Hamro Patra
एक दशकमै फेरिएको कर्णाली स्कुल

योगेश रावल
टीकापुर, १ बैशाख
टीकापुर नगरपालिका–१ वनगाउँतर्फ सिँचाईका लागि लगेका दुईवटा कुला । तिनै दुईवटा कुलाको बीचमा सानो टुक्रे जमिन । त्यही जमिन माथि थोत्रो स्कुल अनि झुत्रे विद्यार्थी । २०४५ सालमा स्थापना भई प्रावि तहसम्म मात्र सञ्चालनमा रहेको सो स्कुलमा गरिव विपन्नका छोराछोरी मात्रै विद्यार्थी । नजिकै जोडिएको टोलका बासिन्दाले समेत स्कुलको नाम सुनेका छैनन् । उनीहरुका छोराछोरी बोर्डिङ स्कुलमा पढ्छन । स्कुल प्रति कसैको ध्यान छैन । जसका छोराछोरी त्यो स्कुलमा पढ्छन उनीहरु विपन्न छन । दिनभरी मजदुरी गरेर खाने अभिभावकलाई छोराछोरी पढ्ने स्कुलका बारेमा सोच्ने फुर्सद नै छैन । उनीहरुका छोराछोरी पढ्ने स्कुलका बारेमा सोच्ने अरुलाई चाँसो छैन । स्कुलको परिचय नै गरिवका छोराछोरी पढ्ने भन्ने आम बुझाई छ ।

यो टीकापुर नगरपालिका–१, ब्लक नं. ११ स्थित कर्णाली स्कुलको झण्डैं दश वर्ष अघिको अवस्था हो । अहिले यो स्कुलको अवस्था निकै फेएिको छ । स्कुलको अवस्था फेर्नमा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरुले निकै मेहनत गरेका छन । २०६६ सालमा स्थानीय खडक शाहले विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हाले । स्कुलमा २५० विद्यार्थी थिए । विद्यालयसँग आम्दानीको स्रोत थिएन । बैंक खाता शुन्य थियो । यस्तो जटिल अवस्थामा अध्यक्ष शाहले विद्यालय सुधारको अभियान थाले । उनले शिक्षकहरुलाई आफ्नो साथमा लिए । २०६७ सालमा निमावि तहको स्विकृती ल्याए । स्कुलले सुधारको दिशा समात्यो । विद्यार्थीको चाप बढ्दै गयो । उनले २०६८ मै मावि तहसम्मको स्विकृती ल्याए । २०६९ सालमा स्कुलको प्रधानाध्यापकका रुपमा धर्मराज शर्मा आए । उनले अध्यक्ष शाहको अभियानमा अहिलेसम्म साथ दिँदै आएका छन ।

२०७३ सालमा शिक्षा मन्त्रालय अन्र्तगतको सिभिल इन्जिनियरिङ विषयको पढाई सुरु भयो । यो विषय कक्षा ९ बाटै पढाई हुन्छ । पहिलो सत्रका ४१ जना विद्यार्थी कक्षा ११ को परिक्षा दिँदैछन । उनीहरु कक्षा १२ उत्तीर्ण गरेपछि सब इन्जिनियर हुनेछन । सिभिल इन्जिनियरिङमा अध्ययनरत तिनै गरिव विपन्न अभिभावकका छोराछोरी छन । ‘उनीहरु मध्ये ९० प्रतिशत गरिव छन’ प्रधानाध्यापक शर्माले भने–‘ती मध्ये ७५ प्रतिशत मुक्त कमैया, सुकुम्बासी र दलितका छोराछोरी छन ।’

Khadga Memorial And Janajagriti

यसैवर्षबाट सिटिईभिटिको १८ महिने बाली विज्ञान विषयको समेत पढाई सुरु भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शाह यसै विषयको ३ वर्षे कोर्ष ल्याउने प्रयासमा छन । उनले विज्ञान विषयको प्लस टु का लागि समेत प्रयास भैरहेको बताए । ‘विज्ञान विषयको प्लस टु सञ्चालन गर्न खर्चिलो छ’ उनले भने–‘आर्थिक स्रोत जुटाउने बित्तिकै त्यो पनि सुरु गर्छौ ।’

विद्यालय व्यवस्थापन समिति स्कुललाई बोर्डिङ स्कुलको ढाँचामा अघि बढाउने तयारीमा छ । अध्यक्ष शाहले कक्षा व्यवस्थापन गर्ने तयारी भैरहेको जानकारी दिए । उनले बाल विकास र कक्षा १ को बीचमा अर्को कक्षा थप्ने योजना रहेको सुनाए । उनले प्रावि तह स्कुलको जग भएकाले अंग्रेजी माध्यमबाट प्रावि तहको शैक्षिक अवस्थालाई मजबुत बनाउने बताए । स्कुलमा प्रावि तहको मात्रै दरबन्दी छ । निमाविमा ३ जना राहत शिक्षक छन । त्यो भन्दा बाहेकका सबै शिक्षकलाई स्कुलले आफ्नै स्रोतमा राखेको छ । स्कुलले सबै शिक्षकलाई सरकारी मापदण्ड अनुसार तलब सुविधा दिन्छ । शिक्षकको तलब सुविधामा मात्रै स्कुलले मासिक ७ लाख खर्च गर्छ । त्यो सबै स्कुलले आफै व्यवस्थापन गरेको छ ।

आर्थिक रुपमा मात्रै हैन स्कुल विद्यार्थीका हकमा समेत धनी भएको छ । हाल १०५३ जना विद्यार्थी छन । जसमध्ये छात्राको संख्या अझ धेरै छ । स्कुलमा ५६० जना छात्रा अध्ययनरत छन । विद्यार्थी संख्या बढेको मात्रै हैन शैक्षिक गुणस्तरमा समेत सुधार भएको छ । २०६९ सालको एसएलसीमा शुन्य प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । प्रधानाध्यापक शर्माले २०७० सालबाट शैक्षिक गुणस्तरले तिब्रता पाएको बताए । उनका अनुसार पछिल्ला वर्षहरुमा ३ दशमलव ६ देखी ४ जिपिएसम्म अंक ल्याएर विद्यार्थी उत्तीर्ण हुन थालेका छन । ‘सामुदायिक विद्यालयका हकमा यो अंक निकै धेरै हो’ उनले भने–‘अझै यो भन्दा राम्रो गर्ने सोचमा छौं ।’

स्कुलले शैक्षिक गुणस्तर मात्रै हैन खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा समेत प्रगति गरेको छ । स्कुलले यसवर्षको उपमेयर कपमा दोस्रो स्थान र स्रोतकेन्द्र स्तरीय मावि तहमा प्रथम स्थान हासिल गरेको छ । स्कुलले सामुदायिक विद्यालय स्तरीय प्रतियोगितामा आफ्नो स्थान विजेता वा उपविजेतामा उभ्याउन सफल भैरहेको छ । ‘कुनैबेला यस्ता प्रतियोगितामा हाम्रो स्कुल सहभागी नै हुँदैन थियो’ प्रधानाध्यापक शर्माले भने–‘अहिले प्रथम र द्वित्तीय मध्ये एक स्थान सुरक्षित हुन्छ ।’

प्रधानाध्यापक शर्मा २०६५ सालमा एक संस्थाले टीकापुर नगरपालिकाका शैक्षिक संस्थाका बारेमा प्रकाशित गरेको स्मारिकामा कर्णाली स्कुलको नाम नभएको अहिले पनि सम्झिन्छन । उनी एक शैक्षिक कार्यक्रममा सहभागी हुँदा कार्यक्रम सञ्चालकले तपाईको विद्यालय प्रावि हो कि ? निमावि हो ? भनेर सोधेको पनि सम्झिन्छन ।

अहिले स्कुलका बारेमा टीकापुरमा मात्रै हैन जिल्लाभर नै चर्चा छ । प्रयाप्त भौतिक संरचना छ । केही भौतिक संरचना निर्माणको क्रममा छन । शैक्षिक र खेलकुद सामाग्रीको कमि छैन । सुविधा सम्पन्न प्रयोगशाला छ । हरेक कक्षा कोठा र कम्पाण्डमा सिसि क्यामेरा जडान छ । प्रधानाध्यापक शर्माले आफ्नो कार्यकक्षबाटै विद्यालयका गतिविधि हेर्न सक्छन । विद्यालयको सुधारले शिक्षक विद्यार्थी खुशी छन । तिनै विपन्न परिवारका छोराछोरी समेत चिटिक्क परेर विद्यालय आउछन । विद्यार्थी निकै अनुशासित र शिक्षक जिम्मेवार बनेका छन । ‘यो सबै टिमले गरेको मेहनतको परिणाम हो’ अध्यक्ष शाहले भने–‘हामी स्कुलको विकासका लागि दिनरात खट्न तयार छौं भन्ने भावना सबैमा छ ।’
विद्यालयको प्रगतिले स्थानीय समेत निकै खुशी छन । उनीहरु असल नेतृत्वले खराब कुरालाई समेत असल बनाउन सक्छ भन्ने उदाहरण कर्णाली स्कुल भएको बताउँछन ।

प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update