Hamro Patra
केरा पकाउने च्याम्बर सञ्चालनमा

टीकापुर, कार्तिक १८

केराको पकेट क्षेत्रका रुपमा विकसित हुँदै आइरहेको टीकापुरमा केरा पकाउने च्याम्बर सञ्चालनमा आएको छ । कर्णाली कृषि सेवा प्रा.लि.ले तापक्रम व्यवस्थापन प्रणालीबाट केरा पकाउन च्याम्बर सञ्चालनमा ल्याएको हो । यस अघि केरा पकाउन विषादी प्रयोग हुँदै आएको थियो ।

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिका वडा नं. २ बन्दीपुरमा प्रा.लि.ले निर्माण गरेको च्याम्बरबाट केरा पकाउन शुरु गरिएको हो । च्याम्बरमा पकाइएको केरा लामो समयसम्म नसड्ने, विषादीरहित स्वस्थकर हुने, हेर्दा आकर्षक पहेंलो देखिने हुन्छ ।

राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिचाईं आयोजनाको अनुदानमा प्रा.लि.ले च्याम्बर सञ्चालनमा ल्याएको हो । ३ करोड ५६ लाख रुपैयाँको लागतमा सञ्चालनमा ल्याइएको च्याम्बरका सञ्चालनका लागि आयोजनाको कृषि कार्यान्वयन इकाईले १ करोड ९० लाख रुपैयाँ अनुदान दिएको थियो ।

प्रा.लि.का प्रबन्ध निर्देशक वीरेन्द्र ढुंगानाले विश्व बैंकको सहयोगमा नेपाल सरकारमार्फत् आयोजनाको कृषि कार्यान्वयन इकाईको अनुदानमा च्याम्बर सञ्चालनमा ल्याइएको बताए । ढुंगानाका अनुसार ५ वटा च्याम्बरमा प्रतिपटक १ शय ५० टन केरा पकाउन सकिने छ । च्याम्बरमा राखेको पाँच दिनमा केरा बजार पठाउन सकिन्छ ।

प्रा.लि.का अध्यक्ष खड्कबहादुर शाहले यस क्षेत्रका केरा कृषकहरु समेत शेयर सदस्य रहने बताए । उनले भने ‘यसका तीन पक्षलाई नै लाभ छ, केरा कृषकले बजारको समस्या भोग्न परेन, उपभोक्ताले स्वस्थ्यकर विषादीरहित केरा पाउने भएँ भने कृषकहरु नै शेयर सदस्य हुनाले नाफा पनि हुने भो ।’ उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राखेर कृषकलाई बजारको सहजीकरण गर्न मद्दत पुग्ने उनले बताए । उनले प्रा.लि.ले केराका अन्य परिकारहरु समेत उत्पादन गर्ने लक्ष्य रहेको बताए ।

केरा कृषक टेकेन्द्र धामीले केराको बजार प्रबद्र्धन गर्न सके केरा कृषकहरुले बजार धाइरहनु नपर्ने बताए । उनले बजारको अभावमा कृषकले उत्पादित केरा बारीमै सडाउनु पर्ने बाध्यता हट्ने बताए । ‘कृषकले उत्पादन गरेको केरा च्याम्बरले खरिद गर्छ र बिक्री गर्छ’ धामीले भने ‘केरा कृषकले बिचौलियामार्फत् सस्तो दरमा बिक्री गर्नुपर्ने बाध्यता हट्छ । कृषकले समेत शेयर लिएको हुँदा कृषकको नाफा समेत बढ्ने छ ।’

टीकापुर क्षेत्रमा झण्डै ६ शय हेक्टर क्षेत्रफलमा व्यावसायिक केरा खेती हुँदै आएको छ । यहाँ उत्पादित केरा धनगढी, नेपालगञ्ज, पोखरा, काठमाडौं, बुटवलमा बिक्री हुँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०७७  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update