Hamro Patra
लम्की–टीकापुर–खक्रौला र धनगढी–भजनी–सत्ती हुलाकी सडक स्तरोन्नतिको काम शुरु

टीकापुर, मंसिर ५

पहिलो चरणको कार्य सम्पन्न नहुँदै कैलालीको हुलाकी राजमार्ग स्तरोन्नतिको काम शुरु भएको छ । भारत सरकारको सहयोगमा निर्माणमा भएको लम्की–टीकापुर–खक्रौला र धनगढी–भजनी–सत्ती हुलाकी सडक स्तरोन्नतिको काम शुरु भएको हो । पहिलो चरणमै सम्पन्न गर्नुपर्ने धनगढी भजनी सडकखण्डमा पर्ने तिन किलोमिटर सडक, कान्द्रा नदीको पुल निर्माण अझै सम्पन्न हुन सकेको छैन ।

Khadga Memorial And Janajagriti

पहिलो चरण अन्तर्गत बसन्ता वन क्षेत्रको २ किलोमिटरमा रुख कटानी भएको छैन । त्यस्तै लालबोझीमा पर्ने एक किलोमिटर क्षेत्रमा कान्द्रा नदीले सडक कटान गरेपछि निर्माण कार्य अवरुद्ध भएको हो । पहिलो चरणको सडक निर्माण सम्पन्न नहुँदै स्तरोन्नतिको काम शुरु गरिएको हुलाकी सडक आयोजनाले जनाएको छ ।

हुलाकी सडक आयोजना धनगढीका इञ्जिनियर पदम मडैले हुलाकी सडक आयोजना अन्तर्गत लम्की–टीकापुर–खक्रौलाको २९.७ किलोमिटर र धनगढी–भजनी–सत्ती खण्डको ६२ किलोमिटर सडक स्तरोन्नतिको काम शुरु गरिएको बताए ।

‘लम्की–टीकापुर–खक्रौला खण्डमा तीन भाग र धनगढी–भजनी–सत्ती खण्डमा दुई भाग गरेर निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको छ’ इञ्जिनियर मडैले भने ‘नेपाल सरकारकै लागतमा निर्माण हुने सडक ७ मिटर कालोपत्रेसहित दुई लेनको हुनेछ ।’ मडैले लम्की–टीकापुर–खक्रौला खण्डमा लम्कीमा २.५, टीकापुरमा ३.१ र सत्तीमा ७ शय मिटर सडक चारलेन र बाँकी सडक दुई लेनको हुने बताए ।

‘दुबै खण्डमा काम शुरु भइसकेको छ, सम्झौता भएको तिन वर्षमा सम्पन्न गर्ने गरी काम भइरहेको हो’ मडैले भने ‘पहिलो चरणमा बाँकी रहेको काम समेत यस वर्ष सम्पन्न गर्ने लक्ष्य लिएका छौं ।’ लम्की–टीकापुर–खक्रौलाको २९.७ किलोमिटरका लागि डेढ अरबसहित धनगढी–भजनी–सत्ती खण्डको लागि ३ अरब रकम लागत अनुमान गरिएको छ ।

पश्चिम तराईलाई पूर्वी तराईसम्म सहज रुपमा जोड्ने उद्देश्यका साथ शुरु गरिएको हुलाकी राजमार्गको स्तरोन्नतिको काम शुरु हुनुले यस क्षेत्रको आर्थिक क्रियाकलापमा बढोत्तरी हुने टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले बताए । ‘पूर्व पश्चिमसम्म सहज रुपमा यातायात सञ्चालन हुँदा निश्चित रुपमा आर्थिक गतिविधि बढ्ने नै भयो’ अध्यक्ष भण्डारीले भने ‘यसले यहाँका बासिन्दाको जीवनस्तर उकास्ने छ ।’

हुलाकी सडक पहिलो चरणमा भारत सरकारको आर्थिक सहयोगमा लम्की–टीकापुर–खक्रौलाको २७.६ र धनगढी–भजनी–सत्ती खण्डको ६२ किलोमिटर सडक भारतीय निर्माण कम्पनी जिआर गाभरले निर्माण गरेको थियो । निर्माण भएको तीन वर्ष नपुग्दै जीर्ण बनेको सडक स्तरोन्नतिका लागि यस क्षेत्रका बासिन्दाले माग गर्दै आएका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update