Hamro Patra
भजनीमा बाढीमा बगेर ३ जना बेपत्ता 
Khadga Memorial And Janajagriti

टीकापुर, साउन १४

कैलालीको भजनी नगरपालिका–८ मा बाढीमा बगेर तीन जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा जनकपुर गाउँका ९ वर्षका स्केल चौधरी र खैरा गाउँका २ जना पुरुष रहेका छन । खैरा गाउँका बेत्तपा हुनेको नाम थाहा हुन नसकेको वडाध्यक्ष पंकज चौधरीले जानकारी दिए । उनले आफू अझै खैरा गाउँ पुग्न नसकेको बताए । ‘म अझै त्यहाँ पुग्न सकेको छैन’ उनले भने–‘स्थानीयले खोजी गरिराखेका छन ।’ स्थानीय कृष्ण चौधरीले पथरैया नदीबाट गाउँ पसेको बाढीले भतिजा स्केललाई बेपत्ता बनाएको बताए । उनी गाउँमा बाढी पसेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा बेपत्ता भएको बताईएको छ । पथरैया नदीबाट गाउँ पसेको बाढीले सबैजसो घर डुबानमा पारेको छ । धेरैजसो स्थानीय बाढीमा फसेका छन । उनीहरुको अझै उद्दार हुन सकेको छैन । स्थानीयले घरमा भएको सबै खाद्यान्न बगाएको बताएका छन । भजनी नगरपालिकाका धेरैजसो वडाका बस्ती बाढीमा डुबेका छन । उद्दारमा सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीय युवा जुटेका छन । पुथ्वीपुर प्रहरी चौकीका इञ्चार्ज चंख कठायतले लालबोझीका ६० जनालाई उद्दार गरेर विद्यालयमा राखिएको बताए । उनले कान्द्रा र मोहना नदीमा पानीको सतह बढिरहेकाले उद्दार कार्यमा निकै कठिनाई भैरहेको जानकारी दिए । यता सोनाहाफाँटा प्रहरी चौकीले उद्दार सामाग्री नभएका कारण बाढीमा फसेका व्यक्तिहरुको उद्दारमा समस्या भैरहेको बताए । त्यहाँ कार्यरत एक सुरक्षाकर्मीले बाढी पसेका बस्तीका बासिन्दालाई आफ्नै ढंगले सुरक्षित बस्न आग्रह गरिरहेको बताए ।

Picture Source: Bikram Chaudhary/facebook

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १६:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update