Hamro Patra
कैलालीमा निषेधाज्ञा भदौ ३१ गतेसम्मः  केही खुकुलो हुने

टीकापुर, भदौ १७
जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा थप गरेको छ । तर विगतको निषेधाज्ञा भन्दा केही खुकुलो पारेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम निषेधाज्ञा भदौ १९ गते राति १२ बजेदेखी भदौ ३१ गते राति १२ बजेसम्मका थप गरेको हो ।

कोभिड–१९ को संक्रमण बढ्दै केही व्यक्ति संक्रमित हुनुका साथै केहीको मृत्यु समेत भएकाले जनताको जीवन रक्षाका लागि संक्रामक रोग ऐन, २०२० अनुसार थप उपायहरु अवलम्बन गर्नु बाञ्छनीय भएकाले निषेधाज्ञा थप गर्नुपरेको उल्लेख गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जारी गरेको निषेधाज्ञामा आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानून बमोजिम कारवाही गरिने उल्लेख गरेका छन ।

Khadga Memorial And Janajagriti

निषेधाज्ञामा तोकिएका मापदण्डको पालना गरेर जिल्लाभरी जोर बिजोर प्रणाली अनुसार सार्वजनिक तथा नीजि सवारी साधन सञ्चालन गर्ने र सार्वजनिक सवारी साधनमा एक लाइनमा एकजना मात्र हुने गरी आधा मात्रै यात्रु बोक्न पाउने उल्लेख छ ।

त्यस्तै सिटी रिक्सा र अटोको हकमा जोर बिजोर प्रणाली अनुसार यातायात मापदण्ड पालना गरी बढीमा २ जना यात्रु राखेर सञ्चालन गर्नुपर्ने बताईएको छ ।

खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध डेरी, हार्डबेयर, कपडा पसल लगायतका पसल व्यवशाय सञ्चालकहरुले स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्बन गरी बिहान ५ बजेदेखी बेलुका ७ बजेसम्म सञ्चालन गर्ने उल्लेख छ । पसल व्यवशाय सञ्चालन गर्दा ग्राहकहरुको २ मिटरको भौतिक दूरी कायम गरेर मास्क, सेनिटाइजर वा साबुन पानीले हात धुने व्यवस्था हुनुपर्ने बताईएको छ ।

होटल रेस्टुरेन्टहरुले भने अर्डर अनुसारका होम डेलिभरी तथा ग्राहक स्वयम् आएर प्याकिङ गरी लैजाने व्यवस्था गर्नुपर्नेछ । होटलमा भेटघाट तथा जम्मा हुने सेवा भने प्रदान गर्न नपाउने उल्लेख छ ।

सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटी पार्लर, सैलुन सञ्चालन गर्ने नपाइने भएको छ । ठेलागाडा वा साइकलमा हुने फलफूल तरकारीको व्यवसाय सञ्चालन गर्न पाइने छ ।

दैनिक रुपमा गरिने नित्यपूजा प्रार्थना बाहेकका धार्मिक तथा साँस्कृतिक कार्यहरु, मेला, चाडपर्व, जात्रा, हाटबजार, महोत्सव, भेला तथा अन्य सामुहिक गतिविधिमा रोक लगाईएको छ ।

सरकारी तथा सार्वजनिक कार्यालयहरुले आलोपालो गरी न्यूनतम संख्यामा कर्मचारी उपस्थित गराई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्ने उल्लेख छ । जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, यातायात कार्यालयले दैनिक प्रशासनिक काम बाहेकमा रोक लगाउने बताईएको छ ।

बैंक तथा वित्तिय संस्थाहरु सामाजिक दूरी कायम गराई भिडभाड नहुने गरी बिहान ११ देखी २ बजेसम्म सञ्चालन गर्न उल्लेख गरिएको छ । उद्योग भने नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार सञ्चालन हुनेछन ।
यसैगरी राति ९ बजेदेखी बिहान ५ बजेसम्म जिल्लाभर कुनैपनि स्थानमा हिडडुल गर्न नपाइने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update