टीकापुर, कात्तिक २४
यसवर्षको भाइटीकाको साइत मंसिर १ गते बिहान ११ः३७ बजे तोकिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत तोकिएको जनाएको छ ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउन कुनै समस्या नरहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । उनले राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने बताए ।
यस वर्ष यमपञ्चक कात्तिक २७ गतेदेखि सुरू हुँदैछ । त्यस दिनदेखि यमदीप दान सुरू गरिन्छ । कात्तिक २८ गते काग तिहार परेको छ । यसैगरी धनवन्तरि जयन्ती, धन त्रयोदशी र धनतेरस पर्व पनि यसै दिन परेको छ ।
कात्तिक २९ गते बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ । अपराह्न १ः४९ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि औंशी तिथि लाग्ने भएकाले शास्त्रसम्मत रुपमा पर्व सम्बन्धी निर्णय गरिएको समितिले जनाएको छ ।
सायंकालमा औँशी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन छ । औँशी तिथिमा गरिने स्नान, दान भने कात्तिक ३० गते बिहान गर्नुपर्नेछ ।
गाई, गोरु र आत्म (म्ह) पूजा भने कात्तिक ३० गते गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । कार्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्मपूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ ।