Hamro Patra
बाढी प्रभावित क्षेत्रमा पशुचौपाया मर्न थाले

टीकापुर, साउन २०
कैलालीको दक्षिणी बाढी प्रभावित क्षेत्रमा पशुचौपाया मर्न थालेका छन । स्थानीयका अनुसार पशुचौपायामा संक्रमण फैलिएको छ ।

भजनी नगरपालिका–८ खल्लाटोलकी लक्ष्मी विकको ब्याउने भैँसी मरेको छ । अघिल्लो दिन बिरामी परेको भैँसी पछिल्लो दिन मरेको हो । बाढीका कारण घरको सबै खाद्यान्न गुमाएकी विकले भैँसी समेत गुमाउनु परेको छ ।

Khadga Memorial And Janajagriti

उनी भैँसी मरेपछि निकै दुःखमा छिन । दूध बेचेर भएपनि घरपरिवारको खर्च चलाउने आशमा रहेकी विकले ब्याउने भैँसी गुमाउनु पर्दा निकै पीडा थपिएको बताईन ।

त्यस्तै भजनी नगरपालिका–८ कै काँडाढिकका कटक शाहको राँगा मरेको छ । उनको राँगा समेत एक्कासी बिरामी परेर मरेको बताईएको छ । खेत जोत्ने राँगा मरेपछि उनी समेत समस्यामा परेका छन ।

स्थानीय जयप्रसाद ढुंगानाले धेरै व्यक्तिका पशुचौपाया मर्न थालेको बताए । उनले केही व्यक्तिका पशुचौपाया मरेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि धेरै व्यक्तिले आफ्नो पशुचौपाया समेत मरेको भन्दै खबर गर्न थालेको बताए । ‘मलाई धेरैले हाम्रो गाउँमा समेत पशुचौपाया मरेको भनेर खबर गरेका छन’ उनले भने–‘धेरै किसानले पशुचौपाया गुमाईरहेका छन ।’

उनले तत्काल औषधी उपचार नपाए अझ धेरै पशुचौपाया मर्न सक्ने सम्भावना रहेको बताए । पशुचौपायामा विभिन्न खालका लक्षण देखिने गरेका छन । किसानहरुले बाढी प्रभावित क्षेत्रमा पशु चिकित्सकको टोली खटाई दिन माग गरेका छन ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update