Hamro Patra
सुदूरपश्चिममा थपिए ४३ कोरोना संक्रमित

टीकापुर, साउन २१
सुदूरपश्चिममा आज थप ४३ जना कोरोना संक्रमित भेटिएका छन । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा थप कोरोना संक्रमित भेटिएका हुन ।

पछिल्लो २४ घण्टामा डडेल्धुरा प्रयोगशालामा चार सय नौँ जनाको कोरोना परीक्षण गरिएकोमा ११ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज इश्वरी भुषालले जानकारी दिए । ती सबै बझाङ जिल्लाका हुन् ।

Khadga Memorial And Janajagriti

यता सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय ८६ जनाको कोरोना परीक्षण भएकोमा ३२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार कैलालीका २१, अछामका सात, बझाङका तीन र कञ्चनपुरका एक जना गरी ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार सबैभन्दा धेरै लम्कीचुहा नगरपालिकाका ९ महिला र ८ पुरुष गरी १७ जनामा कोरोना पुष्टि भएको छ । यता टीकापुर नगरपालिकाका ३४ बषीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार दुई सय ४८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डोटीका सात सय ८२, अछाममा सात सय २८, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कञ्चनपुरका पाँच सय ६९, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९५, बझाङका दुई सय ९३ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका झण्डै तीन हजार तीन सय जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०७७  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update