Hamro Patra
दिनेश एफएमको समाचार कक्षमा आक्रमण गर्नेलाई कारवाहीको माग

टीकापुर, भदौ २६
धनगढीस्थित दिनेश एफएमको समाचार कक्षमा प्रवेश गरेर पत्रकारहरुमाथि हातपात गर्ने उच्छृङ्खल समूहलाई कारवाहीका लागि नेपाल पत्रकार महासंघ लगायत विभिन्न संघसंगठनहरुले माग गरेका छन ।

महासंघ सुदूरपश्चिम प्रदेश समितिले समाचार कक्ष भित्रै प्रवेश गरेर पत्रकारहरुमाथि हातपात गरिनु सिङ्गो प्रेसजगतका लागि निकै असह्य घटना भएको उल्लेख गरेको छ । महासचिव योगेश रावलले आज एक विज्ञप्ती जारी गरी यो घटना समग्र पत्रकारितामाथिको आक्रमण भएको बताएका छन ।

Khadga Memorial And Janajagriti

विज्ञप्तीमा घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरेर कडा भन्दा कडा कानूनी कारवाहीका लागि प्रहरी प्रशासनसँग माग गर्दछौं भनिएको छ । घटनामा संलग्नलाई कारवाहीमा ढिलासुस्ती भए महासंघ सशक्त आन्दोलनमा उत्रिने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

महासंघले विज्ञप्ती मार्फत सम्पूर्ण सञ्चारकर्मी र सञ्चारमाध्यमको सुरक्षाको पूर्ण प्रत्याभूतिका लागि सरोकारवालासँग आग्रह समेत गरेको छ ।
घटना प्रति नेपाल पत्रकार महासंघ कैलाली, नेपाल प्रेस यूनियन कैलाली, नेपाल फोटो पत्रकार महासंघ कैलाली लगायतका संघसंगठनले विज्ञप्ती मार्फत आपत्ती जनाएका छन ।

घटना विवरण अनुसार एक समूहले एफएमको समाचार कक्षमा प्रवेश गरेर सहसम्पादक जनक बिष्ट लगायतका पत्रकारहरुमाथि आक्रमण गरेको छ । सो समूहको आक्रमणमा परेर पत्रकार घाइते भएका छन ।

उक्त समूहले दिनेश खबर डटकममा ‘धनगढीमा थुनुवा कक्ष भित्रै १९ वर्षीय युवकले गरे आत्महत्या’ शिर्षकको समाचारमा आपत्ती जनाउदै एफएममा आक्रमण गरेको हो । उनीहरुले ती युवकले प्रहरी हिरासत भित्र आत्महत्या गरेको नभई मारेको दावी गरेका छन ।

एफएमले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक बिष्टले दिएको जानकारीका आधारमा चोरी आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका–१ का १९ वर्षका रोशन विकले शौचालय भित्रै आत्महत्या गरेको समाचार अनलाइनमा प्रकासन गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलाली भित्रै रहेको थुनुवा शौचालयमा मृत अवस्थामा भेटिएका युवक भदौ २२ गते चोरी गरेको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update