Hamro Patra
बाढी पीडित भोकै प्यासै, कैयौं गाउँ अझै डुबानमा

  टीकापुर, साउन १५

भजनी नगरपालिका–८ सुनाहाफाँटाकी ८४ वर्षीया रत्नकला पाण्डेले बितेका २४ घण्टा भोकै प्यासै बिताईन । बाढीले चुर्लुम्म डुबेको घरमा उनी एक्लै थिईन । पथरैया नदीको बाढीले गाउँ डुब्न थालेपछि सबैजना सुरक्षित स्थानतर्फ लागे । उनका आफन्तका अनुसार वृद्धा पाण्डेलाई बोकेर सुरक्षित स्थानतर्फ लैजान सकिएन । उनीहरुले वृद्धा पाण्डेलाई घरको माथिल्लो तलामा छोडेर हिँडे । वृद्धा पाण्डेले एकदिन एकरात एक्लै बिताईन । घरको तल्लो तला बाढीले चुर्लम्म डुबेको थियो भने उनी माथिल्लो तलामा भोकै प्यासै थिईन । ‘रातभर पानी प्यासले छट्पटाए’ उनले भनिन्–‘बाँच्छु भन्ने आशै थिएन ।’ आज बिहान बाढी कम भयो । उनका नातीले पिठ्यूँमा बोकेर ल्याए । जब उनले हुलाकी सडकमा बसेका आफन्तसँग भेटिन खुशीको सिमा नै रहेन । उनले आफन्तसँगको भेटले भोक प्यास सबै मेटिएको बताईन ।

Khadga Memorial And Janajagriti

बाढी प्रभावित क्षेत्रका केही मानिसहरु हुलाकी सडकमा बसेका छन । उनीहरु हिजो बिहानपख आएको बाढीले ज्यान जोगाएर त्यहाँ पुगेका हुन । ती मध्ये धेरैजसोले शरीरमा भएको लुगा बाहेक केही जोगाउन सकेनन् । उनीहरुको घरमा भएको अन्नपात र लुगाकपडा सबै बाढीले बगाएको छ । उनीहरु हुलाकी सडकमा भोकभोकै बसिरहेका छन । ‘एक प्याकेट चाउचाउ र बिस्कुटको भरमा बाँचेका छौं’ स्थानीय रेसमकला चौलागाईले भनिन्–‘शरीरमा भएको लुगा बाहेक केही छैन ।’ कतिपय गाउँमा अझै बाढी घटेको छैन ।

त्यहाँका मानिसहरु सम्पर्कमा छैनन् । गाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । स्थानीयसँगको मोवाइल सम्पर्क टुटेको छ । ती गाउँमा भएको क्षतिका बारेमा अझै यकिन छैन । स्थानीय आशाराम चौधरीले वडा नं. ८ का मात्रै सुनाहाफाँटा, गोरचौरा, कृष्णनगर, जनकपुर, महादेउली लगायतका गाउँका थुप्रै मान्छे सम्पर्क बाहिर रहेको बताए । ‘धेरैजसो मान्छेसँग सम्पर्क हुन सकेको छैन’ उनले भने–‘त्यहाँ जाने अवस्था पनि छैन ।’ टीकापुर नगरपालिका–७ डिबीपुरका बालकृष्ण चौधरीको आठ जनाको परिवार पथरैया नदीको पुल नजिकै पाल टाँगेर बसेको छ । उनीहरुले समेत ज्यान मात्रै जोगाएका छन । घरमा भएको सबै खाद्यान्न बाढीले बगाएको छ । उनको परिवार समेत भोकभोकै छ । ‘सबै भोकै छौं । हिजोदेखी केही खान पाएको छैन’ उनले भने–‘हामी त जसोतसो सहेका छौं तर बालबालिकालाई गाह्रो भैरहेको छ ।’ बाढी प्रभावित क्षेत्रमा खानेकुराको अभाव भएको छ । घरमा भएको खाद्यान्न सबै बगेपछि उनीहरु भोकै बस्न वाध्य छन । टीकापुर नगरपालिका विपद शाखा प्रमुख निर्मला चौधरीले बाढीका कारण करिव ३५ सय परिवार प्रभावित बनेको बताईन । उनले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई उच्च भवन र विद्यालयमा राखिएको जानकारी दिईन । ‘उद्दार हुन बाँकी कोही पनि छैन’ उनले भनिन्–‘सबैलाई समयमै सुरक्षित स्थानमा राखिएको छ ।’

बेपत्ताको अवस्था अज्ञात बाढीमा बगेर बेपत्ता भजनी नगरपालिकाका तीन जनाको अवस्था अझै अज्ञात छ । उनीहरुको खोजी कार्य भैरहेको छ । बाढीमा बगेर बेपत्ता हुने स्केल चौधरी (९), इश्वर शाही (४२) र चक्र विक (३३) सबै वडा नं. ८ का बासिन्दा हुन । शाही र विकसँगै बगेका अन्य दुई जनालाई स्थानीयले उद्दार गरेर ज्यान जोगाएका थिए ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update