Hamro Patra
आजदेखि गौरा पर्व शुरु

टीकापुर, भदौ ७
शुक्ल पक्षको पञ्चमीका दिन घर घरमा बिरुडा राखेर आजदेखि सुदूरपश्चिम प्रदेशमा गौरा पर्व शुरु भएको छ । महिलाहरुले बिहानै स्नान गरी घरको एक कोठामा गाईको गोबरले लिपेर तामा र पितलका भाँडाको बाहिरपट्टि ५ ठाउँमा गाईको गोबर र दुबो लगाई टीका अक्षताले सिङ्गारेर बिरुडा राखिन्छ ।

बिरुडामा धुप बत्ती बालेर पञ्च अन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखी भगवान महेश्वरको आह्वान गरी विरुडा राख्ने कार्य गरिएको स्थानीय रमेश पाण्डेयले बताए । महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला र नदीका मुहानमा बिरुडा भिजाउने कार्य गरेको पाण्डेयले बताए ।

षष्ठीका दिन पञ्च वनस्पति ९ धान, साँउ, तिल, बेल र पातीको पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने विवाहित महिलाले गौरा पर्वमा व्रत बसी कण्ठसूत्र (दुव धागो) धारणा गर्नुपर्ने र पुरुषसरह गायत्री जप गरी भोजन ग्रहण गर्ने प्रचलन छ ।

Khadga Memorial And Janajagriti

सप्तमीका दिन महिलाले दिनभरि व्रत बसेर आफ्नो परिवारको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन छ । सातवटा गाँठो पारिएको दुबोसहितको कण्ठसूत्र पञ्चगव्य अभिषेक गरी गौराको खुट्टामा राखिन्छ ।

अष्टमीका दिन रङ्गीचङ्गी कपडामा सजिएका महिलाले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले सिङ्गारेर महेश्वरको प्रतिमासँगै बाहिर ल्याएर आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेबाली परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाँच्ने गर्दछन् । यसै अवसरमा देउडा खेल खेलेर रमाइलो गरिन्छ ।

अठेबालीका दिन आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेबाली भन्ने गरिएको सुदूरपश्चिमेली संस्कृतिका जानकार मानसिंह भण्डारीले बताए । अठेवाली गीत गाउदा महिलाहरुले एकले अर्काको कान्छी औंला अठ्याएर समाती गोल घेरा बनाई परम्परागत तरिकाले नृत्य र गीत प्रस्तुत गर्ने गर्दछन् ।

यसै अवसरमा गौराको पहिलो दिन पाँच अन्न भिजाएर बनाएको बिरुडा गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ । 

हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको भण्डारीको भनाइ छ । पार्वतीले शिव पति पाए झैं अविवाहित युवती शिव जस्तै पति पाउन भनी व्रतबस्ने गर्दछन् ।

 

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update