Hamro Patra
प्राविधिक शिक्षाको ‘हब’ बन्दै टीकापुर

टीकापुर, कात्तिक ५
पछिल्लो समय टीकापुर प्राविधिक शिक्षाको ‘हब’ बन्दै गएको छ । यहाँ विभिन्न पाँचवटा संस्थाले माविदेखी स्नातक तहसम्मको प्राविधिक शिक्षा दिईरहेका छन । प्राविधिक शिक्षा प्रति विद्यार्थी र अभिभावकको आकर्षण समेत बढेको पाईएको छ ।

प्राविधिक शिक्षा तथा व्यावशायिक तालिम परिषद (सिटिईभिटी) द्वारा सञ्चालित टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटले सबैभन्दा धेरै विद्यार्थीलाई प्राविधिक शिक्षा दिईरहेको छ । यहाँ ४३४ जना विद्यार्थी अध्ययनरत छन भने ८० जनाले अध्ययन पूरा गरिसकेका छन । यो वर्ष मात्रै १६८ जना थप विद्यार्थी भर्ना हुने प्रमुख टेकेन्द्रबहादुर थापाले जानकारी दिए । यहाँ अध्ययनरत ८० प्रतिशत विद्यार्थी सुदूरपश्चिमका विभिन्न जिल्ला र २० प्रतिशत त्यस बाहेकका जिल्लाबाट आउने गरेका छन ।

इन्स्टिच्यूटले विभिन्न चारवटा विषयमा अध्यापन गराईरहेको छ । जसमध्ये डिप्लोमा इन एग्रिकल्चर (पशु विज्ञान), डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान), डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र डिप्लोमा इन फरेष्ट्री रहेका छन । यी सबै तीनवर्षे कोर्ष हुन ।

Khadga Memorial And Janajagriti

यसका साथै इन्स्टिच्यूटले कृषि, पशुविज्ञान, टेलरिङ, ब्यूटिसियन, बेमौषमी तरकारी खेती, निर्माणसँगै स्थानीयको माग अनुसार छोटो अवधिका विभिन्न सीप सम्बन्धी तालिम समेत प्रदान गर्दै आएको प्रमुख थापा बताउँछन । उनी टीकापुरलाई प्राविधिक शिक्षाको उर्बरभूमि बताउँछन ।

टीकापुर नगरपालिका–१ स्थित कर्णाली माविले शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावशायिक तालिम परिषद (सिटिईभिटी) दुवैको प्राविधिक शिक्षा अध्यापन गराईरहेको छ । विद्यालयले शिक्षा मन्त्रालय अन्र्तगतको कक्षा ९ देखी १२ सम्म सिभिल इन्जिनियरिङ र सिटिईभिटीको १८ महिने र ३ वर्षे बाली विज्ञान पढाईरहेको प्रधानाध्यापक धर्मराज शर्माले जानकारी दिए ।

उनका अनुसार कक्षा ९ देखी १२ सम्म प्रत्येक कक्षामा ४८/४८ जना अध्ययनरत छन । त्यस्तै ४० जनाले १८ महिने बाली विज्ञान अन्र्तगतको पढाई पूरा गरेका छन भने तीनवर्षे बाली अन्र्तगत ४०/४० जना अध्ययनरत छन । तीनवर्षे बाली विज्ञान अन्र्तगत विद्यालयमा दोस्रो वर्षको पढाई भैरहेको प्रधानाध्यापक शर्माले बताए ।

विद्यालयले प्राविधिक शिक्षा सुरु गरेपछि टाढाटाढाबाट विद्यार्थी आउन थालेका छन । प्रधानाध्यापक शर्माका अनुसार कैलाली मात्रै नभई बाह्य जिल्लाबाट समेत विद्यार्थी आउने गरेका छन । उनले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बाजुरा, डडेल्धुरा, अछामबाट समेत विद्यार्थी प्राविधिक शिक्षा पढ्न आएको जानकारी दिए ।

‘प्राविधिक शिक्षा पढेपछि हातमा सीप हुन्छ भन्ने विश्वास छ’ उनले भने–‘त्यही भएर पछिल्लो समय आकर्षण बढेको छ ।’

टीकापुरस्थित सामुदायिक स्वास्थ्य इन्स्टिच्यूटले विगत लामो समयदेखी प्राविधिक शिक्षा पढाईरहेको छ । उसले सिएमए र भेटेनरी तर्फ धेरै विद्यार्थी उत्पादन गरेको छ । हाल सो संस्थामा सिएमएतर्फ ४० र भेटेनरीतर्फ १२ जना विद्यार्थी अध्ययनरत छन ।

संस्थाका अध्यक्ष बिर्ष शाहले भेटेनरीतर्फ यो वर्ष ११ जना भर्ना भएको जानकारी दिए । उनले सिएमएतर्फको भर्ना प्रकृया भने विविध कारणले रोकिएको बताए । यो स्थानीयले आफ्नै पहलमा स्थापना गरेको संस्था हो ।

यतिमात्रै हैन टीकापुरमा दुईवटा विश्वविद्यालयले स्नातक तहको प्राविधिक शिक्षा सञ्चालन गर्दै आएका छन । यसरी स्नातक तहको प्राविधिक शिक्षा सञ्चालन गर्नेमा चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय र सुदूरपश्चिमाञ्चल विश्वविद्यालय छन ।

रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको आंगिक क्याम्पसका रुपमा टीकापुर प्राकृतिक स्रोत व्यवस्थापन कलेज सञ्चालन भैरहेको छ । उसले ५४/५४ जनाको संख्यामा तीनवटा ब्याचलाई अध्यापन गराईरहेको क्याम्पस प्रमुख ओम प्रकाश सिँहले जानकारी दिए । उनले आफ्नो पाठ्यक्रममा कृषि सम्बन्धी प्राविधिक शिक्षा मात्रै रहेको बताए ।

‘हामी कृषिको दक्ष प्राविधिक जनशक्ति उत्पादनको क्रममा छौं’ उनले भने–‘यो जनशक्ति स्वदेशमा मात्रै हैन विदेशमा समेत खपत हुनेछ ।’

कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रिय कार्यालय रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले त कृषि विज्ञान संकाय अन्र्तगतको डिन कार्यालय नै टीकापुरमा स्थापना गरेको छ । उसले आफ्नो आंगिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पस हाताभित्रै डिन कार्यालय सञ्चालन गर्दै आएको छ ।

डिन कार्यालयका प्रमुख लालप्रसाद अमगाईले पहिलो वर्षमा ९४ र दोस्रो वर्षमा ९५ जना अध्ययनरत रहेको बताए । उनले ती विद्यार्थी ३९ जिल्लाबाट आएको बताए । ‘प्राविधिक शिक्षाका लागि टीकापुरले देशकै ध्यान खिचेको छ’ उनले भने–‘यो निकै सम्भावना भएको ठाउँ हो ।’

उनले आगामी दिनमा वन, माछा, भेटेनरी लगायतको पढाई सञ्चालनका लागि गहृकार्य भैरहेको जानकारी दिए । उनले ५ वर्षे कार्ययोजना सहित मन्त्रालयमा प्रस्ताव पेश गरिसकेको बताए । उनले प्रस्ताव स्विकृत भए प्राविधिक शिक्षामा टीकापुरले अझ फड्को मार्ने बताए ।

प्राविधिक शिक्षा प्रति आम अभिभावक र विद्यार्थीको आकर्षण बढेसँगै टीकापुरले समेत चर्चा कमाउन थालेको छ । यहाँ देशका विभिन्न जिल्लाबाट विद्यार्थी पढ्न आउन थालेका छन । जसले यहाँको आर्थिक सामाजिक विकासमा टेवा पु¥याउन थालेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update