Hamro Patra
टीकापुर बचत सहकारीको पदस्थापन सम्पन्न

टीकापुर, पौष ४

टीकापुरस्थित टीकापुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवनिर्वाचित कार्यसमितिको पदस्थापन आज सम्पन्न भएको छ । गत शनिवार सम्पन्न संस्थाको १२औं साधारणसभाले आगामी तीन वर्षका लागि महेशप्रसाद कुश्मीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।

Khadga Memorial And Janajagriti

पदस्थापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संस्थाका पूर्व अध्यक्ष भीमबहादुर शाहले संस्थाको मेरुदण्ड मानिने शेयर पुँजी बढाउनु पर्नेमा जोड दिए । टीकापुर क्षेत्रमै सर्वाधिक ८ प्रतिशत लाभान्स वितरण गर्दै आइरहेको स्मरण गर्दै शाहले नवनिर्वाचित कार्यसमितिले यस क्षेत्रमै नमूना सहकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै टीकापुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं संस्थाका सल्लाहकार राजकुमार हमालले सहकार्यको माध्यमबाट सहकारीले आर्थिक गतिविधिमा जोड दिनुपर्ने बताए । नयाँ लक्ष्य, नयाँ योजनासहित अगाडि बढ्नुपर्ने बताउँदै हमालले सफल कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष सुरेन्द्रकुमार शाहले आफ्नो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने कार्यसमितिलाई धन्यवाद दिँदै संस्थागत विकासका लागि आगामी दिनमा समेत सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाका अध्यक्ष कुश्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, लेखा समितिका संयोजक चेतमान खत्री लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका सदस्य परमानन्द पाण्डेले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख दीपकबहादुर थापाले स्वागत तथा सचिव धु्रवबहादुर रावलले सञ्चालन गरेका थिए ।

संस्थाको १२ औं साधारण सभाले सहकारीको उपाध्यक्षमा भरत रावल, सचिवमा धु्वबहादुर रावल र कोषाध्यक्षमा पुष्पराज केसीलाई चयन गरेको थियो । त्यस्तै सदस्यमा प्रकाश शाह, योगेश रावल, लक्ष्मण थापा, हंशराज रावल र निर्मला खड्का चयन भएका छन् । साधारण सभाले लेखा समितिको संयोजकमा वीरेन्द्र रावल र सदस्यमा नेत्रबहादुर रावल र लोकेन्द्र बहादुर मल्ललाई चयन गरेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ४, २०७७  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update