Hamro Patra
टीकापुर नगरपालिकाद्धारा कोरोना खर्च सार्वजनिक

टीकापुर, साउन २३
टीकापुर नगरपालिकाले कोरोना व्यवस्थापनमा भएको खर्च सार्वजनिक गरेको छ । नगरपालिकाले पत्रकार सम्मेलन गर्दै कोरोना संक्रमणपछि भएको क्वारेन्टाइन व्यवस्थापन, राहत वितरण, आइसोलेसन तथा उपचार खर्च सार्वजनिक गरेको हो ।

नगर प्रमुख तपेन्द्र रावलले कोरोना व्यवस्थापनका विभिन्न शीर्षकमा भएको खर्चहरु तथा नगरपालिकामा प्राप्त सहयोग रकमहरु सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकाले २ करोड ७८ लाख ६६ हजार ४ रुपैयाँ खर्च गरेको छ । जसमा सबैभन्दा बढी १ करोड ३ लाख ४ हजार ८ शय ३८ रुपैयाँ कोरोना संक्रमण रोकथाम, उपचार तथा क्वारेन्टाइन व्यवस्थापनमा शीर्षकमा खर्च भएको छ ।

त्यस्तै लकडाउन अवधिमा ९ वटै वडामा गरिएको राहत वितरणमा ७९ लाख ३५ हजार ५ शय १० रुपैयाँ खर्च भएको छ । क्वारेन्टाइन व्यवस्थापनका लागि सामग्री खरिदमा १५ लाख, १२ हजार ८ शय ७४, आइसोलेसन व्यवस्थापनमा १० लाख ४० हजार, सूचना प्रवाहमा ७८ हजार ९ शय, इन्धनमा ९ लाख ५१ हजार ६ शय ४८ रुपैयाँ खर्च भएको जनाएको छ ।

Khadga Memorial And Janajagriti

त्यस्तै कोरोना रोकथामका लागि सञ्चालन गरिएका सवारी साधनको मर्मत सम्भारमा ५ लाख २ हजार ३ शय ९९, विविध खर्चमा १ लाख ६७ हजार, क्वारेन्टाइन व्यवस्थापनमा खटिएका कर्मचारीको विमाका लागि ६३ हजार, खटिएका कर्मचारीहरुको जोखिम भत्तामा ३२ लाख ७८ हजार ५ शय ३३, यातायात भाडामा ६६ हजार रुपैयाँ खर्च गरेको छ ।

कोरोना चेकजाँचका लागि भिटिएम, आरडीटी, पीपीई खरिदमा १२ लाख ३८ हजार ८ शय ७५ र समुदायमा स्वयम्सेवक परिचालनका लागि ७ लाख २६ हजार २ शय ८५ रुपैयाँ खर्च गरेको छ ।


पत्रकार सम्मेलनमा नगर प्रमुख रावलले कोरोना विपद् व्यवस्थापनका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त सहयोगसहितको ३ करोड २५ लाख ४४ हजार ५ शय २२ रुपैयाँ प्राप्त भएको जानकारी दिए ।

विभिन्न व्यक्ति तथा संस्थाबाट ११ लाख २७ हजार ७ शय ७८, नगरपालिकाका कर्मचारीहरुबाट ४ लाख ३५ हजार ३ शय ५८, टीकापुर नगरभित्रका सामुदायिक विद्यालयमा शिक्षक कर्मचारीबाट ८ लाख ४ हजार ७ शय ६८, टीकापुर नगर विकास समितिका कर्मचारीबाट १३ हजार ८ शय ५६ रुपैयाँ सहयोग प्राप्त भएको थियो ।

त्यस्तै संघीय सरकारबाट १४ लाख २० हजार १ शय, प्रदेश सरकारबाट ५३ लाख ४० हजार र टीकापुर नगरपालिकाबाट २ करोड ३४ लाख २ हजार ६ शय ६२ रुपैयाँ विपद् व्यवस्थापन कोषमा प्राप्त भएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाहरुले गरेको जिन्सी सामानहरुको समेत विवरण पेश गरिएको थियो । नगरपालिकाले ७ हजार २ शय १६ घरपरिवारलाई राहत वितरण गरेको थियो । नगर प्रमुख रावलले आफूहरुले सकेसम्म खर्च न्यूनिकरणमा ध्यान दिएको बताए ।

पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै रावलले तत्काल क्वारेन्टाइन निर्माणको कुनै योजना नभए पनि संक्रमितहरुको संख्या बढ्दै गएको प्रति नगरपालिका चिन्तित रहेको बताउँदै भारत लगायतका देशबाट आएकाहरुलाई नगरपालिकाको सम्पर्कमा आइदिन आग्रह गरे । जानकारी विना नै होम क्वारेन्टाइन भन्दै घर बस्नेहरुबाट कोरोनाको जोखिम बढ्न सक्नेप्रति सचेत रहन आग्रह गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  १६:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update