Hamro Patra
डाँका चोरी मुद्दाका चारजना लामो समयपछि पक्राउ

टीकापुर, भदौ १२
कैलाली प्रहरीले डाँका चोरी मुद्दाका चार जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिकाका ३ र भजनी नगरपालिकाका १ जना रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ परेका मध्ये जोशीपुर गाउँपालिका–६ का ४५ वर्षका रोगाही भनिने करन थापा आठवटा घटनामा संलग्न रहेका छन । उनलाई ८७ वर्ष कैद सजाय र ४४ हजार १५३ रुपैयाँ जरिवाना तोकिएको छ । उनी २०५७ फागुन ३० गते पक्राउ परेर २०६१ माघ २७ गते कैलाली कारागारबाट भागी फरार भएका थिए ।

Khadga Memorial And Janajagriti

यस्तै जोशीपुर गाउँपालिका–३ का ४९ वर्षका रोहिना भन्ने भगत चौधरी समेत ६ वर्ष कैद र ४५ हजार जरिवाना तोकिएका अभियुक्त हुन । उनी समेत २०५७ फागुन ३० गते पक्राउ परेका र २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए । उनी एउटा चोरीको घटना संलग्न रहेका थिए ।

जोशीपुर गाउँपालिका–४ का ३८ वर्षका कालु भनिने गुनसिँह कठरीया समेत पक्राउ परेका छन । उनी चारवटा डाँका चोरी घटनामा संलग्न रहेका थिए । उनलाई ३९ वर्ष कैद र १४ हजार ७० रुपैयाँ जरिवाना तोकिएको थियो । उनी २०५७ माघ १८ गते साविक दोदोधरा गाविस– ७ स्थित चोरीको घटनामा संलग्न रहेर फरार रहेका थिए ।

अर्का भजनी नगरपालिका–६ का ४७ वर्षका टीकाराम चौधरी ५ वटा डाँका चोरी मुद्दाका फरार अभियुक्त हुन । उनलाई ३८ वर्ष कैद र ९ हजार ८४० रुपैयाँ जरिवाना तोकिएको थियो । उनी २०५७ चैत १५ गते साविक थापापुर गाविस भवनमा आगजनी गरेर फरार भएका थिए ।

उनीहरुले ७/८ जनाको समूह बनाई रातिको समयमा भरुवा बन्दुक, खुकुरी र लठ्ठी जस्ता हतियार देखाएर लुटपाट गर्ने गरेको प्रहरीको भनाई छ । प्रहरीले उनीहरु सबैलाई कैलाली जिल्ला अदालतमा पेश गरेको प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले जानकारी दिए ।

 

प्रकाशित मिति: शुक्रबार, भदौ १२, २०७७  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update