Hamro Patra
कर्णाली पुल बेवारिसे

योगेश रावल
टीकापुर, २९ चैत
पर्यटकीय हिसाबले समेत महत्वपूर्ण चिसापानीस्थित कर्णाली पुल बेबारिसे अवस्थामा छ । डेढ वर्षदेखी पुलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी हटाईएको छ । सडक बोर्डले बजेट कटौती गरेपछि सडक डिभिजन कार्यालय बाँकेले पुलको सुरक्षार्थ खटिएका नौ जना सुरक्षाकर्मी हटाएको छ । पुल निर्माणसँगै कार्यालयले वर्षेनी करारमा सुरक्षाकर्मी खटाउने गथ्र्यो । ती सुरक्षाकर्मीका लागि सडक बोर्डले वर्षेनी करिव १२ लाख रुपैयाँ बजेट छुट्याउने गरेको थियो ।


सडक बोर्डले द्वन्द्वकालमा पुलमा कुनै किसिमको क्षति नपुगोस् भनेर सुरक्षाको व्यवस्था गरेको थियो । देशमा द्वन्द्वकाल सकिएको लामो समयसम्म समेत पुलको सुरक्षार्थ करारका सुरक्षाकर्मी खटिएका थिए । बोर्डले गत आर्थिक वर्षदेखी बजेट उपलब्ध गराउन नसकिने भनेपछि सडक डिभिजन कार्यालय बाँकेले करारका सुरक्षाकर्मीको लागि टेण्डर आह्वान रोकेको छ । ‘हामीले हरेक वर्ष करारका सुरक्षाकर्मी मागेर सोही अनुसार सुरक्षाको व्यवस्था हुन्थ्यो’ सडक डिभिजन कार्यालय बाँकेका प्रमुख रामकुमार देवले भने–‘गतवर्षदेखी बजेट अभावले त्यसो गर्न सकिएन ।’ उनले सडक बोर्डमा पुलको सुरक्षा आवश्यक छैन भन्ने खालको रिपोर्टिङ भएका कारण त्यसो भएको हुनसक्ने बताए । उनले पुल बेबारिसे बनेको प्रति कार्यालय गम्भिर रहेको बताउँदै सुरक्षाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Khadga Memorial And Janajagriti

पुलको सुरक्षार्थ खटिएका करारका सुरक्षाकर्मी हटेपछि पुल जीर्ण बन्दै गएको छ । दिनहुँ सयौंको संख्यामा सर्वसाधारण पुल हेर्न आउँछन । दशैंतिहार, नयाँवर्ष लगायतका अवसरमा पुल हेर्न आउनेको संख्या हजारौं पुग्छ । दिनहुँ सयौंको संख्यामा सवारी साधन ओहोर दोहोर गर्छन । पुलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सर्वसाधारणको पुलमाथिको ओहोर दोहोरलाई निगरानी गर्नुका साथै सवारी साधनको रेकर्ड समेत राख्थे । उनीहरुले सर्वसाधारणलाई पुल माथि कुनै उच्छृङ्खल गतिविधि गर्न रोक लगाउँथे । सुरक्षा व्यवस्था हटेपछि बेबारिसे बनेको मात्रै हैन पुल निर्माणको लामो समयदेखी रंगरोगन र मर्मत सम्भार नहुँदा जीर्ण समेत बनेको छ । यो पुल २०४९ सालमा निर्माण भएको हो । निर्माण भए पश्चात अहिलेसम्म पुल रंगरोगन र मर्मत सम्भार हुन सकेको छैन ।


रंगरोगन र मर्मत सम्भारको अभावमा पुलका ठाउँ ठाउँमा खिया लागेर सौन्दर्य हराएको छ । पुलका ‘नट बोल्ट’ हल्लिनुका साथै ‘सपोर्टिङ’ तार चुँडिएका छन । जसका कारण पुल कमजोर बन्दै गएको छ । माओवादी द्वन्द्वका क्रममा चिसापानीमा लडाकु र सेनाबीच भिडन्त भएको थियो । सो भिडन्तका क्रममा पुलमा गोली लागेर क्षति पुगेको थियो । गोली लागेर प्वाल परेका निशान अहिले पनि देख्न सकिन्छ । पुलको पूर्वतर्फका तीनवटा तार हावा चल्दा समेत अस्वभाविक रुपमा हल्लिने गरेको लम्की उद्योग वाणिज्य संघका महासचिव लब शाहीले जानकारी दिए । उनले पुलको ब्यालेन्स हेर्नका लागि तारमा जोडिएका ‘बल’ समेत खस्न थालेको बताए । ‘रंगरोगन र मर्मत सम्भारको अभावमा पुल निकै कमजोर भैसकेको छ’ उनले भने–‘कुनैदिन ठूलो दुर्घटना हुन बेर छैन ।’


पुल हेर्नकै लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक आउने गरेका छन । यसका अलावा भारतको उत्तर प्रदेश र उत्तराखण्डका विभिन्न शहरबाट समेत भारतीय नागरिक चिसापानी पुग्ने गरेका छन । उनीहरु एशियाकै नमूना पुल हेर्नका लागि आउने गरेको बताउँछन । पुल निर्माण भएपछि चिसापानीले व्यवशायीक रुपमा समेत फड्को मारेको छ । सरकारले चिसापानीलाई पर्यटकीय क्षेत्र समेत घोषणा गरेको छ । तर पछिल्लो समयमा पुल जीर्ण बनेपछि आकर्षण हराउँदै गएको स्थानीय होटल व्यवशायी नविन भुजेल बताउँछन । उनले पुलको सुन्दरता हराएसँगै चिसापानीको महत्व समेत हराउने खतरा रहेको बताए ।


निकै महत्वको मानिने पुल मर्मतमा सम्बन्धित पक्षले चाँसो दिएको छैन । यसको रेखदेखको जिम्मेबारी सडक डिभिजन कार्यालय बाँकेलाई छ । कार्यालयले पुलको मर्मत आफ्नो क्षमता भन्दा बाहिर भएको बताउँदै आएको छ । ‘पुलको मर्मत हाम्रो हातबाट सम्भव छैन’ कार्यालय प्रमुख देवले भने–‘बाहिरबाटै प्राविधिक ल्याउनुपर्ने अवस्था छ ।’ कार्यालयले पुल जीर्ण बन्दै गएको बारेमा विभागलाई पत्राचार गरेको छ । विभागले विश्व बैंकलाई मर्मत र रंगरोगनका लागि सहयोग मागेको छ । विश्व बैंकको एक टोलीले पुलको अवस्था निरिक्षण गरेर फर्केको कार्यालय प्रमुख देवले जानकारी दिए । उनका अनुसार पुल रंगरोगन र मर्मतमा मात्रै करोडौं रुपैयाँ खर्च हुनेछ ।


यो पुल जापानीज कम्पनी कावासाकीले निर्माण गरेको हो । एउटै पिल्लरमा ठड्याईएको पुलले तत्कालिन समयमा सुदूरपश्चिमलाई देशका बाँकी भूभागसँग जोडेको थियो । त्यसअघि नदी पार गर्न फेरी चढ्नु पथ्र्यो । सवारी साधन लगायत फेरी मार्फत वार पार गर्थे ।

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०७५  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update