Hamro Patra
स्थानीयले बनाए कर्णालीमा तटबन्ध

टीकापुर, भदौ १७ 

कैलालीको टीकापुरका स्थानीयहरुले कर्णाली नदीमा अस्थायी तटबन्ध बनाएका छन् । कर्णाली नदीको कटान नियन्त्रणका लागि स्थानीयहरुले नदीमा अस्थायी तटबन्ध बनाएका हुन् । टीकापुर नगरपालिका वडा नं. २ मुलपानीमा तटबन्ध कटान गर्दा नदी टीकापुरमा पस्ने खतरा बढेको थियो ।

रानी, जमरा, कुलरिया कुलासँग आबद्ध विभिन्न गाउँका एक हजार बढी किसानहरुले कटान नियन्त्रणका लागि अस्थायी तटबन्ध बनाएका हुन् । स्थानीय जनशक्ति सामुदायिक वन क्षेत्रमा निर्माण भएको तटबन्ध नदीले कटान गरेको थियो । कटानका कारण राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिचाईं आयोजनाले निर्माण गरेको तटबन्ध भत्किएर कर्णाली फुट्ने अवस्थामा थियो ।

CMA Staff

कर्णाली नदीमा पानीको सतह घटेसँगै कटान तीब्र भएर तटबन्ध भत्किएको हो । तटबन्ध भत्किँदा टीकापुर नगरपालिकाको भुराखानीबाट वडा नं. ५ का अधिकांश भाग, टीकापुर पार्क लगायतका क्षेत्रमा कर्णाली नदी पस्ने खतरा थियो । नदी नियन्त्रणका लागि कुलासँग आबद्ध १८ गाउँका एक हजार बढी किसानहरुले बाँस, काठ, डोरी, कठ्ठा, ग्राभेलको प्रयोग गरेर अस्थायी तटबन्ध निर्माण गरेका हुन् ।

‘विभिन्न कुलासँग आवद्ध १८ गाउँका हजार बढी किसानहरुले बाँस, काठ, डोरीको प्रयोग गरेर कट्ठाहरुमा ग्राभेल भरेर तटबन्ध बनाएका छौं’ ज्ञानी कुला जल उपभोक्ता समितिका सदस्य जोखनलाल चौधरीले भने ‘नदी नै गाउँ पस्ने खतरा बढेपछि कोराना कहरका बिच पनि किसानहरुले तटबन्ध निर्माण गरेका छौं ।’

कर्णाली नदीको बिचमा रहेका टापुहरुमा वर्षेनी बालुवा थुप्रिने गर्दा नदीले धार परिवर्तन गरेर कटान गर्दै आएको छ । कर्णाली नदीले केही दिनयता झण्डै ५० फिट लम्बाई र २० फिट भन्दा बढी चौडाईको तटबन्ध भत्काएको थियो ।

नदीले तटबन्ध कटान गर्दा गाउँ पस्ने खतरा बढेको भए पनि किसानहरुले अस्थायी तटबन्ध निर्माण गरेर नियन्त्रणको प्रयास गरिएको छ । ‘तत्कालका लागि अस्थायी तटबन्ध बनाएर नियन्त्रणको प्रयास सफल भएको छ’ रानी, जमरा, कुलरिया सिचाईं आयोजनाका सिनियर डिभिजन इञ्जिनियर विदुर श्रेष्ठले भने ‘वर्षा सकिएलगत्तै आयोजनाले स्थायी तटबन्ध निर्माणको पहल थाल्नेछ ।’

इञ्जिनियर श्रेष्ठले नदीको बिचमा रहेका टापुहरु सफा नगरे वर्षेनी नदी कटानको समस्या आइरहनेछ । ‘सम्बन्धित नगरपालिका, गाउँपालिका, स्थानीय प्रशासन लगायत सरोकारवालाहरुको समन्वयमा टापु हटाउनै पर्छ’ इञ्जिनियर श्रेष्ठले भने ‘८ शय मिटर फैलिएर बग्नुपर्ने नदी टापुका कारण खुम्चिएर डेढ शय मिटरमा पुगेपछि तटबन्ध भत्किएको हो ।’

राष्टिय गौरबको रानी, जमरा, कुलरिया सिचाईं आयोजना शुरु भएसँगै कर्णाली नदीले कटान गर्दै आएको कमाण्ड क्षेत्रभित्रका जमिन सुरक्षाका लागि तटबन्ध गर्दै आएको छ । अस्थायी रुपमा तटबन्धले रोकथाम हुने भएपनि कर्णाली नदीमा रहेका टापुहरु नभत्काए वर्षेनी तटबन्ध फुट्ने खतरा रहेको छ । कटान नियन्त्रणका लागि समेत टापुहरु हटाउनु पर्ने आवाज उठ्न थालेको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update