Hamro Patra
संसद विघटन विरुद्ध टीकापुरमा काँग्रेसको विरोध सभा

टीकापुर, पुस १३
संसद विघटन विरुद्ध नेपाली काँग्रेसले सडक आन्दोलन थालेको छ । उसले आज देशभरका १६५ निर्वाचन क्षेत्रमा एकसाथ विरोध सभाको आयोजना गरेको छ ।

यसैक्रममा काँग्रेस कैलाली क्षेत्र नं. १ को आयोजनामा टीकापुरमा विरोध सभा सम्पन्न भएको छ । पार्टी कार्यालयबाट निस्केको विरोध र्याली स्थानीय खड्गचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
क्षेत्रीय सभापति भुवनेश्वर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको विरोध सभालाई नेताहरुले सम्बोधन गरेका थिए ।

Khadga Memorial And Janajagriti

विरोध सभालाई सम्बोधन गर्दै काँग्रेस पूर्व केन्द्रिय सदस्य चन्द्रसिँह भट्टराईले लोकतन्त्रको रक्षार्थ काँग्रेस सडकमा आएको बताए । उनले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र मास्न खोजेको आरोप लगाए ।

सोही सभामा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले राष्ट्रपतिले प्रधानमन्त्रीको गैरसंवैधानिक कदममा साथ दिएर पदीय गरिमाको खिल्ली उडाएको बताए । उनले प्रधानमन्त्रीको गैरसंवैधानिक कदमलाई काँग्रेसले सडकबाटै परास्त गर्ने दावी गरे ।

विरोध सभामा काँग्रेस नेताहरु बुद्धीसागर चौधरी, फकिरसिँह कडायत, गंगबहादुर कुँवर, उमादेवी बादी लगायतले सम्बोधन गरेका थिए । विरोध सभालाई सम्बोधन गर्ने क्रममा नेताहरुले प्रधानमन्त्रीको गैरसंवैधानिक कदम विरुद्ध काँग्रेसले सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिए ।

 

प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  १६:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update