Hamro Patra
बुढीगंगा जलविद्युत आयोजनाको डिपिआर स्विकृत

अछाम, साउन १७
अछामको बुढीगंगा जलविद्युत आयोजना निर्माणको बाटो खुलेको छ । अध्ययन सुरु भएको २५ वर्षपछि विस्तृत परियोजना प्रतिवेदन तयार भएसँगै आयोजना निर्माणको बाटो खुलेको हो । गत आर्थिक बर्षको अन्त्यमा डिपिआर स्वीकृत भएको छ ।

सरकार आफैले निर्माण गर्ने २० मेगावाट क्षमताको बुढिगंगा जलविद्युत आयोजनाको निर्माणका लागि २०५२ सालदेखि नै अध्ययन सुरु भएको थियो । डिपिआर तयार हुन समय लागेपछि आयोजना निर्माणको काम अन्यौलमा थियो ।

Khadga Memorial And Janajagriti

अष्ट्रेलीयन कम्पनी स्मेक र नेपालको उदय कन्सल्टेन्सीले बुढिगंगाको डिपिआर बनाएकोमा सरकारले स्वीकृत गरेको आयोजनाकी प्रवक्ता ईन्जिनियर पुनम पाण्डेयले जानकारी दिईन ।

‘डिपिआर स्वीकृत भएसंगै ठेक्काका लागि कागजात तयार पारिरहेका छौ’ उनले भनिन–‘एक डेढ महिनाभित्रै कागजात तयार पारेर ठेक्काको प्रक्रिया अगाडि बढाउने योजना छ ।’

जलविद्युत आयोजनाको डिपिआर ढिलो गरी तयार भएपनि आयोजना स्थल सम्म पुग्ने ७ सय ६७ मिटर सडक र पुल निर्माणको कार्य भने सम्पन्न भैसकेको छ । कार्यालय भवनको निर्माण यसअघि नै सकिएको थियो । आयोजनामा साउदी विकास कोषले ३ अर्ब २० करोड र कुवेत विकास कोषले एक अर्ब ८० करोड ऋण लगानी गर्ने र बाँकी अपुग रकम नेपाल सरकारले लगानी गर्ने योजना रहेको छ ।

आयोजनाको निर्माण वि.सं. २०८० भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बुढीगंगा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा खपत हुने र बाँकी विद्युत कैलालीको पहलमानपुर सम्म पुगाएर केन्द्रिय प्रशारण लाइनमा जोड्ने लक्ष्य छ ।

प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update