Hamro Patra
प्रचण्ड निवासका छ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ, प्रधानमन्त्री ओली समेत संक्रमितको सम्पर्कमा

काठमाण्डौं, साउन २२
नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा ड्युटीमा बसेका प्रहरीमा कोरोना देखिएको छ । प्रचण्डको सचिवालयका अनुसार ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो ।

‘निवासको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ भेटिएको हो’, सचिवालयले भनेको छ–‘उहाँलाई स्कर्टिङ गर्ने सुरक्षाकर्मीमा भने कोरोना नेगेटिभ भेटियो ।’

Khadga Memorial And Janajagriti

प्रचण्ड निवासका सुरक्षाकर्मीहरूको नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कोरोना जाँच गरिएको थियो ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली समेत कोरोना संक्रमितको सम्पर्कमा रहेको भेटिएको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री ओली उनको सम्पर्कमा रहेको पाईएको छ ।

मन्त्री यादव साउन १४ प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए । समितिमा रहेका प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा लगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको टेस्टिङ गाइडलाइन अनुसार संक्रमितसँग सम्पर्कमा आएका व्यक्ति सम्भावित संक्रमित हुन् र उनीहरुको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्नुपर्छ ।

मन्त्री यादवले साउन १९ गते स्वाब दिएका थिए । उनीसँगै चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।


फोटो: प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्र यादवसहित प्रधानमन्त्री केपी शर्मा ओली । साभारः अनलाइन खबर

प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update