Hamro Patra
किसान सहकारी २६ औं वर्ष प्रवेश, रजतजयन्ती समारोह सम्पन्न

टीकापुर, कात्तिक १७
कैलालीको लम्कीमा प्रधानकार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २६ औं प्रवेश गरेको छ । संस्थाले आज आफ्नो रजतजयन्ती समारोह मनाएको छ ।

संस्थाका अध्यक्ष सुरेन्द्रबहादुर शाहको अध्यक्षतामा सम्पन्न भएको रजतजयन्ती समारोहको प्रमुख अतिथि लम्कीचुहा नगरपालिकाका मेयर महादेब बजगाई रहेका थिए । रजतजयन्ती समारोहको प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर बजगाईले किसान सहकारी न्यून आय भएका व्यक्तिको आर्थिक सहयात्री बनेको बताए । उनले सहकारीले सञ्चालन गरेका कार्यक्रमहरुबाट लक्षित वर्ग लाभान्वित भैरहेको बताए ।

सो समारोहमा वडा नं. १ का वडाध्यक्ष जनक बम, राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिका सदस्य शिवा थापा लगायतले बोलेका थिए ।

Khadga Memorial And Janajagriti

समारोहमा सहकारीले संस्थापक अध्यक्ष इन्द्रकुमार शाहलाई २५ तोला चाँदीको सिक्काद्वारा सम्मान गरेको छ । त्यस्तै सहकारीले समाजमा उत्कृष्ठ काम गर्दै आएका अन्य तीन जनालाई समेत सम्मान गरेको छ । सम्मानित हुनेमा परोकार कार्यमा संलग्न सहारा घरका सञ्चालक बलबहादुर बिष्ट, कृषि कार्यमा संलग्न नविन जोशी र युवा अभियन्ता केपी खनाल रहेका छन । उनीहरु तीनै जनालाई जनही ११ हजार नगद सहित सम्मान गरिएको हो ।

सहकारीले रजतजयन्तीको अवसर पारेर विभिन्न प्रतियोगिता समेत आयोजना गरेको थियो । ती प्रतियोगिताका विजेताहरुलाई समेत रजतजयन्ती समारोहमा पुरस्कृत गरिएको छ ।

सहकारीले ‘महिला सशक्तिकरणमा सहकारीको भूमिका’ विषयक जिल्लाब्यापी खुल्ला निबन्ध प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा कुबेर तिमिल्सेना प्रथम, पूजा शाह द्वित्तीय र दिक्षा तिमिल्सिना तृतीय भएका छन । रजतजयन्ती समारोहमा उनीहरुलाई क्रमशः १५, १० र ५ हजार नगद सहित पुरस्कृत गरिएको छ ।

त्यस्तै सहकारीले ‘कोभिड–१९ को विषम परिस्थितिमा सेवाप्रवाह एवं व्यवशायिक सफलताका लागि कर्मचारीको भूमिका’ विषयक अन्तर शाखा स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । सो प्रतियोगितामा लम्की शाखाका अमरराज भण्डारीले प्रथम, टीकापुर शाखाका रिता बजगाईले द्वित्तीय, फूलबारी शाखाका अर्जुन रिमालले तृतीय र सुखड शाखाका दीपेन्द्र बटालाले सान्त्वना स्थाना हासिल गरेका छन । उनीहरुलाई क्रमशः १०, ७, ५ र ३ हजार नगद सहित पुरस्कृत गरिएको छ ।

२०५२ सालमा १ शाखा, १ कर्मचारी, २७ जना शेयर सदस्य र ३६ हजार ६ सय शेयर पूँजी रहेको सहकारी २५ वर्ष भित्रै कैलालीका अधिकांश ठाँउ फैलिएको छ । सहकारीका अहिले जिल्लाभर २१ शाखा, १ कृषि फर्म, १ रासायनिक मल बिक्री केन्द्र र १ माटो परिक्षण प्रयोगशाला छ । सहकारीले रजतजयन्ती समारोहकै अवसरमा माटो परिक्षण प्रयोगशालाको समेत उद्घाटन गरेको छ । प्रमुख अतिथि मेयर बजगाईले प्रयोगशालाको उद्घाटन गरेका छन । सहकारीमा अहिले १७८ कर्मचारी, ५५ हजार ४०७ शेयर सदस्य र १२ करोड ३९ लाख शेयर पूँजी रहेको छ ।

सहकारीले गत आव २०७६/०७७ मा ८ करोड ८५ लाख खुद मुनाफा गरेको छ भने २ अर्ब ७७ करोड ८२ लाख ६ हजार ९४० रुपैयाँ ऋण लगानी गरेको छ । सहकारीले बैकिङ कारोबारका साथै शेयर सदस्यहरुलाई निशुल्क कृषि परामर्श समेत दिने गरेको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०७७  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update