Hamro Patra
सामाजिक अगुवा रावलको निधन

टीकापुर, कात्तिक २४
सामाजिक अगुवा मोहनबहादुर रावलको ९० वर्षको उमेरमा निधन भएको छ । उनको टीकापुर नगरपालिका–१ ब्लक नं. ए स्थित आफ्नै निवासमा आज बिहान निधन भएको हो ।

जीवनको उत्तराद्र्धमा समेत सामाजिक काममा निकै सकृय रावलको कोरोना संक्रमणबाट निधन भएको छोरा भक्त रावलले जानकारी दिए । मृतक रावलको कात्तिक १७ गते स्वाब संकलन गरिएकोमा २० गते कोरोना संक्रमण भएको रिपोर्ट आएको थियो । होमआइसोलेसनमा रहेका रावललाई गएराति स्वास प्रस्वासमा निकै समस्या भएको थियो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले रावलको अन्त्येष्टीका लागि नेपाली सेनाको टोली परिचालन गरिएको जानकारी दिए । उनले सेनाको टोलीको सहयोगमा आफन्तले दाहसंस्कार गर्ने बताए ।

Khadga Memorial And Janajagriti

जीवनको लामो समय सरकारी सेवामा रहेका रावलले अवकाश प्राप्त समय सामाजिक काममा बिताए । उनले टीकापुर नगरपालिका–७ मा रहेको वन क्षेत्रलाई संरक्षण थाले । उनको नेतृत्वमा संरक्षण थालिएको सत्तीकर्णाली सामुदायिक वन संरक्षणका हिसाबले नेपालकै पहिलो सामुदायिक वन हो । उनी लामो समय सो सामुदायिक वनको अध्यक्ष रहेका थिए ।

उनले आफ्नै पहलमा टीकापुरमा बृद्ध सेवा समाजको स्थापना गरे । उनी सो संस्थाका वर्तमान अध्यक्ष समेत हुन । उनी सामुदायिक सहकारीका संस्थापक अध्यक्ष, नेपाल रेडक्रस सोसाइटी नारायणपुरका संस्थापक, भानु पुस्तकालयका आजीवन सदस्य समेत रहेका थिए ।

उनी नेपाली काँग्रेसको जेष्ठ नागरिक सभा सदस्य समेत हुन । उनले पार्टी कार्यालय स्थापना समेत सहयोग गरेका थिए । उनको निधनले पार्टीलाई ठूलो क्षति पुगेको नेपाली काँग्रेस क्षेत्र नं. १ का सभापति भुवनेश्वर अधिकारीले जानकारी दिए ।

‘पार्टीको बारेमा चासो र चिन्ता व्यक्त गरिरहने एक अभिभावक गुमाएका छौं’ सभापति अधिकारीले भने–‘उहाँको निधनले ठूलो क्षति पुगेको छ ।’ मृतक रावलको आजै दाहसंस्कार हुने पारिवारिक स्रोतले जनाएको छ ।

कैलालीको धनगढी उपमहानगरपालिका–२ मा समेत आज एक वृद्धको कोरोना संक्रमणबाट निधन भएको छ । सूचना अधिकारी जोशीका अनुसार ८४ वर्षका एक वृद्धको निधन भएको हो ।

टीकापुर नगरपालिकामा आजसम्म कोरोनाका ६७ जना सकृय संक्रमित रहेका छन । स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार २६५ जना कोरोना संक्रमित निको भएका छन ।

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update