Hamro Patra
उद्योग वाणिज्य महासंघको खुल्ला केन्द्रिय सदस्यमा परशुराम चपाँईको उम्मेदवारी

टीकापुर, कात्तिक १९
टीकापुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष परशुराम चपाँईले नेपाल उद्योग वाणिज्य महासंघको खुल्ला केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन । उनी सुदूरपश्चिमबाट खुल्ला केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दर्ता गर्ने एक्लो व्यक्ति हुन । अहिलेसम्म अरु कसैको उम्मेदवारी दर्ता भएको छैन ।

युवावस्थामै टीकापुर उद्योग वाणिज्य संघको उपाध्यक्ष हुँदै अध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेका चपाँई पछिल्लो समय सशक्त युवा व्यवशायीका रुपमा चिनिन थालेका छन । उनले सुदूरपश्चिमको आर्थिक गतिविधिलाई अझ बढी चलायमान बनाउन आफूले महासंघको खुल्ला केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएको बताए ।

Khadga Memorial And Janajagriti

उनले चन्द्र ढकाल प्यानलबाट उम्मेदवारी दर्ता गराएका हुन । महासंघको वरिष्ठ उपाध्यक्षका लागि ढकाल र किशोर प्रधान चुनावी मैदानमा होमिएका छन । महासंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालमा स्वतः अध्यक्ष बन्ने भएपछि वरिष्ठ उपाध्यक्ष सहितका पदमा चुनाव हुने भएको छ ।

वर्तमान अध्यक्ष भवानी राणाको कार्यकाल समाप्तीसँगै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन । त्यसपछिको कार्यकालमा अहिले वरिष्ठ उपाध्यक्षमा जित्ने व्यक्ति नै अध्यक्ष बन्नेछन ।

महासंघको ५४ औं साधारण सभा मंसिर ११ देखी १३ गतेसम्म काठमाण्डौंमा आयोजना हुने भएको छ । महासंघले १३ गते चुनावको मिति तोकेको छ भने मंसिर ४ गतेसम्म उम्मेदवारी दर्ता गर्न सकिने चुनावी तालिका छ ।

गत चैतमै महासंघको साधारण सभा हुनुपर्नेमा कोभिड–१९ का कारण सर्दै आएको हो । महासंघले साधारण सभाको मिति तोके पनि सरकारले गरेको लकडाउनका कारण स्थगित भएको थियो ।

दुईवटै प्यानलले उम्मेदवारी दर्ता सहित चुनावी अभियान सुरु गरेपछि खुल्ला तर्फका पदमा अरु कसैको उम्मेदवारी थपिने सम्भावना न्यून रहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update