Hamro Patra
सिप सिकेर आत्मनिर्भर बनेकाहरु .....

टीकापुर, असोज २५
ब्राह्मण परिवारमा जन्मिएकी भद्रा रोकाया (उपाध्याय) ले क्षेत्रीको छोरा भेषबहादुर रोकायासँग अन्तरजातीय प्रेम विवाह गरिन । यो विवाह उनका लागि चुनौतीपूर्ण थियो नै त्यसमाथि उनले सुरु गरेको पेशाले झन चुनौती थपि दियो ।

उनले सिलाइकटाइ पेशा अँगालिन । जुन कुरा उनका माइती र पोइली दुवै पक्षलाई चित्त बुझेन । उनले सिलाइकटाइ पेशा अँगालेकै कारण घरपरिवारबाटै दुव्र्यवहार खेप्नु पर्यो । तर उनका श्रीमानले भने साथ दिए ।

२०७१ सालतिर उनले टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटबाट सिलाइकटाइ सम्बन्धी सिप सिकिन । उनले सिलाइकटाइ सिकेपछि व्यवशाय सुरु गरिन । त्यतिबेला उनीसँग एउटा मात्रै सिलाइ मेसिन थियो । एकातिर घरपरिवारको असहयोग अर्कातिर साधन स्रोतको अभाव उनका लागि यो व्यवशाय निकै चुनौतीपूर्ण रह्यो । उनले हिम्मत हारिनन् । किनकी उनलाई आफ्नो क्षमता माथि पूरै विश्वास थियो ।

उनी झण्डै आधा दशकमै सफल व्यवशायीका रुपमा चिनिन थालेकी छन । उनले टीकापुर नगरपालिका–१ खक्रौला रोडमा भवानी टे«ड सेन्टर सञ्चालन गरेकी छन । उनीसँग अहिले ८ थान सिलाइ मेसिन छन । उनले ५ जना महिलालाई रोजगारी दिएकी छन । यतिमात्रै हैन उनले थान कपडाको व्यवशाय समेत सुरु गरेकी छन । एउटा सटरमा सिलाइकटाइको काम हुन्छ भने अर्को सटरमा थान कपडाको पसल छ ।

सिलाइकटाइ पेशा अँगालेकै कारण कुनैबेला घरपरिवारबाटै दुव्र्यवहार खेपेकी उनलाई यतिबेला समाजले समेत सम्मानले हेर्न थालेको छ । घरपरिवारमा उनको मानसम्मान बढेको छ । यतिबेला माइतीपोइली दुवैतिरको जिम्मेवारी उनको काँधमा आएको छ ।

आफ्नै कमाइले टीकापुरमा घर बनाएकी छन । उनले गाउँमा रहेका सासुससुरालाई टीकापुर आफ्नै घरमा सारिन । बुहारीको प्रगति देखेर सासुससुरा समेत मख्ख छन । श्रीमानलाई बर्दियाको भुरीगाउँमा उद्योग स्थापना गरिदिएकी छन । तीनजना भाइहरुलाई व्यवशायमा जोडेकी छन । उनीहरु दिदीकै सरसल्लाह अनुसार अघि बढ्छन ।

‘सिपले म भित्रको आत्मविश्वासलाई बढाउन मद्दत गर्यो’ उनले भनिन्–‘टीकापुर पोलिटेक्निक नभएको भए आज यो अवस्थामा हुन्थेन ।’
टीकापुर नगरपालिका–१ की सीता चौधरीले २०७० सालमा टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटबाट ब्यूटिपार्लर सम्बन्धी तालिम लिइन । उनले लेभल १ र २ सम्मको तालिम लगेकी छन ।

भारतमा बस्दा अर्काको पसलमा काम गरेर ब्यूटिपार्लर सम्बन्धी सामान्य ज्ञान लिएकी उनलाई इन्स्टिच्यूटमा तालिम लिएपछि आत्मविश्वास बढ्यो । तालिम लगेपछि उनले व्यवशाय सुरु गर्ने जमर्को गरिन । उनले हाल टीकापुर नगरपालिका–१ मुनुवा रोडमा इभ्स ब्यूटि पार्लर सञ्चालन गरेकी छन । उनको व्यवशाय राम्रै चलेको छ । उनी सिप सिकेपछि आत्मनिर्भर बनेकी छन । उनले २ जना महिलालाई रोजगारी दिएकी छन ।

उनलाई ब्यूटिपार्लर सम्बन्धी थप सिप सिक्ने इच्छा छ । ‘यतिले मात्रै चित्त बुझेको छैन’ उनले भनिन्–‘म अझ धेरै कुरा सिक्न चाहन्छु ।’
जानकी गाउँपालिका–७ लट्कनियाका रामकृष्ण चौधरी बेरोजगार थिए । उनी खेतीपाती गरेर जिविकोपार्जन गर्थे । उनले खेतीपाती गर्ने बाहेक अन्य सिप सिकेका थिएनन् । उनी कुनै काम गर्न नपाएकोमा दिक्क थिए ।

यही बेला टीकापुर पोलिटेक्निक इन्स्टिच्यूट खुल्यो । उसले बेरोजगार युवायुवतीका लागि विभिन्न सिपमुलक तालिम सञ्चालन गरिने सूचना जारी गर्यो । यो खबर रामकृष्णको काम सम्म पुग्यो । उनले सिप सिक्ने इच्छा देखाए । उनले इलेक्ट्रिसियन सम्बन्धी सिप सिकेका छन । उनले २०७० सालमा लेभल १ र २०७१ सालमा लेभल २ तालिम लगे ।

यो तालिमले उनलाई दक्ष बनायो । उनी अहिले मासिक २५ हजारसम्म कमाउने भएका छन । उनको आर्थिक अवस्थामा केही सुधार भएको छ । उनले ८ जनाको परिवारलाई लालनपालन गर्दै आएका छन । ‘मेरो जीवनमा ठूलो परिवर्तन भएको महशुस भैरहेको छ’ उनले भने–‘अरुलाई पनि सिप सिकेर आत्मनिर्भर बन्न सुझाव दिन्छु ।’

सिप सिकेर आत्मनिर्भर बनेका यी केही उदाहरण मात्रै हुन । टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटबाट सिप सिकेर आत्मनिर्भर बन्ने बाटोमा सकृय अन्य थुप्रै व्यक्तिहरु पनि छन । उनीहरु आफू आत्मनिर्भर बनेका मात्रै छैनन् कतिपयलाई रोजगारी समेत दिएका छन ।

टीकापुर पोलिटेक्निक इन्स्टिच्यूटबाट हालसम्म करिव २ हजारले विभिन्न किसिमका सिप सिकेको कार्यालय प्रमुख टेकेन्द्रबहादुर थापा बताउँछन । उनका अनुसार धेरैजसो व्यक्तिहरु सिपलाई व्यवहारमा उतार्न सकृय छन । ‘धेरै व्यक्तिले सानोठूलो काम गरिरहेको पाइएको छ’ उनले भने–‘सिपले व्यक्तिलाई सक्षम बनाएको छ ।’

२०६८ सालमा स्थापना भएको इन्स्टिच्यूटले सुरुका ४ वर्ष विभिन्न सिपमूलक तालिम सञ्चालन गरेको थियो । ती मध्ये सिलाइकटाइ, ब्यूटिसियन, कृषि सहायक, पशु सहायक, डकर्मी, इलेक्ट्रिसियन, पलम्बर, जनरल कुक, बेमौषमी तरकारी खेती, पशुपालन लगायत प्रमुख हुन ।

इन्स्टिच्यूटले २०७२ सालदेखी पठनपाठन सञ्चालन गर्दै आएको छ । उसले हाल डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन सिभिल इञ्जिनियरिङ र डिप्लोमा इन फरेष्ट्री विषय अध्यापन गराउँदै आएको छ । ‘यसका अलावा वर्षेनी ८/१० वटा सिपमुलक तालिम पनि सञ्चालन गरिन्छ’ कार्यालय प्रमुख थापाले भने–‘यस्तो तालिम वर्षेनी करिव २ सय जनाले लिने गरेका छन ।’

पछिल्लो समय सिप सिक्ने र प्राविधिक विषय पढ्ने तर्फ धेरैको आकर्षण बढेको छ । सरकारले समेत प्राविधिक शिक्षालाई महत्व दिएपछि धेरै अभिभावकहरु छोराछोरीलाई प्राविधिक शिक्षा पढाउन थालेका छन ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १३:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update