Hamro Patra
स्थानीयद्वारा डल्फिन संरक्षण क्षेत्र घोषणाको माग

टीकापुर, भदौ २८
स्थानीय बासिन्दा विगत लामो समयदेखी सरकार समक्ष डल्फिन संरक्षण क्षेत्र घोषणाको माग गर्दै आएका छन । उनीहरुले यो प्रस्ताव सरकारका विभिन्न निकायमा लिखित रुपमै पेश गरेका छन । सरकारका उच्च ओहदामा रहेका व्यक्तिहरुलाई डल्फिन क्षेत्रमा आमन्त्रण गरेर यस बारेमा जानकारी समेत दिएका छन ।

स्थानीय बासिन्दाको यस मागमा कसैले विमति जनाएका छैनन् । उनीहरुले स्थानीय बासिन्दाको मागमा समर्थन जनाउदै पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन । २०७५ सालमा आयोजित डल्फिन महोत्सवको उद्घाटन गर्न पुगेका तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीले डल्फिन संरक्षण क्षेत्र घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

मन्त्री अधिकारीको निधन पश्चात स्थानीयको मागले सार्थकता पाउन सकेन । स्थानीयले स्वर्गीय मन्त्रीको सम्झनामा डल्फिन क्षेत्रमा रविन्द्र अधिकारी स्मृति पार्क निर्माण गरे ।

Khadga Memorial And Janajagriti

स्थानीयले २०७६ सालको डल्फिन महोत्सवमा पर्यटन मन्त्री योगेश भट्टराईलाई आमन्त्रण गरे । डल्फिन महोत्सवको उद्घाटन गर्न पुगेका मन्त्री भट्टराईले स्वर्गीय मन्त्री अधिकारीले गरेको प्रतिवद्धता पूरा गर्ने बचन दिए ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, पर्यटन मन्त्री माया भट्ट लगायतले समेत डल्फिन क्षेत्रको अवलोकन गरेर संरक्षण क्षेत्र घोषणाका लागि पहल गर्ने वाचा गरेका थिए ।

सरकारको उच्च ओहदामा रहेका व्यक्तिहरुको आगमनले स्थानीय बासिन्दामा हौसला थपिएको छ । उनीहरु छिट्टै डल्फिन संरक्षण क्षेत्र घोषणाको पर्खाईमा छन । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले आफूहरुको माग सम्बोधन हुने आशा जागेको बताए ।

‘हाम्रो माग सम्बोधन होला जस्तो महशुस भैरहेको छ’ उनले भने–‘डल्फिन संरक्षण क्षेत्र घोषणाका लागि गृहकार्य भैरहेको छ ।’

उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले डल्फिन संरक्षण क्षेत्र घोषणाका लागि गृहकार्य थालेको छ । उसले स्थानीय बासिन्दासँग छलफल गरेको छ ।

डल्फिन संरक्षण क्षेत्र घोषणा भए यस क्षेत्रका बासिन्दा लाभान्वित हुने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका महासचिव जयप्रसाद ढुंगाना बताउँछन । उनले डल्फिनको संरक्षण मात्रै नभई भौतिक संरचना निर्माणका साथै स्थानीयका लागि आयआर्जनका कार्यक्रम समेत लागु हुने बताए । ‘डल्फिन संरक्षणका माध्यमबाट स्थानीयले जिविकोपार्जन समेत गर्न सक्छन’ उनले भने–‘डल्फिन संरक्षण क्षेत्र घोषणाले यस ठाउँको मुहार फेर्न सक्छ ।’

डल्फिन क्षेत्रमा तीनै तहका सरकारले लगानी बढाएका छन । संघीय सरकारले विकास निर्माण लगायतमा बजेट विनियोजन गरेको छ । प्रदेश सरकार र स्थानीय पालिकाले विभिन्न भौतिक संरचना निर्माणको कामलाई तिब्रता दिएका छन । प्रदेश सरकारका तर्फबाट साँसद डा. रणबहादुर रावलले भ्यूटावर निर्माण गरिरहेका छन ।

टीकापुर नगरपालिकाले डल्फिन क्षेत्रसम्मको सडक व्यवस्थित बनाएको छ । उता भजनी नगरपालिकाले झण्डै ४ किलोमिटर डल्फिन पदमार्गको डिपिआर तयार पारेको छ । उसले डल्फिन अवलोकनका लागि भ्यूटावर समेत निर्माण गर्ने भएको छ ।

रानी जमरा कुलरीया सिँचाई आयोजनाले डल्फिन क्षेत्रमा तटबन्ध गरेको छ । उसले डल्फिन देखिने ठाउँमा डल्फिनमैत्री तटबन्ध निर्माण गरेको छ । अन्यत्र तटबन्ध निर्माणमा जाली प्रयोग गरेको भएपनि डल्फिन क्षेत्रमा भने सिमेन्ट र ढुंगा मात्रै प्रयोग गरिएको छ । यस्तो तटबन्धले डल्फिनको वासस्थानमा कुनै असर नपार्ने बताईन्छ ।

यो वर्ष १३ बच्चा सहित ६० डल्फिन देखिएका छन । यसअघि २०७६ मा ४५, २०७५ मा ४०, २०७४ मा २२ र २०७३ मा ६३ डल्फिन देखिएका थिए ।

स्तनधारी प्राणीका रुपमा रहेको डल्फिन वर्षाको समयमा कैलालीको मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा देखिन्छ । यी नदीहरुमा पानीको सतह कम भएसँगै डल्फिन हरेक वर्ष कर्णाली नदीको तल्लो भेगतर्फ फर्किने गर्छ ।

अध्ययनकर्ताका अनुसार डल्फिन यी नदीहरुमा बच्चा हुर्काउन आउने गरेको पाइन्छ । वर्षाको समयमा डल्फिनलाई बच्चा हुर्काउनका लागि कैलालीको दक्षिणी भेगका नदीहरु उपयुक्त स्थान हुन । यहाँ पानीको बहाव कम, आहार प्रजाति (माछा) को उपलब्धताका कारण सुरक्षित बासस्थान मानिएको छ ।

यी नदीहरुमा डल्फिन देखिन थालेपछि स्थानीयले संरक्षणको पहल थालेका थिए । स्थानीयकै पहलमा २०५६ बाट डल्फिन संरक्षण भैरहेको छ । पहिलो पटक भोजराज श्रेष्ठ अर्थात गुलेली बाजेले डल्फिन संरक्षणको अभियान थालेका हुन ।

उनलाई अमेरीकी नागरिकले डल्फिनको महत्वका बारेमा सुनाए पछि यस्तो पहल थालेका हुन । त्यसअघि सीमावर्ती मोहना नदीमा भारतीयले जाल हानेर डल्फिन मार्थे । कहिले काँही स्थानीयले समेत मार्थे । माछा मार्ने क्रममा समेत थु्रप्रै डल्फिन मरेका थिए । त्यसको महत्वका बारेमा कसैलाई जानकारी नै थिएन । स्थानीयले स्वाँसु, सोस लगायत भनेर चिन्थे ।

यहाँ ग्याँगेटिक जातको डल्फिन पाईन्छ । यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाईन्छ । यो माशांहारी प्राणी हो । यसले मुख्य आहारका रुपमा माछा, घोँगी लगायत खान्छ । यसले बच्चा जन्माउँछ । वर्षमा एक वा एकै पटक दुई वटा सम्म बच्चा जन्माउने गरेको अनुसन्धानले देखाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update