनाइएका छन्, यो नयाँ खाले भाइरसलाई नियन्त्रणमा ल्याउन हामी सबैले अझै धेरै गर्नुपर्ने प्रष्टै छ । ’
लकडाउन मंगलबारदेखि नै सुरू हुने र कम्तिमा पनि फेब्रुअरी १५ सम्म लागु हुने बताइएको छ । लकडाउनका बेला मेडिकल र अन्य अत्यावश्यक काम नपरी घरबाहिर निस्कन पाइने छैन । अत्यावश्यक सामान किन्न पनि दिनमा एक पटकमात्र बाहिर निस्कन पाइने छ ।
प्राथमिक र माध्यमिक तहका सबै विद्यालय र क्याम्पसहरू बन्द गरिएका छन । एकअर्काको घरमा पाहुना लाग्न जान रोक लगाइएको छ । टेक अवे सुविधाका लागिमात्र रेष्टुरेन्ट, बार खोलिने छन ।
पछिल्लो समय बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार नाघेको थियो । सोमबारमात्रै त्यहाँ ५८ हजार ७ सय ८६ जनामा कोरोना पुष्टि भएको थियो भने ४ सय ७ जनाले ज्यान गुमाएका थिए । बेलायतमा अहिलेसम्म कोरोनाबाट २७ लाख मानिस संक्रमित भएका छन् भने ७५ हजारको मृत्यु भएको छ ।
स्रोतः समाचार एजेन्सी