Hamro Patra
एक योद्धाको गुमनाम अनन्त यात्रा

मोहनबहादुर रावल एक सच्चा सामाजिक अगुवाको नाम हो । उहाँले सामाजिक क्षेत्रमा गरेको योगदान अथाह छ । उहाँको योगदान धेरैका लागि अपत्यारिलो पनि लाग्न सक्छ । तर टीकापुर क्षेत्रका बासिन्दाले उहाँको योगदान प्रत्यक्ष देखेका छन । त्यसैले त उहाँलाई धेरैले श्रद्धा गर्छन ।

उहाँले दर्जन बढी संघसंस्था आफैले जन्माउनु भयो । कैयौं संघसंस्थालाई सहयोग गर्नुभयो । उहाँले जन्माएका र सहयोग गरेका धेरै संघसंस्था समाजमा उदाहरणीय बनेका छन । उहाँले जन्माएका मध्ये उत्कृष्ट संस्था सत्तीकर्णाली सामुदायिक वन पनि एक हो । ४० को दशकको अन्त्यतिर उजाड बनेको कर्णाली किनारलाई संरक्षण गरेर सामुदायिक वन बनाउनुभयो । दर्ताका हिसाबले दोस्रो भएपनि संरक्षणका हिसाबले यो नेपालकै पहिलो सामुदायिक वन हो । यस सामुदायिक वनलाई उहाँले लामो समय नेतृत्व गर्नुभयो । तत्कालिन समयमा यो सामुदायिक वन देशकै नमूना सामुदायिक वन थियो । यसको अध्ययन अवलोकन गर्न देशभरबाट मान्छेहरु आउँथे । उहाँको नेतृत्वशैलीको प्रशंसा गरेर फर्किन्थे । कैयौंले उहाँको नेतृत्वशैलीको अनुसरण समेत गरेको पाईन्छ ।

साविक नारायणपुर र धनसिँहपुर गाविसका केही वडाका बासिन्दाका लागि यो सामुदायिक वन सरकारको विकल्प थियो । सरकारले विकास निर्माणका लागि ती वडाहरुमा विनियोजन गर्ने बजेट भन्दा बढी रकम सामुदायिक वनले खर्चिन्थ्यो । सामुदायिक वनको आम्दानीको स्रोत बेतबाँस थियो । सरकारका विकास निर्माणका काम अलपत्र पर्थे । तर सामुदायिक वनले हात हालेका काम समयमै फत्ते हुन्थे र जनता लाभान्वित हुन्थे । सामुदायिक वनले त्यसक्षेत्रको हरेक कुराको नेतृत्व गथ्र्यो । त्यसको श्रेय स्वर्गीय मोहनबहादुर रावललाई नै जान्छ । उहाँको कुशल नेतृत्वले नै सबै सम्भव भएको अहिले पनि त्यहाँका बासिन्दा गर्वका साथ भन्ने गर्छन ।

उहाँले टीकापुरस्थित बृद्ध सेवा समाज, सामुदायिक सहकारी, नेपाल रेडक्रस सोसाइटी नारायणपुर, भानु पुस्तकालय, पदम प्रकाशेस्वर शिवालय लगायतका संस्थालाई अघि बढाउन प्रत्यक्ष सहयोग गर्नुभयो । उहाँले खाशगरी धार्मिक मठमन्दिरमा समेत ठूलो सहयोग गर्नुभएको छ । असहाय वृद्धवृद्धाको संरक्षणमा समेत उहाँको योगदान छ । उहाँले साहित्यको जगेर्नाका लागि ‘नर–राजु–मोबरा प्राज्ञिक पुरस्कार’ स्थापना गर्नुभएको छ । पुरस्कारका लागि टीकापुर प्राज्ञिक समाजले वितरण गर्ने गरी १ लाख ५१ हजार १ रुपैयाँको अक्षयकोष निर्माण गर्नुभएको छ ।

स्वर्गीय रावलको जन्म अछाम जिल्लाको वलीगाउँमा वि.सं. १९८८ भदौ २७ गते शनिवारका दिन भएको थियो । तत्कालिन अवस्थामा नवजात शिशुको जन्मपत्र बनाउने चलन थियो । उहाँको जन्मपत्रमा राजग्रह, सरकारी मानो खाने, सुखी र आदरणीय हुने भन्ने कुरा उल्लेख छ । उहाँको जीवनमा यी सबै कुरा पूरा भए । ४० वर्ष सरकारी जागिरमा बिताउनुभयो । घरपरिवार र समाजको मायामा कहिल्यै कमी भएन । उहाँ सधै सबैको आदरणीय नै बन्नुभयो । उहाँ प्रति रिसराग गर्नेहरु सायद छैनन् भन्दा अन्यथा नहोला । यिनै समाजका नजरमा सधै सम्मानित व्यक्तित्वका रुपमा रहनुभएका मोहनबहादुर रावलको मृत्यु भने निकै पीडादायी रह्यो ।

संसार कोरोनाको चपेटामा छ । सम्पूर्ण मानव जाति यो चपेटामा पिल्सिएका छन । हरेकले कुनै न कुनै रुपमा कोरोनाको पीडा भोग्नु परिरहेको छ । समाजले एक आदर्श व्यक्तित्वका रुपमा चिनेका मोहनबहादुर रावलको मृत्युलाई पापी कोरोनाले पीडादायी बनाइदियो । ९० वर्षको उमेरमा समेत समाजका हरेक क्रियाकलापमा सकृय रावलको जीवन यात्रा कोरोनाले सधैंका लागि समाप्त पा¥यो । आफ्नै घरभित्र २०७७ मंसिर २४ गते बिहान साढे ६ बजेको समयमा उहाँको निधन भयो ।

उहाँको निधनको खबर सुनेपछि धेरै आफन्त र शुभचिन्तक घर पुगे । तर कसैलाई घरभित्र जाने अनुमति थिएन । सरकारले आफ्नो निगरानीमा कोरोना संक्रमितको दाहसंस्कार गर्ने गरेको छ । सबैजना सरकारी तवरबाट हुने प्रकृयाको पर्खाईमा बसे । दिनभर सरकारले दाहसंस्कारको प्रकृयाका लागि खटाएको सेनाको टोली पुगेन । रावलको शव घर भित्रै थियो । उहाँका आफन्त र शुभचिन्तक घरबाहिर शोकमा थिए ।

साँझ अबेर सेनाको टोली पुग्यो । उनीहरुले रावलको शव पोको पारेर घरभित्रबाट बाहिर ल्याए । उनीहरु आफैले शवबाहनमा राखे । शवको नजिक कसैलाई जान दिईएन । आफन्त उहाँको शवमा घोप्टो परेर रुन चाहन्थे । शुभचिन्तक सबै शव माथि फूल चढाएर श्रद्धाञ्जली अर्पण गर्न चाहन्थे । काँग्रेस नेता कार्यकर्ता उहाँको शव पार्टी कार्यालयमा राखेर अन्तिम विदाइ गर्न चाहन्थे । सिँगो टीकापुर लावालस्कर सहित रावलको शव कर्णाली किनारमा पु¥याउन चाहन्थ्यो । कोरोनाले यी सबै कुरा पूरा हुन सकेनन् ।

झिसमिसे अध्याँरो भैसकेको थियो । सेनाको टोलीले शव गाडीमा राख्यो । प्रहरीको स्कर्टिङ सहित सेनाको गाडी शव बोकेर दौलतपुर घाट हिड्यो । केही सिमित आफन्त र शुभचिन्तक गाडीको पछि लागे । दौलतपुर घाट पुग्दा झमक्क रात परिसकेको थियो । केही आफन्तले दिउँसै चिहान तयार पारेका थिए । सेनाको टोली तेघरी ब्यारेक फर्किनु थियो । उनीहरु हतार गरिरहेका थिए । आफन्तहरु धर्म परम्परा अनुसार केही विधि प्रकृया पु¥याउन खोज्दै थिए । छिप्पिदै गएको अध्यारो रातमा विधि प्रकृया तोड्नै पर्ने भयो । सेनाले गाडीमा रहेको शव चिहानमा राखिदियो । छोराहरुले टाढैबाट दागबत्ती दिए ।

एकैछिनमा चिहानलाई आगोको लप्काले घे¥यो । आफन्तहरु केही पर अध्यारोमा चुपचाप थिए । युवावस्थामै राणा शासन विरुद्ध उभिएर देशका हरेक परिवर्तनमा संलग्न एक योद्धाको अनन्त यात्रा कोरोनाले गुमनाम बनाईदियो । अलविदा ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update