Hamro Patra
कैलालीको पूर्वीक्षेत्र जलमग्नः सयौं घर डुबानमा

टीकापुर, साउन १४
कैलालीको पूर्वी क्षेत्र जलमग्न भएको छ । रातभर परेको अविरल वर्षाका कारण टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी, जोशीपुर गाउँपालिका अधिकांश क्षेत्र जलमग्न भएका हुन् ।

टीकापुर नगरपालिका वडा नं. १ को शक्तिनगर, शिवनगर, एकतानगर शिविर वडा नं. २ को विजयनगर शिविर, वडा नं. ५ का सिम्रेनी, बसन्ता, शाहीपुर, वडा नं. ३ का घिया, पुछरी, कटानपुर, वडा नं. ६ को पर्सेनी लगायतका क्षेत्रहरु जलमग्न भएका छन् ।

Khadga Memorial And Janajagriti

इलाका प्रहरी कार्यालय भजनीका अनुसार नगरपालिका अधिकांश भागमा पानी पसेको छ । अविरल वर्षाका कारण मोहना, पथरैया, काँढा नदीको पानी गाउँमा पसेको हो । बाढीले क्षति गरेको विवरण भने आउन बाँकी छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले बाढी प्रभावित क्षेत्रमा उद्दार गरिरहेका छन् ।

यता जोशीपुर गाउँपालिका २५ बढी घरहरु डुबानमा परेका छन् । पानी परिरहेकाले सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

उता कर्णाली नदीमा हिजोदेखि पानीको सतह बढ्दै गएको छ । अविरल वर्षाका कारण आएको बाढीले कर्णाली नदीको चिसापानी घाटमा पानीको सतहले खतराको बिन्दु नाघेको हो । मंगलबारदेखि पानीको सतह बढ्दै गएको छ । मंगलबार ६ मिटर लेवलमा रहेको पानी बुधबार बिहान ८.५९ मिटर थियो भने दिउँसो १०.२ मिटर पुगेको छ ।

कर्णालीमा ९.८ मिटर पानीलाई चेतावनी लेवल र १०.५ मिटरमाथिलाई खतरा मानिन्छ । पानीको सतह बढ्दै गएको विपद् पूर्व सूचना प्रणाली चिसापानीकी गेज रिडर पार्वती गुरुङले जानकारी दिइन् । खतरा लेवल नाघे तटीय क्षेत्रका टीकापुर, भजनी, जानकी र जोशीपुर गाउँपालिकाका अधिकांश भू भाग डुबानमा पर्नेछन् भने २ लाख बढी जनसंख्या प्रभावित हुनेछ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update