Hamro Patra
सुरक्षाकर्मीद्वयको हत्या आरोपमा पक्राउ परेका सात जना सार्वजनिक

टीकापुर, कात्तिक ४
धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित अस्थायी प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मीद्वयको हत्या आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गरी ती व्यक्तिहरुलाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार उनीहरुले हत्या स्विकारेका छन ।

Khadga Memorial And Janajagriti

तस्करीमा संलग्न ती व्यक्तिहरुले अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना रहेका छन ।

उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्दा प्रहरीले अवरोध सिर्जना गरेपछि आक्रमण गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा ७ जनाको संलग्नता देखिएको जनाएको छ ।

गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज समेत रहेका बिक र प्रहरी जवान साउँद बेपत्ता भएका थिए ।

प्रहरी सहायक निरिक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका–१० को नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो । घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएकै मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो । प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि २ सय मिटर तल मोहना नदीमै उनको शव भेटिएको थियो ।

उनीहरु सवार बा. ५८ प ५२८४ नम्बरको मोटरसाइकल भने घटना स्थलदेखि करिब साढे २ किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरिक्षक बिकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०७७  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update