Hamro Patra
वीरेन्द्र क्याम्पसको अध्यक्षमा रावल

टीकापुर, भदौ २१

वीरेन्द्र विद्या मन्दिर क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा नवराज रावल पुनः चयन भएका छन् । आज सम्पन्न प्रथम क्याम्पस सभाले सर्वसम्मत रुपमा रावलको अध्यक्षतामा क्याम्पस व्यवस्थापन समिति चयन गरेको हो । सभाले सर्वसम्मत आठ जना सदस्य समेत चयन गरेको छ ।

निर्वाचित सदस्यहरुमा महेन्द्रसिंह बम, किसनलाल डगौरा थारु, राजेशकुमार टमट्टा, मातृका तिमिल्सैना, जगदीश्वर पण्डित, कमला विष्ट, दयाराम सञ्ज्याल र वीरेन्द्रबहादुर साउँद रहेका छन् ।

Khadga Memorial And Janajagriti

कार्य समितिको पहिलो बैठकले निर्वाचित सदस्यहरु मध्येबाट एकजनालाई उपाध्यक्ष चयन गर्ने थप २ जना सदस्य मनोनित गर्ने प्रावधान रहेको निर्वाचन समिति सदस्य राजिव कोइरालाले जानकारी दिए । समितिको कार्यकाल ३ वर्षको रहनेछ ।

यसअघि क्याम्पस प्रमुखले ३ जनाको नाम सिफारिस गर्ने र सो नाम मध्येबाट त्रिभुवन विश्व विद्यालयले एक जनालाई अध्यक्ष चयन गर्ने प्रावधान रहेको थियो । पहिलो पटक स्थानीय सरोकारवाला सम्मिलित क्याम्पस सभाले व्यवस्थापन समिति चयन गर्ने परिपाटी शुरु भएको छ ।

आजै विहान सम्पन्न सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता डा.रणबहादुर रावलले क्याम्पसले वातावरणीय शिक्षाबारे चेतना फैलाउन कार्यक्रमहरु गर्न आवश्यक रहेको बताए ।

वातावरणीय शिक्षाको अभावमा बाढी, पहिरो, नदी कटान जस्ता गम्भीर समस्या सामान गर्नुपरेको उल्लेख गर्दै रावलले विद्यार्थी स्तरबाटै वातावरणीय प्रभावबारे जानकारी दिन आवश्यक रहेको बताए । कर्णाली नदीको बिचमा रहेका टापुका कारण टीकापुर क्षेत्र कर्णालीको जोखिममा परेको बताउँदै उनले आगामी वर्ष ती टापुहरु सफा गर्नुपर्नेमा जोड दिए । कोरोना कहरले शिक्षा नयाँ आयाम थप्नुपर्ने चुनौति देखिएको बताउँदै रावलले प्रत्येक विद्यालयलाई आइसीटी ल्याबसहितको बनाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै संविधान सभा सदस्य हरि ज्ञवालीले सामुदायिक शैक्षिक संस्थालाई सबैको सहयोग हुने वातावरण सिर्जना गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले शैक्षिक नगरीका रुपमा विकसित भएको टीकापुर शिक्षाको हव हुन नसकेको औंल्याएँ । उनले यसका लागि प्राविधिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गरे ।

कार्यक्रममा नगर उपप्रमुख केशरी विष्ट, नेकपा नगर अध्यक्ष खडक शाह, नेपाली काँग्रेस प्रदेश ख का सभापति प्रकाश शाह, जनता समाजवादी पार्टीका हरिप्रसाद तिमिल्सेना, राष्टिय जनमोर्चाका तिलक परियार र क्याम्पसका पूर्व अध्यक्ष ललितबहादुर थापालगायतले शुभकामना व्यक्त गरेका थिए ।

क्याम्पस व्यवस्थापन समितिका उपाध्यक्ष पुष्प बमले स्वागत गर्नुभएको कार्यक्रममा क्याम्पस प्रमुख हर्कबहादुर भण्डारीले क्याम्पसको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update