Hamro Patra
नदी कटान रोकथामको प्रयास असफल, पानीको बहाव उच्च

टीकापुर, भदौ १५
कर्णाली नदीमा पानीको बहाव उच्च भएपछि कटान क्षेत्रमा भैरहेको रोकथामको प्रयास अफसल भएको छ । आज सशस्त्र प्रहरी र स्थानीयले रोकथामको प्रयास थालेका छन ।

पानीको बहावका कारण रोकथामको काम प्रभावकारी ढंगले अघि बढ्न नसकेको रानी जमरा कुलरीया सिँचाई आयोजनाका सिनियर डिभिजन इन्जिनियर बिदुर श्रेष्ठले जानकारी दिए । उनले पहिलो दिन थप कटान हुन नदिने गरी रोकथामको थोरै मात्र काम सम्पन्न भएको बताए ।

‘अहिले ढुंगा र काठ राखेर कटान रोक्ने प्रयास गरेका छौं’ उनले भने–‘थप रोकथामको प्रयास जारी छ ।’

Khadga Memorial And Janajagriti

उनले थप जनशक्ति जुटाएर रोकथामको काम प्रभावकारी ढंगले अघि बढाउने तयारी भैरहेको बताए । उनका अनुसार स्थानीयको बढी भन्दा बढी सहभागिता जुटाउने प्रयास भैरहेको छ । स्थानीयको सहभागिताका लागि रानी जमरा कुलरीया सिँचाई आयोजना जल उपभोक्ता समितिले जिम्मा लिएको छ । उसले प्रभावित क्षेत्रका बासिन्दालाई नदी कटान रोकथाममा हातेमालो गर्न आग्रह गरेको छ ।

टीकापुर नगरपालिका–२ मुलपानी नजिकै नदीले चार वर्ष अघि निर्माण भएको ५० मिटर तटबन्ध बगाएको छ । नदी सोही ठाउँ हुँदै गाउँ पस्ने खतरा बढेको छ । अहिले भत्किएको तटबन्ध भन्दा पछाडी रहेको माटोको ढिस्कोले नदीको बहावलाई छेकिरहेको छ ।

सो ठाउँ भन्दा झण्डै डेढ किलोमिटर दक्षिणमा निर्माणाधिन तटबन्ध समेत नदीले बगाएको छ । गजुरमुखी सिद्धी शाही प्रकाश जेभीले १९ करोड लागतमा निर्माण गरिरहेको तटबन्ध नदीले बगाएको सिनियर डिभिजन इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार निर्माण सम्पन्न भैसकेको १ हजार ४ सय मिटर मध्ये २ सय मिटर तटबन्ध भत्काएको हो । सो ठाउँमा निर्माण पक्षले नै नदी कटान रोकथामको प्रयास गरिरहेको श्रेष्ठले जानकारी दिएका छन ।

नदी गाउँतर्फ मोडिए थुप्रै बस्तीमा क्षति हुने देखिन्छ । नदीको चपेटामा नुक्लीपुर, शाहीपुर, सिमरेनी, सत्ती, सूर्यपुर, बटनपुर लगायतका दर्जन बढी गाउँ पर्ने सम्भावना रहेको छ ।

नदीले हरेक वर्ष धार परिवर्तन गर्दै आएको छ । कहिले पूर्वतर्फ बर्दिया त कहिले पश्चिमतर्फ कैलालीको भूभाग कटान गर्ने गरेको छ । नदीको मध्य भागमा जमेको ढिस्को (ढुंगा र बालुवाको थुप्रो) का कारण नदीले हरेक वर्ष धार परिवर्तन गर्ने गरेको स्थानीय बताउँछन । यसवर्ष समेत मुलपानी नजिकै नदीको मध्य भागमा ठूलो ढिस्को जमेको छ । जसले नदीको बहावलाई पश्चिमतर्फ धकेलेको छ ।

रानी जमरा कुलरीया सिँचाई जल उपभोक्ता संस्थाका उपाध्यक्ष लालबिर चौधरी नदीको मध्य भागमा जमेका यस्ता ढिस्को हटाउनु पर्ने बताउँछन । उनी यस्ता ढिस्कोले भविष्यमा ठूलो संकट निम्त्याउने सम्भावना रहेको बताउँछन । ‘ढिस्कोले नदीको धार फेरिएको मात्रै हैन नदीको सतह समेत माथि उठेको छ’ उनले भने–‘नदी एकोहोरो बग्ने गरी ढिस्को हटाउनु पर्छ ।’

स्थानीयका अनुसार नदीको धार फेरिनुमा मध्य भागमा जमेको ढिस्को एक मात्रै कारण भने हैन । नदीको अनियन्त्रित दोहनले पनि धार फेरिने गरेको छ । पछिल्ला वर्षहरुमा स्थानीय पालिकाहरुले ढुंगा बालुवा संकलनको ठेक्का दिने गरेका छन । यसरी ठेक्का पाएका व्यक्तिहरुले नदीको अनियन्त्रित दोहन गर्ने गरेका छन । जसले नदीको धार फेर्नमा मुख्य भूमिका निर्वाह गर्ने गरेको पाईएको छ ।

उपाध्यक्ष चौधरी ढुंगा बालुवा संकलनको ठेक्का दिँदा र संकलन गर्दा स्थानीय पालिकाले ध्यान दिनुपर्ने बताउँछन । उनी बर्दिया र कैलालीतर्फका सबै स्थानीय पालिकाको सहमतिमा ढुंगा बालुवा संकलन हुनुपर्ने सुझाव दिन्छन ।
कर्णाली नदीसँग बर्दियातर्फ राजापुर नगरपालिका र गेरुवा गाउँपालिका जोडिएका छन भने कैलालीतर्फ टीकापुर, नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिका जोडिएका छन । कर्णाली नदीको जोखिम व्यवस्थापन र उपभोग ती सबै पालिकाको साझा मुद्दा बन्नुपर्ने स्थानीय बताउँछन ।

 

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update