Hamro Patra
कैलाली प्रहरी धमाधम फरार अभियुक्त समात्दै

टीकापुुर, भदौ १७
कैलाली प्रहरीले धमाधम फरार अभियुक्त पक्राउ गर्न थालेको छ । उसले पछिल्लो समयमा विभिन्न घटनामा संलग्न रहेर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्दै आएको छ । प्रहरीले अदालतबाट दोषी ठहर भएर लुकिछिपी बस्दै आएका व्यक्तिहरुलाई पक्राउ गर्न थालेको हो ।

सोही क्रममा इलाका प्रहरी कार्यालय टीकापुरले ज्यान मार्ने उद्योगमा १२ वर्षअघि फरार भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जानकी गाउँपालिका दुर्गौलीका ३१ वर्षीय धनबहादुर शाही रहेका छन । उनी माथि २०६५ चैत ३२ गते ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो । उनले २०६५ चैत २८ गते जानकी गाउँपालिका–४ कञ्चनपुरका धनबहादुर चौधरीलाई कुटपिट गरेका थिए । कुटपिटबाट घाईते भएका चौधरीकी आमा धनादेवी चौधरीले शाही उपर ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेकी थिईन ।

ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएपछि शाही फरार रहेका थिए । उनलाई खोजी गर्ने क्रममा जानकी गाउँपालिका बेलासपुरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक अरुण बमले जानकारी दिए ।

Khadga Memorial And Janajagriti

त्यस्तै प्रहरीले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित जन्मकैद भएका एक व्यक्तिलाई समेत पक्राउ गरेको छ । प्रहरीले कैलारी गाउँपालिका–५ का ४८ वर्षीय पुरणप्रसाद कुमाललाई पक्राउ गरेको हो ।

उनी २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए । उनी २०६१ कात्तिक ७ गते कैलारी गाउँपालिका–५ का २३ वर्षका रामबहादुर कुमालको हत्या आरोपमा सर्वस्व सहित जन्मकैद सजाय भई कैलाली कारागारमा रहेका थिए ।

उनले माटोका भाडा बनाउने कोठामा सुतेको समयमा रामबहादुरको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको बताईएको छ । उनलाई प्रहरी टोलीले घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरीले डाँका चोरी मुद्दामा फरार रहेका एक व्यक्तिलाई १६ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–२ का ६२ वर्षका चुलुवा चौधरी रहेका छन ।

उनी लगायतको समूहले २०५८ माघ ४ गते राति हातहतियार सहित नगद र धनमाल डाँका चोरी गरेर फरार भएको थियो । प्रहरीले घटना लगत्तै चौधरीलाई पक्राउ गरी अनुसन्धान गर्दा कैलाली जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो ।

उनी २०६१ माघ २७ गते कैलाली कारागारबाटै फरार भएका थिए । उनलाई २०६६ असार २ गते कैलाली जिल्ला अदालतले ६ वर्ष कैद र चार हजार एक सय ४७ रुपैयाँ ६५ पैसा जरिवाना तोकेको थियो । उनलाई समेत प्रहरीले घरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी प्रतिक बिष्टले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update