टीकापुर, भदौ ५
मोवाइलमा प्रयोग हुने अवैध सामान सहित पक्राउ परेका भारतीय नागरिकलाई प्रहरीले कारवाहीका लागि चलान गरेको छ । टीकापुर नगरपालिका–१ बाट हिजो पक्राउ परेका ३४ वर्षका चाँद अलीलाई प्रहरीले बरामद सामान सहित आज सत्ती भन्सार कार्यालयमा बुझाएको छ ।
भारतको खिरी जिल्ला तिकुनीयाँका अली विगत लामो समयदेखी टीकापुरमा बसेर मोवाइलमा प्रयोग हुने सामानको अवैध कारोवारमा संलग्न रहेको सुराकीका आधारमा पक्राउ परेका थिए ।
उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अवैध सामान सहित पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले १६ लाख ८९ हजार ६०० बराबरको मोवाइलमा प्रयोग हुने सामान बरामद गरेको छ । इप्रका टीकापुरका प्रमुख मधुसुदन न्यौपानेले १ हजार २६७ थान मोवाइलमा प्रयोग हुने डिस्प्ले बरामद भएको जानकारी दिए ।
उनी विगत २० वर्षदेखी टीकापुरमा बसेर यस्तै कार्यमा संलग्न रहेको आशंका प्रहरीको छ । उनलाई प्रहरीको टोलीले धेरै समयदेखी अनुसन्धान गरिरहेको थियो । स्रोतका अनुसार उनले लकडाउनकै बिचमा करिव पाँच लाख बराबरको मोवाइलमा प्रयोग हुने सामान अवैध रुपमा भित्र्याएका थिए ।