Hamro Patra
टीकापुरका पत्रकारले दिए प्रशासनमा धर्ना

टीकापुर, भदौ २९

सुदूरपश्चिमको राजधानी धनगढीस्थित दिनेश सञ्चार गृहमा आक्रमण गर्नेहरुलाई कानुनी कारबाहीको माग गर्दै टीकापुरका पत्रकारले प्रशासनमा धर्ना दिएका छन् ।

टीकापुरका पत्रकारहरुले आज इलाका प्रशासन कार्यालय टीकापुरमा कारबाहीको माग गर्दैै धर्ना दिएका हुन् । नेपाल पत्रकार महासंघ कैलालीले धनगढीमा दबाबमूलक कार्यक्रमहरु गरिरहेका बेला टीकापुरका पत्रकारहरुले समेत प्रशासनमा धर्ना दिएका हुन् ।

Khadga Memorial And Janajagriti

नेपाल पत्रकार महासंघ कैलालीको आयोजनामा भएको धर्ना कार्यक्रममा बोल्दै महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारीले समाचारको विषयलाई लिएर सञ्चार गृहमा गरिएको आक्रमण निन्दनीय भएको बताए । आक्रमण गर्नेहरुलाई पक्राउ गरी कानुनी कारबाही नगरिए पत्रकारहरुले आन्दोलनका थप कार्यक्रमहरु ल्याउन बाध्य हुने उनले बताए ।

पत्रकारहरुले प्रशासनमा आधा घण्टा धर्ना दिएका हुन् । कार्यक्रममा महासंघका केन्द्रिय पार्षद गणेश चौधरी, मातृका तिमिल्सेनाले सञ्चारगृह माथिको आक्रमणले लोकतन्त्रको धज्जी उडाएको बताए । आक्रमणकारीलाई कानुनी दायरामा ल्याउनु पर्नेमा उनीहरुको जोड थियो । महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटाले पत्रकारको सुरक्षा राज्यको दायित्वभित्र पर्ने बताउँदै घटनामा संलग्नलाई कारवाहीको माग गरिन् ।

यसैबिच जिल्ला प्रहरी कार्यालय धनगढीले पत्रकारमाथि आक्रमण गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

दिनेश एफ.एम.ले दिएको किटानी जाहेरीका आधारमा धनगढी उप–महानगरपालिका वडा नम्बर ५ बस्ने सरोज थापालाई पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता डिएसपी प्रतीक विष्टले बताए । विष्टले पक्राउ परेका थापाको संलग्नताबारे अनुसन्धान भइरहेको बताए ।

प्रहरीले दिएको जानकारीका आधारमा दिनेश खवरले धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो । सोही समाचार प्रकाशनको विषयलाई लिएर दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट भएको थियो । कैलालीका पत्रकारहरुले दोषीलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका छन ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १ बाट चोरी मुद्धामा भदौ २२ गते पक्राउ परेका १९ वर्षीय रोशन विकले शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ । तर मृतकका आफन्तले भने उनले आत्महत्या नभई उनको हत्या भएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update