Hamro Patra
नयाँ वर्षमा पर्यटकीयस्थल खचाखच

टीकापुर, १ बैशाख
नयाँ वर्षको दिन टीकापुर पार्क र कर्णाली पुल सर्वसाधारणले भरिएका छन । कैलालीका मात्रै नभई अन्यत्र जिल्लाबाट समेत सर्वसाधारण नयाँ वर्षको अवसर पारेर घुम्न आएका छन ।

कर्णाली पुलमा एकैपटक सयौं मान्छे ओहोर दोहोर गर्न थालेपछि सवारी आवागमन नै प्रभावित भएको छ । सवारी आवागमन सुचारु गराउन सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको छ । लम्कीचुहा नगरपालिका–३ का वडाध्यक्ष भक्त चलाउनेले सर्वसाधारणको अत्याधिक चाप बढेको बताए ।

Khadga Memorial And Janajagriti

यता टीकापुर पार्कमा समेत सर्वसाधारणको चाप त्यस्तै छ । बिहानैदेखी पार्क रोड व्यस्त रहेको छ । सयौंको संख्यामा सवारी साधन चलेका कारण आवागमन नै प्रभावित बनेको छ । टीकापुर पार्कमा सबैभन्दा बढी बर्दिया, सुर्खेत, दाङ, बाँके, कञ्चनपुर लगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेको पाईएको छ । जिल्ला भित्रैका आन्तरिक पर्यटक समेत एक ठाउँबाट अर्को ठाउँमा घुम्न जाने गरेका छन ।

उनीहरु मध्ये कतिपय साथीभाईबीच रमाईलोका लागि नयाँ वर्षको अवसर पारेर घुम्न निस्कने गरेका छन भने कतिपय पारिवारिक भ्रमणमा निस्कन्छन । कतिपय विद्यालयले समेत छात्रछात्राहरुलाई पर्यटकीयस्थलको अवलोकनका लागि लैजाने गरेका छन ।

टीकापुर नगरपालिका कार्यालयका पार्क क्षेत्र इञ्चार्ज अर्जुन कुँवरले यसवर्ष समेत पार्कमा विगतका वर्ष झैं आन्तरिक पर्यटकको अत्याधिक चाप रहेको बताए । उनले आन्तरिक पर्यटकको आगमनले टीकापुर पार्क भरिभराउ बनेको बताए । उनले यो क्रम अरु केही दिनसम्म जारी रहने जानकारी दिए ।

आन्तरिक पर्यटकहरु विभिन्न जिल्लाबाट बस, जीप, मोटरसाइकल, ट्याक्टर लगायतका सवारी साधन चढेर टीकापुर पार्क पुग्ने गरेका छन् । टीकापुर आसपासका क्षेत्रबाट सर्वसाधारण पैदलै हिँडेर पार्क पुग्ने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update