Hamro Patra
राष्ट्रिय राजमार्गको कन्तबिजोगः चिसापानीदेखी अत्तरीयासम्म सयौं खाल्डा

योगेश रावल
टीकापुर, साउन १६
पूर्वपश्चिम राजमार्ग अन्र्तगत कैलालीको चिसापानीदेखी अत्तरीया सडक खण्ड जीर्ण बनेको छ । सो सडक खण्डको ७९ किलोमिटरमा सयौं ठाउँमा खाल्डा परेका छन ।

मुडा, सुख्खड, मसुरीया, राजिपुर लगायतका ठाउँको सडकको अवस्था अझ धेरै दयनीय छ । ती ठाउँमा सडकमै भैसीँ आहाल बस्ने भन्दा ठूला खाल्डा छन । सडकको जीर्ण अवस्थाले यातायात सञ्चालनमा निकै कठिनाई हुने गरेको छ । साना सवारी साधन सडकमा गुड्न समेत समस्या हुने गरेको सरोकारवाला बताउँछन ।

मर्मतको काम नियमित हुन नसक्दा सडकको अवस्था झनझन बिग्रदै गैरहेको छ । स्थानीयले सडक मर्मतमा राज्यका तर्फबाट कुनै पहल नभएको आरोप लगाएका छन । उनीहरुले देशको एकमात्र राष्ट्रिय राजमार्गको अवस्था दयनीय हुनु लाजमर्दो भएको बताए । घोडाघोडी नगरपालिका सुख्खडका बासिन्दा रमेश न्यौपानेले राजमार्ग र ग्रामीण सडकबीच कुनै भिन्नता नभएको बताए । ‘राजमार्ग र गाउँका बाटामा कुनै फरक छैन’ उनले भने–‘साना गाडी खाल्डामै फस्ने गरेका छन ।’

Khadga Memorial And Janajagriti

तर सडक डिभिजन महेन्द्रनगरले आवधिक मर्मत कार्य जारी रहेको बताएको छ । उसले चिसापानी, लम्की, बौनीया, अत्तरीया, बनबेहडा, पहलवानपुर लगायतका ठाउँमा मर्मत कार्य सम्पन्न भैसकेको जानकारी दिएको छ ।

कार्यालयले मर्मतको ठेक्का २०७५ फागुनमै दिएको थियो । सडक मर्मतको ठेक्का कालिका÷जोशी जेभीले पाएको छ । सम्झौतामा उसले तीन वर्ष भित्र मर्मतको काम सक्नुपर्ने उल्लेख छ ।

कार्यालयले हरेक ५ वर्षमा राजमार्गको आवधिक मर्मत गर्दै आएको छ । राजमार्गको अवस्था बिग्रियो भने त्यो भन्दा अघि पनि आवधिक मर्मतको काम हुने गरेको सडक डिभिजन महेन्द्रनगरका प्रमुख अर्जुनकुमार बम बताउँछन । उनले यसका अलावा राजमार्गको मर्मत र रेखदेखको काम नियमित हुने गरेको बताए ।

उनका अनुसार राजमार्ग छेउछाउमा झारपात उखेल्ने काम नियमित हुन्छ । त्यस्तै स–साना खाल्डा पुर्ने काम वर्षमा दुई पटक ठेक्का गरिन्छ । ‘एउटा वर्षायाम लाग्नु अघि र अर्को वर्षायाम सकिए पछि ठेक्का गरिन्छ’ उनले भने–‘सडकको अवस्था हेरेर त्यो भन्दा धेरै पटक पनि गरिन्छ ।’

उनले वर्षा लागेका कारण तत्काल सडक मर्मतको काम रोकिएको जानकारी दिए । उनका अनुसार लकडाउनले समेत मर्मतको काम प्रभावित बनाएको छ । ‘लकडाउनले कामदार अभाव भयो । सिराहाबाट कामदार ल्याएर काम गर्दा समयमा काम हुन सकेन’ उनले भने–‘वर्षामा गरेको काम बलियो नहुने भएर रोकिएको छ ।’

उनले सडकको अवस्था प्रति स्थानीयको आक्रोश स्वभाविक भएको बताए । उनका अनुसार आगामी तिहार भन्दा अघि मर्मतको सबै काम सम्पन्न हुनेछ ।

झापाको काकडभिट्टादेखी कञ्चनपुरको गड्डाचौकीसम्मको एकमात्र राष्ट्रिय राजमार्ग वि.सं. २०१९ सालमा निर्माण सुरु भएको हो । यसको लम्बाई झण्डै १०२७ किलोमिटर छ । चिसापानीदेखी अत्तरीयाहुँदै गड्डाचौकीसम्मको १२४ किलोमिटर सडक खण्ड निर्माण भएको समेत करिव ३५ वर्ष पुगेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update