Hamro Patra
बेल रसले बजार पाएन

योगेश रावल
टीकापुर, २ बैशाख
आफ्नो उत्पादनले बजार नपाएपछि भजनी नगरपालिका–१ स्थित बेल जुस उद्योग संकटमा परेको छ । वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाले २०७१ सालमा सञ्चालनमा ल्याएको उद्योगले उत्पादन गरेको बेस रस बिक्री हुन छोडेको छ ।

कुनैबेला काठमाण्डौंका ठूलठूला डिपार्टमेन्ट स्टोरमा समेत उपलब्ध हुने बेल रस यतिबेला भने स्थानीय बजारमा समेत बिक्री हुन छोडेको छ । बेल रसले केही वर्ष नेपालगञ्ज, धनगढी, कोहलपुरका साथै भजनी आसपासका टीकापुर, लम्की, सुखड लगायतका स्थानीय बजारमा समेत राम्रो बजार लिएको थियो । अहिले यी स्थानीय बजारमा समेत बेल रस भेटिन मुस्किल छ ।

Khadga Memorial And Janajagriti

उपभोक्ताले स्वदेशी उत्पादन भन्दा बाह्य कुरालाई उपभोग गर्ने गरेका कारण बेल रसको बजार खुम्चिएको वन संरक्षण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर शाहले जानकारी दिए । उनले उपभोक्ताले बेल रसको महत्व नबुझेका कारण पनि बजार संकट भएको बताए । ‘धेरैले बेल रसको महत्व नै बुझेका छैनन्’ उनले भने–‘जब महत्व नै बुझेनन् भने बजारमा बिक्री हुने कुरै भएन ।’

अचेल औषधिका रुपमा प्रयोग गर्ने केही सिमित व्यक्तिहरुले मात्रै बेल रस उपभोग गर्दै आएका छन । उनीहरु उद्योगमै पुगेर आवश्यकता अनुसार खरिद गरेर लैजान्छन । बेल रस मधुमेह र मुटुको रोगीका लागि निकै उपयोगी छ । यसले पखाला, आउँ, ग्याँष्ट्रिक, कब्जियत हुनबाट समेत बचाउनुका साथै रोग प्रतिरोधात्मक शक्ति प्रदान गर्छ । बेल रस सेवनले गर्मीयाममा सितलता समेत प्रदान गर्ने अध्यक्ष शाह बताउँछन ।

संस्थाका अनुसार गतवर्षदेखी बेल रसको बजार ठप्प भएको हो । गतवर्ष उत्पादन भएको झण्डै एक हजार लिटर बेल रस बिक्री हुन नसकेर गोदाममै थन्किएको छ । उद्योगले एकवर्षमा करिव पाँच हजार लिटर उत्पादन गर्छ । ‘गतवर्षको उत्पादन त्यसै फाल्नुपर्ने अवस्था आएको छ’ अध्यक्ष शाहले भने–‘सोचे अनुसार बजार फैलिनुको साँटो खुम्चिदै गएको छ ।’

बजारमा माग हुन छोडेपछि उद्योगले बिक्रीका लागि कुनै योजना अघि सारेको छैन । सुरुमा आक्रामक ढंगले बजार लिएको बेल रस बिक्री हुन छोडेपछि उद्योगले समेत लापरवाही गर्न थालेको छ । उसले बजार विस्तारका कुनै योजना नै बनाएको छैन । एकजना व्यक्तिले उद्योगको रेखदेख गरिरहेका छन । ‘सुरुमा खुब प्रचार ग¥र्यौ । थोरै मार्केट विस्तार भएको थियो’ अध्यक्ष शाहले भने–‘पछिल्ला वर्षहरुमा त्यसतर्फ ध्यान दिन सकेका छैनौं ।’

उद्योगमा ४० सामुदायिक वन आवद्ध छन । जस अन्र्तगत १ हजार ८ सय शेयर सदस्य छन । उनीहरु मध्येले नै जंगलबाट काचो बेल टिपेर ल्याउँछन । उद्योगले स्थानीयले टिपेर ल्याएको काचो बेल ७ रुपैयाँ प्रति केजीमा खरिद गर्छ । काचो बेल १÷२ दिन राखेर उद्योगले ग्रेडिङ गर्छ । उद्योगले एक दिनमा ५ क्विन्टल काचो बेल पेल्छ । जसबाट २०० केजी लेदो उत्पादन हुन्छ ।

उद्योगले लेदोलाई प्रशोधन गरेर बेल रस उत्पादन गर्छ । लेदोलाई प्रशोधन गरेर उत्पादन भएको बेल रस बोत्तलमा प्याक गरेर उत्पादन मिति सहित बजारमा पठाउने गरेको निमित्त कार्यालय प्रमुख सुधराम चौधरीले जानकारी दिए । चौधरीका अनुसार बेल रस खुद्रामा प्रति बोत्तल १२० रुपैयाँमा पाउँछ । उनले पूरै पेटी खरिद गरेमा प्रति बोत्तल १०० रुपैयाँ मात्रै पर्न जाने बताए । उपभोक्ताले एक भाग बेल रस र तीन भाग पानी मिसाएर पिउने सकिन्छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २, २०७६  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update