Hamro Patra
सेपाक ताक्रोमा चम्किदै टीकापुर

योगेश रावल
टीकापुर, ३० चैत
टीकापुरले छोटो समयमै सेपाक ताक्रो खेलमा आफ्नो बलियो उपस्थिति जनाएको छ । पाँच वर्षको अवधिमा एक महिला र एक पुरुष गरी दुईजना राष्ट्रिय खेलाडीका साथै अन्र्तराष्ट्रिय रेफ्री समेत जन्माएको छ । नेपाली राष्ट्रिय टोलीमा समावेश हुनेमा महिलातर्फ चन्द्रा चौधरी र पुरुषतर्फ मुकुन्द गौतम रहेका छन । चौधरीले श्रीलंका, भारत र गौतमले थाइल्याण्ड, भियतनाम लगायतका देशमा सम्पन्न अन्र्तराष्ट्रिय स्तरका प्रतियोगितामा आफ्नो खेल प्रस्तुत गरिसकेका छन ।


त्यस्तै टीकापुरमा यस खेलको सुरुवात गर्ने अर्जुन ठकुल्लाले अन्र्तराष्ट्रिय रेफ्रीको मान्यता पाएका छन । नेपालमा ३ जनाले मात्रै अन्र्तराष्ट्रिय रेफ्रीको मान्यता पाएका छन । ती मध्येका एक ठकुल्लाले सन् २०१७ मा श्रीलंका र सुन २०१८ मा थाइल्याण्डमा रेफ्रीको भूमिका निर्वाह गरेका छन । उनी नेपाल सेपाक ताक्रो संघको राष्ट्रिय उपाध्यक्ष समेत हुन । सेपाक ताक्रो नेपाल भित्रिएको एक दशक पनि पुगेको छैन । यो २०६६ सालमा खेल्न थालिएको हो । यो खेल सिंगापुरे लाहुरे धु्रव गुरुङले नेपाल भित्र्याएका हुन । मलेसीयाबाट सुरु भएको यो खेल थाइल्याण्ड, म्यानमार, भियतनाम लगायत विश्वभरका झण्डै ४० देशमा खेलिन्छ ।


टीकापुरमा भने यो खेल भित्रिएको पाँच वर्ष पुग्दैछ । खेल सुरुवात भएको एक वर्षमै टीकापुरले सुदूरपश्चिमको प्रतिनिधित्व गर्दै २०७१ मा काठमाण्डौंमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाएको थियो । सो टीममा धनगढीका खेलाडी समेत सहभागी थिए । सो प्रतियोगितामा सुदूरपश्चिमले तृतीय स्थान हात पारेको थियो । त्यसैगरी २०७२ मा इटहरीमा सम्पन्न राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिमले द्वित्तीय स्थान हात पारेको थियो ।

Khadga Memorial And Janajagriti


टीकापुरले २०७३ मा सम्पन्न सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला र पुरुष गरी तीनवटा विधामा सहभागिता जनाएको थियो । जसमा रेगु, टीम इभेन्ट र डबल रहेका छन । प्रतियोगितामा महिलाले प्रथम र पुरुषले तृतीय स्थान हासिल गरेको थियो । दुवै टीममा सबै टीकापुरकै खेलाडी थिए ।


आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सेपाक ताक्रो तर्फ एउटा विधा मात्रै समेटिएको छ । अन्र्तराष्ट्रिय रेफ्रि ठकुल्लाले रेगु विधा मात्रै समावेश हुने जानकारी दिए । उनले सुदूरपश्चिमको प्रतिनिधित्व गर्न टीकापुरले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी थालेको बताए । ‘हामी आठौं राष्ट्रिय खेलकुदमा गोल्ड मेडल ल्याउने लक्ष्यका साथ तयारी गर्दैछौं’ उनले भने–‘टीकापुरलाई सेपाक ताक्रोका माध्यमबाट चिनाउन चाहन्छु ।’

अन्र्तराष्ट्रिय रेफ्रि मध्येका एक रामबहादुर थापाले टीकापुरमा सेपाक ताक्रो भित्र्याउन पहल गरेका हुन । उनले ठकुल्लालाई यस खेलका बारेमा जानकारी दिएका थिए । थापाको आग्रह अनुसार ठकुल्लाले टीकापुरका १५ वटा विद्यालयका विद्यार्थीलाई जम्मा गरिदिएका थिए । थापाले सबै विद्यालयका विद्यार्थी सामु खेलको जानकारी दिएका थिए । अन्य विद्यालयले यस खेलप्रति खाशै चासो नदिएको भएपनि बीरेन्द्र विद्या मन्दिरले भने सेपाक ताक्रोलाई निरन्तरता दियो ।


बीरेन्द्र विद्या मन्दिरका खेल शिक्षक समेत रहेका ठकुल्ला आफैले सेपाक ताक्रो खेललाई अघि बढाईरहेका छन । उनकै प्रशिक्षणमा खेलाडीहरु हुर्किरहेका छन । उनको टीकापुरबाट सेपाक ताक्रोको अन्र्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य छ । उनी अहिलेसम्मको अवस्थाबाट निकै उत्साहित छन । ‘अहिलेसम्मको अवस्था हेर्दा निकै राम्रो देखिन्छ’ उनले भने–‘यही अवस्था रह्यो भने लक्ष्य धेरै टाढा छैन ।’


यो नेपालको हकमा नौलो खेल हो । सेपाक ताक्रो भौगोलिक अवस्था अनुसार नेपालका लागि सुहाउँदो खेल छ । यो खेल २८ वर्ष उमेरसम्मका युवायुवतीले सहजै खेल्न सक्छन । यस खेलमा खेलाडीले हात बाहेक शरीरका जुनसुकै अंगले प्रहार गर्नुपर्ने हुन्छ । एउटै खेलाडीले तीन पटक प्रहार गरेर विपक्षीतर्फ बल फ्याँक्न पनि सकिन्छ भने तीन जनाले एकअर्कालाई पास दिएर खेल्न पनि सक्छन ।


सेपाक ताक्रो पाँच विधामा खेलिन्छ । जसमा रेगु, डबल, कवाट, हुक ताक्रो र टीम इभेन्ट रहेका छन । एउटा टीममा रेगुमा ३, डबलमा २, कवाटमा ४ र हुक ताक्रोमा ५ जना खेलाडी हुन्छन । टीम इभेन्टमा भने ए, बि र सि गरी तीन टीम हुन्छन । जसमा ३÷३ जना खेलाडी रहन्छन । पक्ष र विपक्ष टीमका तीनै टीम एकापसमा खेल्छन । अन्र्तराष्ट्रिय रेफ्रिी ठकुल्लाका अनुसार नेपालमा हुक ताक्रो बाहेक सबै विधा खेलिन्छ ।

प्रकाशित मिति: शनिबार, चैत ३०, २०७५  १८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update