Hamro Patra
११ वर्ष दुव्र्यसनीमा फसेका कल्पेश अचेल अरूलाई सुधार्छन्

सविता बुढा
धनगढी, पुस १५
कैलालीको टीकापुरका ३२ वर्षीय कल्पेश कुँवरले किशोर अवस्थामा हुने बिरूवाको चिल्लो पातझैं थिए । जागिरे बुवाका छोरा भएकाले पुल्पुलिएर हुर्किएका । पहाडमा हुर्किए पनि उनी १५ वर्षको हुँदा ९ कक्षा पढ्न टीकापुर आइपुगे ।

वीरेन्द्र विद्या मन्दिरमा भर्ना भए। उनी खेलकुदमा अब्बल निस्किए । ‘म पढाइमा भन्दा पनि खेलकुदमा अगाडि थिएँ,’ उनले भने । विभिन्न खेल गतिविधिमा पदक जिते ।

स्कुलले समेत उनलाई कतिसम्म गथ्र्यो भने कतै उनले पुरस्कार जितेको थाहा पाए बिहानी प्रार्थनाको समयमा सबैका अगाडि पुरस्कार दिइन्थ्यो ।

अब उनी सहरबाट बाहिर पनि खेल्न जान थाले। त्यहीँबाट सुरू भयो उनको ओरालो गति । सहरबाट टाढा जाँदा रमाइलो गर्न भन्दै बियर खान थाले, बियर खाँदाखाँदै चुरोट, चुरोटसँग गाँजा‘ ।

‘गेम खेल्न होम टाउनभन्दा बाहिर जान थालेपछि रमाइलोका लागि भनेर साथीहरूसँग बियर खान थाले । पछि त्यही मेरो जीवनमा नशाको धब्बा बन्यो,’ उनले भने ।

हुन त बियर खाँदैमा नशामा फसिएला भन्ने सोचेका थिएनन् । साथीहरूले रमाइलो बनाए उनी रंगिए । उनलाई त्यसबेला कुलतमा कसरी परिन्छ थाहा थिएन । लागुपदार्थ दुर्व्यसनीको सिकार भइहाले त्यसको असर केसम्म हुन्छ भन्ने भेउ पनि पाएनन् ।

‘त्यो बेला त के थाहा यसले लत लाग्छ भन्ने, अगाडिका दाइहरूले खाएको देखेर सुरू गरियो,’ उनले भने । बियर सुरू गरेको केही समयपछि उनको कक्षाका ड्रग्स खाने साथीहरूसँग भेट हुन थाल्यो । ‘स्कुलमा फर्स्ट बेन्चमा बस्ने म पछि लाष्ट बेन्चमा बस्ने भएँ,’ उनले भने ।

उनले चियामा घोलेर खाने औषधी अरू साथीसँग मिलेर खान थाले। त्यसैबाट नशाको बिस्तारै लत पस्न थालेको उनले सम्झिए । ‘त्यसपछि लगातार चुरोट, गाँजामा पनि त्यो औषधी मिसाएर खाना थालियो,’ उनले सुनाए ।
उनलाई त्यो उमेरमा यो गलत हो, आफू नराम्रो गरिरहेको छु भन्ने लाग्दैन थियो । रमाइलो र अरूको देखासिकीले उनी झन् बढी नशा तान्न थाले । ‘अगाडिका दाइहरूको सिकेर अनि हिरोगिरी देखाउन सेवन गरियो,’ उनले भने ।

बुवाको शिक्षकको जागिर हुनाले आर्थिक अभाव कहिल्यै सामना गर्नु परेको थिएन । उनले त्यसैको फाइदा उठाउन थाले । नशाले उनको खेलकुदमा बनाएको पहिचान बिस्तारै हराउँदै गयो । ‘यसपछि म स्कुलमा ब्याडब्वाइको नामले चिनिन थालें,’ उनले भने ।

कक्षा ९ सकिने बेला नशा सेवन गरेर स्कुलमा गएका उनले झगडा गरेका कारण निश्कासित हुनुप¥यो । ‘स्कुलमा साइन्सको प्राक्टिकलकै दिन नशा खाएर झगडा गरेपछि रेस्ट्रिक्टेड भएँ’ उनले भने ।

उनीसँगै स्कुलबाट निकालिएका केहीले पढाइ नै छोडे। उनी चाहिँ फेरि अर्को स्कुलमा कक्षा १० मा भर्ना भए । अब राम्रोसँग पढ्नु पर्छ भन्ने सोच नआएको होइन तर नशामा फसिसकेका उनले राम्रो गर्न सकेनन् ।

‘त्यही स्कुलमा एक केटीसँग मेरो लभ पनि पर्यो। लभ परिसकेपछि फिल्मको हिरोले गरेको जस्तो एक्टिङ गर्न मन लाग्थ्यो। चुरोट खान्थें । नशा खाने बित्तिकै त्यो केटीको घर जान्थें,’ उनले भने ।

उनी एसएलसीमा फेल भए । त्यसपछि उनी झन् बढी बिग्रिए। दिनभरि उनी कहिले कता, कहिले कता गर्दै नशा लिन्थे । अर्को वर्ष भने उनी एसएलसी पास भए । ‘बिग्रँदै जान थालेको घरमा थाहा भएपछि आमाबुवाले सुध्रेला कि भनेर काठमाडौं पठाए,’ उनले भने ।

त्यहाँ मामासँगै बसेर पढ्दा नशा खान नपाएपछि उनले पढाइ एक्लै बस्छु भनेर डेरा सरे । एक्लै बस्न थालेपछि उनलाई झन् ढुक्क भयो । घरका मान्छेको डर नभएपछि उनी रातदिन नशामै मस्त हुन्थे ।

उनी फेरि फेल भए । दुई वर्षमा टीकापुर फर्के । ‘म नशामा डुबेको बेला मेरो घर पूरा तहस–नहस भएको थियो । मेरो चिन्ताले बाबा पनि डिप्रेसनमा जानुभयो,’ उनले भने ।

उनी दुव्र्यसनीको सिकार बन्दा कयौं पटक जेल परे । कहिले सडकको छेउ त कहिले जंगलमा उनी भेटिन्थे ।

‘समाजमा पनि मेरो इज्जत थिएन । म काम नलाग्ने भैसकेको थिएँ, द्वन्द्वकालमा १४ दिनसम्म तत्कालीन माओवादीले सहरमा गुण्डागर्दी गरेको, नशा खाएको आरोप लगाएर अपहरण गरे,’ उनले भने ।

त्यो शिविरमा उनी नशा नखाइ बसे । फर्केपछि फेरि उस्तै । ‘समाजमा आफन्त इष्टमित्र म देख्नेबित्तिकै भाग्थे । म सोच्थें मेरो डरले भाग्छन् भनेर तर त्यो रहेनछ । उनीहरू मजस्तो बिग्रेको मान्छेसँग किन मुख लाग्ने भनेर भाग्ने रहेछन्,’ उनले भने,‘त्योबेला मलाई यसो नगर भन्ने आँट कसैले गरेनन् । तिमी गलत गर्दैछौ है भनेर कसैले भन्न सकेनन् ।’

परिवारको अपेक्षा उस्तै थियो । घरपरिवारले अझै पनि सुध्रिन्छ कि भनेर सन् २०१२ मा उनलाई पैसा खर्च गरेरै दुबई पठाए । त्यो ११ महिना उनी झन् नशा सेवन गर्न थाले । त्यहाँबाट फर्केपछि उनी भारत गए ।
‘भारतमा झन् जताततै हरेक किसिमको नशा पाइने, त्यहाँ त म २४ सै घण्टा नशा खान्थें,’ उनले भने ।

भन्छन् नि रागबाट बैराग पलाउँछ । उनलाई पनि नशादेखि बैराग लाग्न थाल्यो । ’अब चाहिँ अति भयो है,’ भन्ने सोच आउन थाल्यो । ‘अब मैले जसरी पनि सुध्रिनु पर्छ जस्तो लाग्यो । नशाले आमाबुवा घरपरिवार माया बिर्साइदिएको थियो,’ उनले भने, ’म भित्रको एक्लोपन दिक्क देखेरसमेत म दिक्क लाग्दो भएको थिएँ ।’

मनले चाह्यो भने जे पनि गर्न सकिने रहेछ भन्ने उनलाई अहिले लाग्छ । ‘मेरो जीवन बर्बाद भएको थियो । प्रहरी चौकी पुग्दा–पुग्दा म थाकिसकेको थिएँ । आफूलाई आफैं बोझ थिएँ । जीवनमा बिग्रनुपर्ने बिग्रिसकेको थियो । जाने कुनै ठाउँ थिएन अनि म भारतबाट नेपाल फर्कें,’ उनले भने ।

नशाकै सुरमा फर्केका उनीले परिवारबारे थाहा पाउने कुरै भएन । घरमा नै पनि उनी तीन दिनपछि पुगेका थिए । घर पुगेपछि थाहा पाए कि मामाघरका हजुरबुवा स्वर्गीय भएछन् ।

‘मलाई मामाघरको हजुरबुवाले कैयौंपटक प्रहरीबाट छुटाउनुभएको थियो, खुब माया गर्नुहुन्थ्यो, उहाँकै मृत्युको खबर मलाई थिएन,’ उनले भने ।

त्यतिखेर उनी नशाबाट उत्रेका थिए । यसरी उत्रेका रहेछन् त्यहीँनिरबाट घर नगइकन पुर्नस्थापना केन्द्रमा पुगे । ‘मैले जीवनमा जस्तोसुकै समस्या आओस् अब म नशाको साहरा नलिने सोचें’ उनले भने । एक वर्षमा पुर्नस्थापना केन्द्रमा बसेपछि सुधार भएर निस्के ।

‘पुर्नंस्थापना केन्द्रमा बस्दा सुरूमा १५ दिन जति धेरै गाह्रो भए पनि सहेर बसें । अन्तत मैले नशा छोडे । आज नशा छोडेको ८ वर्ष पूरा भयो’ उनले खुसी हुँदै भने । नशामा डुबेको ११ वर्षमा महत्वपूर्ण कुरा गुमाएको उनले बल्ल होस पाए ।

‘सुरूमा त पढाइ बिगारें, पढेर केही गर्ने सपना अधुरो रह्यो । बाबाको इच्छा पूरा गर्न सकिनँ, आमाबुवाको मन दुखाएँ,’ उनले भने, खेलकुदमा देखेको भविश्य बिगारें, इज्जत गुमाएँ ।’

अब त उनी नशारहित भएर बाँच्न थालेका छन् । ‘गुमाएका कुरा फिर्ता नआए पनि मैले अहिले धेरै कुरा फेरि पाएको छु,’ उनले भने । सुधारिएपछि घरमा आफूले पु¥याएको नोक्सानीको ज्ञान उनलाई भयो । रोजगारीका लागि विदेश जान मन लाग्यो । त्यसपछि उनी साउदी अरेबिया गए ।

केही पैसा कमाउन सके । फुर्सदमा फेसबुक चलाउँथे । फेसबुकमा एक युवतीसँग उनको चिनजान भयो । उनी विदेशबाट फर्केपछि ती युवतीसँग बिहेको कुरा चल्यो । दुव्र्यसनीमा फसेको केटालाई छोरी नदिने बताए । युवती कल्पेशलाई धेरै पटक थुनामा लगेका प्रहरी कर्मचारीकी छोरी थिइन् ।

‘उनले मेरो बाबालाई चिन्नुहुन्छ भनेर फोटो पठाएपछि नशामा हुँदा तीनचोटि चौकीमा थुनेका पुलिस अफिसर थिए,’ कल्पेशले हाँस्दै भने,’कसरी मान्थे बुवाआमा ?’

उनले आफ्ना बारेमा सबै भनेका थिए । ती युवतीले पनि साथ दिन तयार भइन् । ‘हामीले बिहे ग¥यौं,’ उनले भने ।

पढ्ने उमेरदेखि नै दुव्र्यसनीको सिकार बनेका कल्पेश अहिले आफू बसेकै पुर्नस्थापना केन्द्रमा जागिर गर्छन् । ‘हिजो नशा खान पैसाका लागि साथीभाइ, आफन्त धेरैसँग ऋण माग्नु पथ्र्यो तर अहिले आफैं कामएर परिवार पाल्न सक्छु,’ उनले भने ।

अहिले नयाँ जीवन पाउँदा उनीमात्र होइन परिवार पनि धेरै खुसी छन् । ‘सबभन्दा बढी त ससूरालीपट्टि पनि प्यारो ज्वाइँ बन्न सकेको छु,’ उनले भने । उनले आफैंले दुई ठाउँमा यस्तै दुव्र्यसनीमा परेकाहरूलाई छुटकारा दिलाउने पुर्नस्थापना केन्द्र खोलेका छन् । ‘अब पछाडि फर्केर हेर्न चाहन्नँ । हिजो समाजमा आफन्तबाट गाली पाउँथे, म देख्दा भाग्नेहरू आज मलाई उदाहरण दिन्छन् ,’ उनले भने ।

उनी कसैलाई पनि नशाको लत नपरोस् भन्ने चाहन्छन् । कैलालीमा पछिल्लो समय दुर्व्यसनीको सिकार हुने युवा बढेकोमा उनलाई निकै पीर छ । उनले काम गरिरहेका तीन पुर्नस्थापना गृहमा ७५ जना अहिले पनि उपचाररत् छन् ।

‘विद्यालय पढ्ने उमेरका थुप्रै बालबालिका यसको जोखिममा छन्,’ उनले भने । सामाजिक सञ्जालबाट यससम्बन्धि कुरा हेरेर पनि धेरै केटाकेटी बिग्रेका उनले बताए । ‘अभिभावक र स्कुलका शिक्षकहरूले बालबालिकाको प्रत्येक दिनको क्रियाकलाप बुझ्नु पर्छ,’ उनले भने ।

कैलालीमा लागुपर्दाथ दुर्व्यसनीसम्बन्धी अपराध बढ्दै
जिल्ला प्रहरी कार्यालय कैलालीमा वर्षेनी लागुपर्दाथ दुव्र्यसनीका अपराध बढ्दै गएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषध सम्बन्धी ८७ मुद्दा दर्ता भएकोमा अघिल्लो आर्थिक वर्षमा ९८ र चालु आर्थिक वर्षको ५ महिनामा २९ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

भारतसँग खुला सीमाना जोडिएकाले पनि दुव्र्यसनीसम्बन्धी अपराध बढेको उनको बुझाइ छ । डिएसपी विष्टले लागुऔषधसम्बन्धी अपराधमा स्कुल पढ्ने उमेरका बालबालिकाको पनि संलग्नता हुने गरेको बताए ।

’बालबालिकाको हकमा मुद्दा दर्ता भने भएको देखिएको छैन तर संलग्नता भने हुनेक्रम बढेको छ । पहिला सेवनमात्रै गर्ने गरेको देखिन्थ्यो अहिले त कोरोबार पनि गर्ने गरेको पाइएको छ,’ उनले भने ।
साभारः सेतोपाटी डटकम

 

प्रकाशित मिति: बुधबार, पुस १५, २०७७  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update