Hamro Patra
टीकापुर अस्पतालमा आइसियु सञ्चालनका लागि पहल

टीकापुर, मंसिर ५
टीकापुर अस्पताल विकास समितिले आईसियु तथा भेन्टिलेटर सञ्चालनका लागि पहल थालेको छ । समितिले जिल्लाको पूर्वी क्षेत्रका पालिकाहरुसँग छलफल थालेको हो ।

छलफलमा टीकापुर र भजनी नगरपालिका तथा जानकी र जोशीपुर गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । सो अवसरमा सुदूरपश्चिम प्रदेश सदस्यहरु, पूर्व सभासदहरु, राजनीतिक दलका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले एक वर्षका लागि आवश्यक पर्ने २ करोड ३७ लाख ५५ हजार ८ सय बराबरको अनुमानित रकम प्रस्तुत गरेका छन । यो रकम जनशक्ति व्यवस्थापन तर्फको हो । जसमा रेडियोलोजिस्ट एकजना, सर्जन एकजना, एनेस्थेसियालोजिस्ट एकजना, फिजिसियन दुईजना, मेडिकल अधिकृत ५ जना, बिएन एकजना, स्टाफ नर्स १५ जना, कार्यालय सहयोगी ४ जना र सेक्युरिटी गार्ड २ जना आवश्यक पर्ने उल्लेख छ ।

Khadga Memorial And Janajagriti

अध्यक्ष रावलको प्रस्ताव प्रति पालिकाका प्रमुख तथा उपप्रमुखहरुले सहमति जनाएका छन । उनीहरुले कार्यपालिकाको बैठकबाट आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले आइसियु तथा भेन्टिलेटर सञ्चालनका लागि आफूले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । उनले छिमेकी पालिकाहरुलाई समेत सहयोगका लागि आग्रह गरे ।

‘हामी नेतृत्व गर्न तयार छौं । अन्य पालिकाले समेत साथ दिनुपर्छ’ उनले भने–‘यतिबेला जनताको स्वास्थ्य पहिलो कुरा हो ।’

भजनी नगरपालिकाकी उपप्रमुख छाया देवकोटा र जोशीपुर गाउँपालिकाका अध्यक्ष रामकृष्ण चौधरीले अस्पताल विकास समितिको प्रस्तावलाई कार्यपालिका बैठकमा प्रस्तुत गर्ने जानकारी दिए । उनीहरुले प्रस्ताव सकारात्मक रहेको बताएका छन । सो छलफलमा अनुस्थित रहेका जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरीले समेत आफू सहमत रहेको खबर पठाएको अध्यक्ष रावलले जानकारी दिएका छन ।

सुदूरपश्चिम प्रदेश प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावले प्रदेश सरकारका तर्फबाट हुनसक्ने सहयोगका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जनताको स्वास्थ्य प्रति प्रदेश सरकार गम्भिर बन्ने कुरामा आफू विश्वस्त रहेको बताए ।

सभासद रुपा चौधरी, गरिमा शाह र हरि ज्ञवालीले समेत आइसियु तथा भेन्टिलेटर सञ्चालनका लागि संघीय सरकारबाट हुनसक्ने सहयोगका लागि पहल गर्न तयार रहेको बताए । उनीहरुले अस्पतालको सेवा वृद्धिमा हातेमालो गर्न तयार रहेको बताए ।

अस्पतालमा भौतिक पूर्वाधार भएपनि जनशक्तिको अभावमा आइसियु तथा भेन्टिलेटर सञ्चालन हुन सकेको छैन । आइसियु तथा भेन्टिलेटर सेवा सञ्चालन नहुँदा यस क्षेत्रका बिरामीले नेपालगञ्ज जानुपर्ने वाध्यता रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०७७  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update