Hamro Patra
खिकाला गाउँको त्यो निर्मम घटना

सृजना स्नेही (स्थलगत रिपोर्ट)
बझाङको मष्टा गाउँपालिका–२ को खिकालाकी १२ बर्षीया सम्झना कामीको शव विक्षिप्त अवस्थामा भेटिएको थियो । यही असोज ६ गतेका दिन साँझ ती बालिकाको शव स्थानीय एक मन्दिरमा बलात्कार पछि निर्मम ढंगले हत्या गरिएको अवस्थामा भेटिएको थियो । गाइवस्तुलाई घाँस काट्न गएकी ती बालिका राती अवेर सम्म घर नआए पछि आफन्तले खोज्दै जादा राती ८ः३० बजे हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । यसै घटनामा आशंकाका आधारमा एक व्यक्तिलाई प्रहरीले हिरासतमा पनि लिएको छ ।

हत्या भएको ठाउँ
बालिकाको हत्या भएको ठाउँ जंगलको बिचमा छ । शव भेटिएको स्थान र उनको घर खोला अवस्थित छ । उनको घरबाट करिव ५ मिनेट ओरालो झरेर नदी (साँघु) तरे पछि १० मिनेट उकालो हिड्ने हो भने घटना स्थल पुगिन्छ । छाना जाने बाटो र मन्दिर जाने बाटो जंगल सुरु भए पछि सानो खोलाले छुट्याएको छ । बालिकालाई कोरेली जाने बाटोमा खोल्सो परेको स्थानबाट उठाएर मन्दिरभित्र लिएर गएको आशंका छ । उनले आफु संग लगेका डोको, नाम्लो र हसिँया बिच बाटोमा भेटिएका छन । यस्तै मन्दिरको अर्को छेउमा पनि सानो खोला बगेको छ । हत्या भएको ठाउँमा मन्दिर निर्माणका कार्यहरु भइरहेकोले काममा आवश्यक पर्ने काठ र औजारहरु पनि घटना स्थलमा छन् । उनको शव टिनले छाएको मन्दिर भित्र भेटिएको थियो । त्यहाँको अवस्था हेर्दा बालिकाले आफुलाई बचाउन भरपुर प्रयास गरेको देखिन्छ । घटनास्थलको अवस्था हेर्दा बालिकालाई निकै क्रुर तरिकाले मारेको अनुमान गर्न सकिन्छ ।

Khadga Memorial And Janajagriti

किन केही बोल्दैनन् गाउँले ?
खिकाला गाउँ शोकाकुल थियो । सबैजना हत्या गरिएकी बालिकाको शोकमा रुदै थिए । घटनाको बिषयमा सोध्दा कसैले केही पनि जानकारी नभएको बताए । सुरुमा त सायद दुख र शोकले गर्दा केही बोल्न नसकेका होलान् भन्ने लाग्यो तर आफ्नो मनमा चोट पुगेको कुरा भने उनीहरुले भने । जब हत्यारा को हुन सक्छ ? के जसलाई समातियो त्यो प्रति शंका छ ? भनेर सोध्दा कोही केही बोल्नै मानेनन् । सब मौन बसे । मानौ उनीहरुले हत्याराको बिषयमा केही शब्द बोल्नु पनि अपराध हुनेछ । एउटी महिला रोइरहेको आवाज सुनियो । उनी लक्ष्मी कामी थिइन् मृतककी फुपु । उनले घटनाका बारेमा मुख खोलिन । उनले भनिन्–“सधै गोरु चराउन सबै त्यही घटनास्थलको नजिकै रहेको चौडमा लग्थे । तर त्यो दिन भने वारी नै गोरु चरायौै । घाँस काट्न म आफै जान्थे । तर मेरो हात काट्यो । आमाले म जान्छु भन्दै हुनुहुन्थ्यो तर उसले हैन म आफै जान्छु भनेर गँइन । आमाले उसलाई खोला तरेर पारी उकालो सम्म जादा देख्नु भाथ्यो । तर त्यस पछि कसरी यस्तो भयो थाहा नै भएन ।’
उनले अझै थपिन–‘उसले कानको सुन निकालिन दिनु भनेकी थिइन, मैले हैन दाइले पठाएका मुन्द्रा किन निकाल्नु पर्याे ? डर नमान भने ।’ त्यसो भए जसलाई समातिएको छ उनै हत्यारा हो जस्तो लाग्छ त भन्दा उ नि पनि मौन बसिन् । त्यही रहेकी अर्की स्थानीय सुना दमाइले आक्रोश पोखिन । उनले भनिन्–‘हत्यारालाई जेलमा राखेर मात्रै हुँदै उसलाई फाँसी दिइनुपर्छ ।’

यसो भन्छन् बालिकाका बाजे बजै
बालिकाका बाजेले घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्ति नै हत्यारा भएको दावी गरेका छन । उनले भने–‘मेरी नातीनिले मलाई मुदुरा (मुन्द्रा) खोलि देउ बाजे भनेकी हो, मैले मानिन । केही गर्दैन नडरा भने तर आज मैले उसलाई बचाउन सकिन ।’
उनले भने–‘म धैरै चोटी त्यसको घरमा गएर मेरो नातीनिलाई नडारा भन्न, तर त्यो भेटिएन । मलाई त्यो बाहेक अरु कसैमा शंका छैन ।’
यस्तै उनकी बज्यैले पनि समातिएको ब्यक्तिलाई नै हत्यारा भनेकी छिन् । उनले भनिन्–‘त्यसले कानका मुदुरा (मुन्द्रा) दिने हैकी नाई भनेर भन्छ भनेर भनेकै हौ मेरी नातीनिले । त्यो मेरै कानमा हेर्छ । मलाई डरलाग्यो पनि भनेकी हो ।’

समातिएका ब्यक्तिका आमा बुबा यसो भन्छन्
आफ्नो छोराले गाँउ घरमा चोरी गर्ने गरेको भए पनि यो घटनामा उसको संगलनता नभएको बताए । त्यो दिन आफ्नो छोरा खोला सम्म गएको भएपनि त्यहाँबाट मुसलको लागि काठ ल्याएर ५ बजे घर आए पछि कहि न गएको उनकी आमा लक्षुदेवी बोहोराले बताइन् ।
उनले प्रहरी आएको समयमा घरमा छोरा छैन भनेर झुटो किन बोलेको भन्ने बिषयमा आफुहरु डराएको बताइन् । उनले भनिन्–‘राति २ बजे प्रहरी आए, प्रहरीले तपाईको छोरा कहाँ छन् भन्दा डर माने र राजेन्द्र छैन भनेको हुँ ।’ पक्राउ परेका राजेन्द्र बोहराका बुबा बिरबहादुर बोहरा समेत आफ्नो छोरा घर बाहिर नगएको जिकिर गर्छन् । उनी भन्छन्–‘मैले एउटा काठ ल्याउनलाई खोलामा ४ बजे पठाएको र उसले काठ लिएर आएपछि घर बाहिर नै निस्केन । खोलासम्म पुगेको मेरो छोरो कसरी त्यो मन्दिर(घटनास्थल) पुग्यो होला म त विश्वास गर्दिनँ ।’
तर दुबैको कुरा सुन्दा शंका गर्ने आधारहरु धेरै देखिन्छन् । दुबै जना खोलासम्म गएको कुरा स्वीकार गरेका छन् । तर घटनास्थलसम्म नपुगेको पनि बताउँछन् ।
प्रहरीले राजेन्द्रलाई घर भित्र लुकेको अवस्थामा आफूहरुलाई घरभित्र पस्न नदिएको बताउँछ । प्रहरीका अनुसार राजेन्द्र घरभित्र कोठामा खटिया मुनि लुकेको अवस्थामा फेला परेका थिए । उनी निकै डराएको अवस्थामा थिए ।

समातिएका ब्यक्तिलाई शंका गर्ने आधारहरु
बलात्कार पछि हत्या गरेको शंकामा प्रहरीले स्थानिय राजेन्द्र बोहोरालाई प्रकाउ गरेको छ । प्रहरीका अनुसार उसैलाई हत्यारा मान्न सक्ने धेरै आधारहरु भेटिएका छन् । स्थानीयका अनुसार पक्राउ परेको व्यक्ति चोरी डकैती गर्ने, बालबालिकाहरुलाई डर त्रास देखाउने, कसैलाई भनेमा ज्यान मार्ने धम्की दिन्थ्यो । बालिकालाई पनि त्यसले घटना भन्दा केही दिन अगाडी देखि कानको मुन्द्रा मागेको थियो । घटना भएको दिन उसलाई घटनास्थल तर्फ जाँदा केही व्यक्तिले देखेका थिए ।
बालिका छाना जाने क्रममा नदीबाटै पक्राउ परेका बोहराले पछ्याउदै गएको एक बालिकाले देखेको बताएकी छिन । उनले आफुले मकै बारीमा मकै दिप्दै गर्दा देखेको बताइन् । उनले भनिन्–‘त्यो तल खोला निर बसेको थियो । सम्झना गए पछि उसको पछि पछि गएको थियो ।’ उनी साँझको समयमा खोला नजिकै कम्मर भन्दा तलको शरीर पानीमा भिजेको अवस्थामा अर्का एक स्थानीयले देखेका थिए ।
उनले खिकालाकै अर्जुन बोहराको घरभित्र छिरेर तिहलरी चोरेका थिए । उनका अनुसार राजेन्द्रले नै चोरेको थाहा पाएपछि चोरेको सामान फिर्ता गरेका थिए । यति मात्रै होइन ती व्यक्तिले चैतदेखि जेठसम्ममात्रै १६ घरमा चोरी गरेको स्थानीयको आरोप छ । । यस्तै गाउँका कतिपय महिलाहरुको कानमा गहना देखेमा लुट्ने धम्की दिन्थे ।

बाहिरीएका अन्य घटनाहरु (हत्या देखि बलात्कार)
सम्झनाको घटनाको बारेमा सोधपुछ गर्दैै जादा अन्य घटनाहरु पनि बाहिरीएका छन् । खिकाला गाउँमा यस अघि पनि बिभिन्न अपपराधीक घटनाहरु भएको पाइएको छ । यस अघि पनि दोषी भनिएका राजेन्द्रले एक १४ बर्षीया बालिकालाई बलात्कार गरेको खुलेको छ । यही भदौमा स्थानीय सिता कामी (नाम परिवर्तित) माथि घट्ट गएको समयमा बलात्कार सगै कुटपिट गरिएको थियो । सो घटनाका बारेमा सीताले भनिन्–‘मलाई घट्ट भित्र लग्यो, घाँटी च्याप्यो । कसैलाई भन्यो भने मारी दिन्छु भन्यो ।’
यस घटनाका बिषयमा प्रहरीलाई जानकारी गराउनुको साट्टो ५०० रुपैयाँमा मिलाईएको थियो । गाउँलेको रोहबरमा राजेन्द्र र सीताका अभिभावकले घटना सामसुम पारेका थिए । सीताका अभिभावकले भने दलित भएकै कारण घटना सामसुम पार्नु परेको दुखेसो पोखे ।
यस्तै आज भन्दा करिब एक बर्ष अघि सिम मन्दिर (माडु) नजिकै एक बालकको हत्या भएको थियो । खिकालाकै शेरे कामीका ११ बर्षीय छोरा बिमल कामीको कानमा भएको सुन हराएको अवस्थामा शव भेटिएको थियो । तर त्यो घटनालाई पनि प्रहरी सम्म पु¥याइएन । लडेर मरेको भनेर घटनालाई दबाइयो । यस घटनामा दोषीको खोजी कार्य नै नभएको स्थानीयले बताएका छन् । यस घटनामा पनि राजेन्द्र बोहरालाई जोडिएको छ । गाउँका केही बालबालिकासँग त्यो बालकलाई मैले मारेको हुँ । त्यसको सुन लिएको हुँ, यदि तिमीहरुले यो कुरा बाहिर भन्यौ भने तिमीहरुलाई पनि मारिदिन्छु भन्ने धम्की दिएको दुई बालबालिकाले प्रहरी समक्ष बयान समेत दिएका छन् ।

भाईको अनुहार सम्म हेर्न पाइनन
सम्झनाले आफ्नो भाईको अनुहार नहेरे रै यो संसारबाट बिदा हुनुपर्याे । उनका आमाबुबा रोजगारीका क्रममा भारतमा छन । तीन बहिनी र एक भाई मध्य उनी सबैभन्दा जेठी हुन । २ वर्ष अघि उनका भाइ भारतमै जन्मिए । उनका आमाबुबा र भाइ घर आएका छैनन् । जसका कारण उनले भाइको अनुसार समेत हेर्न पाइनन् ।

प्रकाशित मिति: सोमबार, असोज १२, २०७७  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update