Hamro Patra
कर्णाली नदीको कटान तीब्र

टीकापुर, भदौ १४

कैलालीको टीकापुर नगरपालिका वडा नं. २ स्थित कर्णाली नदीले कटान तीब्र पारेको छ । स्थानीय जनशक्ति सामुदायिक वन क्षेत्रमा कर्णाली नदीले कटान तीब्र पारेको हो ।

Khadga Memorial And Janajagriti

कटानका कारण राष्ट्रिय गौरबको रानी, जमरा, कुलरिया सिचाईं आयोजनाले गरेको तटबन्ध भत्किरहेको छ । कर्णाली नदीमा पानीको सतह घटेसँगै कटान तीब्र भएर तटबन्ध भत्किएको हो । केही दिनअघिबाट नदीले कटान शुरु गरेको हो । नदीले तीन दिनयता मात्रै २० फिट भन्दा बढी तटबन्ध कटान गरिसकेको जनशक्ति सामुदायिक वनका सदस्य उदयकुमार सुनारले बताए ।

आयोजनाले बनाएको तटबन्धको २० फिट चौडाईमा नदीले कटान गरेको छ । सो क्षेत्रमा नदीले कटान गर्र्दै गए वडा नं. ५, टीकापुर पार्क लगायतका अधिकांश भागमा कर्णाली नदी पस्ने खतरा छ ।

नदीमा पानीको सतह घट्दै जाँदा तटबन्ध कटान भइरहेको टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावलले बताए । ‘नदीमा पानीको सतह घटिरहेको छ, पानी घट्दा कटान तीब्र रुपमा भइरहेको छ’ रावलले भने ‘यही रफ्तारमा कटान भए कर्णाली नदी टीकापुर पार्क क्षेत्रमा फर्किने खतरा छ ।’

नदीले कटान तीब्र पारेपछि आज इलाका प्रशासन कार्यालय टीकापुर, टीकापुर नगरपालिका, रानी, जमरा, कुलरिया सिचाईं आयोजना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले कटानको निरीक्षण गरेको छ । नदीले दिनप्रतिदिन कटान तीब्र पार्न थालेपछि कटान नियन्त्रणका लागि पहल थालिने इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख शंकर विष्टले बताए ।

‘नदीले कटान गरिरहेको छ, बस्तीमा नदी पस्ने खतरा छ, यसलाई नियन्त्रण गर्न हामी सबै मिलेर अस्थायी ड्याम निर्माण गर्ने तयारीमा छौं’ विष्टले भने ‘नदीको बहाव तटबन्ध क्षेत्रमा फर्किएपछि कटान तीब्र भएको हो ।’

यता, टीकापुर नगरपालिकामा आजै बसेको विपद् व्यवस्थापन समितिको बैठकले सुरक्षाकर्मी, स्थानीयबासी, सामुदायिक वनका उपभोक्ता, कुला समितिका उपभोक्ता तथा नगरपालिकाको संयुक्त रुपमा रोकथामका लागि पहल गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १४, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update