Hamro Patra
धनगढी प्रहरी हत्याकाण्डः मुख्य नाइके पक्राउ

रोशन भट्ट
धनगढी, पुस १३
साढे २ महिनाको अथक प्रयासपछि प्रहरीले आज धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३४ वर्षीय सुकबहादुर भनिने अमर रानालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गत कार्तिक १ गते २ प्रहरी हत्या प्रकरणका मुख्य योजनाकार रहेको भन्दै प्रहरीले उनको खोजीकार्यलाई तीव्र पारेको थियो । अन्ततः रानालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

यसअघि प्रहरीले सो प्रहरी हत्या काण्डमा संलग्न भएको भन्दै एक जना व्यापारीसहित ८ जनालाई पक्राउ गरिसकेको छ ।

Khadga Memorial And Janajagriti

यो घटनाको पछाडि तस्करीको नयाँ स्वरुप र अपराधको दर्दनाक श्रृंखलालाई बाहिर ल्याएको छ । प्रहरीकै अनुसन्धान अनुसार धनगढी जुुगेडा क्षेत्र तस्करीको ट्रान्जिट क्षेत्र हो । जुन मार्गबाट नेपालबाट भारत र भारतबाट नेपालमा अवैध सामान ओसारपसार हुन्छ ।

प्रहरी हत्या घटनाको पछाडि नेपालबाट भारतीय बजार सुदालगायत क्षेत्रमा केराउ (मटर) को अवैध ओसारपसार मुख्य कारक रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक अनुपम शमसेर जबरा बताउँछन् ।

खासगरी तेस्रो मुलुकबाट अनुदानमा नेपाल भित्रिने सो मटर तस्करहरुको गिरोहले भारतीय बजारसम्म पुर्याउदै आएका थिए । तर प्रहरी बाधक थिए। अन्ततः तस्करहरुले प्रहरी हत्या गर्ने योजना बुनेको प्रहरीको ठहर छ ।

यसरी बन्यो प्रहरी हत्याको योजना
गत कार्तिक १ गते अस्थायी प्रहरी पोष्ट धनगढी जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउद नियमित गस्तीमा थिए । उनीहरु अर्को दिन विहानसम्म पनि नफर्केपछि वेपत्ता भएको भन्दै प्रहरीले खोजीकार्य थाल्यो ।

बिकको लास कार्तिक २ गते नेपाल–भारत सीमा भएर बग्ने मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा भेटिएको थिए । २ दिनपछि साउद पनि मोहना नदीमै मृत अवस्थामा फेला परे ।
प्रहरी अनुसन्धान अनुसार उनीहरुको हत्याको योजना कार्तिक १ गते नै घटना हुनुभन्दा केही समय अगाडि नै बनेको थियो ।

अमर रानासहित ८ जनाको गिरोह घटना हुनु भन्दा अगाडि रानाकै घरमा भेला भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक जबरा बताउँछन् ।

‘रानाको घरमा जम्मा भएको समूहले रक्सी खादै प्रहरीको हत्या गर्ने योजना बनाएको देखिन्छ,’ उनले भने, ‘हत्या गर्न प्रयोग भएका हतियारहरु पनि मुख्य योजनाकार रानाकै घरबाट लगिएको छ ।’

मटर तस्करीमा प्रहरी बाधक बन्न थालेपछि विभत्स हत्यामा सो गिरोह उत्रिएको प्रहरीको दाबी छ । प्रहरी हत्यापछि अमर राना भारततर्फ भागेको प्रहरीको अनुसन्धानले देखाउँछ ।

‘रानाको घटना भएकै दिनदेखि निरन्तर खोजीकार्य भइरहेको थियो,’ उपरीक्षक जबराले भने, ‘राना भारतबाट नेपाल आइरहेको भन्ने विशेष सूचनाका अधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।’
अन्ततः धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलवारीको नेपाल–भारत सीमाक्षेत्रबाट हिजो साँझ साढे ७ बजेको समयमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रानालाई अदालत पेश
पक्राउ परेका रानालाई आजै जिल्ला अदालत कैलालीमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार रानालाई दालत पेश गरिएको हो ।

प्रहरी हत्याकाण्डमै प्रक्राउ गरेका धनगढीका व्यवसायी राजिप गुप्तालाई एक लाख ५० हजार धरौटीमा छोडिएको छ । भारततर्फ तस्करी भइरहेको मटर व्यवसायी गुप्ताको रहेको प्रहरीले बताएदै आएको छ ।

यसअघि पक्राउ परेका ८ जनालाई जिल्ला अदालत कैलालीको आदेशमा पुर्पक्षको लागि जेल चलान गरिएको छ ।

हत्या आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१० का राजेन्द्र राना पर्कु भन्ने रोहित राना, गब्बर भन्ने राजकुमार राना, सुरेश राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना, गोपाल भन्ने रामगोपाल राना र रोहित रानालाई जेल चलान गरिएको हो ।

प्रहरी हत्यामा संलग्न ९ जना नै सोही क्षेत्रका स्थानीय हुन् । ‘उनीहरु विगतदेखि नै तस्करीमा संलग्न रहेको प्रहरीको अनुसन्धानले देखाउछ,’ कैलाली प्रहरी प्रमुख जबराले भने, ‘उक्त समूह व्यापार–व्यवसाय र अन्य कुनै रोजगारीमा आवद्ध नभइ सीमा क्षेत्रबाट हुने तस्करीमा सक्रिय रहेको पाइन्छ ।’

प्रहरी हत्यामा भारतीयको हात ?
प्रहरीको हत्या भएको जुगेडा क्षेत्र तस्करीको ट्रान्जिट पोईन्ट मानिन्छ । उक्त क्षेत्रबाट नेपाल–भारतका तस्करहरुले विभिन्न सामान ओसारपसार गर्ने गरेका छन् । मटर तस्करीमा भारतीय तस्करको समेत संलग्ता रहेको प्रहरीले जनाएको छ ।

‘नेपालका तस्करहरुले सीमाक्षेत्रमा पुर्याएको सामान भारतीय तस्करले लग्ने गरेका छन्,’ प्रहरी प्रमुख जबराले भने, ‘प्रहरीको हत्या भएकै दिन तस्करी भएको मटर पनि सीमा क्षेत्रबाट भारतीय तस्करले लगेको देखिन्छ ।’

तर प्रहरीको हत्या काण्डमा भने भारतीय तस्करको भूमिका नरहेको प्रहरी प्रमुख जबराको दाबी छ ।

समाचार साभारः दिनेश खबर डटकम र तस्विर साभारः सेतोपाटी डटकम

प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १७:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update