Hamro Patra
वैदेशिक रोजगारी त्यागेर स्वदेशमै कृषि कर्ममा जुटेका युवाहरु

टीकापुर, साउन ५
कैलालीको जानकी गाउँपालिका–८ भगरैयाका युवा विनोद विक अफ्रिकी मुलुक सेसलमा पाँच वर्ष बसेर फर्किए । त्यहाँ बस्दा उनको मासिक आम्दानी दुई लाख ५० हजार भन्दा बढी थियो । उनी राम्रो आम्दानी छोडेर स्वदेश फर्किए ।

उनी स्वदेश फर्केको ३ वर्ष भयो । उनले वैदेशिक रोजगारीका क्रममा झण्डै एक करोड रुपैयाँ कमाएर फर्केका थिए । उनले स्वदेश फर्केर वैदेशिक रोजगारीका क्रममा कमाएको ठूलो हिस्सा भैसीपालनमा लगाएका छन ।
उनले विगत एकवर्षदेखी आफ्नै गाउँमा भैसीपालन थालेका छन । उनका अनुसार भैसीपालनमा हालसम्म ८५ लाख रुपैयाँ खर्च भैसकेको छ । उनले भैसीपालनमा लगानी थप्दै गएका छन । उनको भैसीफार्ममा अहिले ११ भैसी, ७ पाडा र १ राँगो छ । उनको भैसीफार्ममा ७० भैसी अटाउन सक्ने क्षमता छ ।

उनी दैनिक ५० लिटर दूध बेच्दै आएका छन । उनका चार जना भाइहरु भैसीफार्ममा काम गर्छन । उनले विदेशमा काम गर्नु भन्दा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचले स्वदेश फर्किएको बताए । ‘कति अर्काको लागि मात्रै काम गर्ने भन्ने सोचेर घर फर्किएको हुँ’ उनले भने–‘आफ्नो ठाउँमा काम गर्दाको आनन्द नै बेग्लै हुने रहेछ ।’

Khadga Memorial And Janajagriti

टीकापुर नगरपालिका–६ नारायणपुरका हिरण्ड गिरी पाँच वर्ष मलेसिया बसेर फर्केका हुन । उनी मलेसिया बस्ने क्रममा बिरामी परे । उनको हातखुट्टा चल्न छोड्यो । उनी काम गर्न नसकेपछि स्वदेश फर्किए ।
उनी स्वदेश फर्किएपछि सन्चो भए । उनले विदेशमा काम गर्दाको दुःख सम्झिए । विदेशको दुःख सम्झिएपछि उनले स्वदेशमै केही काम गर्ने प्रण लिए । उनको भेट सुमनप्रसाद श्रेष्ठसँग भयो । श्रेष्ठले उनलाई गाउँमै बंगुर पालन गर्न सल्लाह दिए । श्रेष्ठको सहयोगमा उनले बंगुर पालन सुरु गरेका छन ।

उनको २२ लाख लगानीमा सुरु भएको टप एग्रिकल्चर बंगुर फार्ममा अहिले ४५ बंगुर छन । उनले बच्चा उत्पादन गरेर बिक्री गर्ने उद्देश्य राखेका छन । उनको बंगुर फार्ममा पाठा उत्पादन हुन थालेका छन । विभिन्न ठाउँबाट माग समेत आईरहेको छ । तर उनले अहिल्यै बेच्न थालिसकेका छैनन् । ‘विभिन्न जिल्लाबाट किसानहरुले माग गर्न थालेका छन’ उनले भने–‘अहिल्यै बेचिसकेको छैन ।’
उनको चारजनाको परिवार बंगुर फार्ममा संलग्न छ । उनले बंगुर फार्मबाट राम्रो आम्दानी हुने देखेका छन ।

जानकी गाउँपालिका–८ पहाडीपुरका प्रेमराज जोशी समेत मलेसियाबाट फर्केका हुन । उनले समेत वैदेशिक रोजगारीका क्रममा थुप्रै दुःख झेले । २०६७ सालमा रोजगारीका लागि मलेसिया छिरेका उनी २०७१ सालमा स्वदेश फर्किए ।

स्वदेश फर्किएपछि उनलाई के गरौं कसो गरौं भएन । थोरै रकम कमाएर फर्किएका थिए । अढाई विगाह खेतबारी छँदै थियो । उनले तरकारी खेती सुरु गरे । उनले सुरुवातमा बारीमा फलेको तरकारी साइकलमा बोकेर बजार पु¥याए । केही समयपछि मोटरसाइकल किने । अहिले उनीसँग मिनि ट्रक छ ।

उनको चार जनाको परिवार तरकारी खेतीमा संलग्न छ । २ जनालाई वर्षभरी नै रोजगारी दिएका छन । दैनिक ज्यालादारीमा काम गर्नेको संख्या यो भन्दा धेरै छ । उनको तरकारी खेतीले गाउँमै रोजगारी सिर्जना गरेको छ । कुनैबेला रोजगारीका लागि मलेसिया भासिएका जोशी अचेल गाउँमै रोजगारदाताका रुपमा चिनिएका छन ।

उनको बारीमा यतिबेला बोडी, लौका, करेला लगायतका तरकारी टन्न फलेको छ । लकडाउनका कारण भने उनको आम्दानीमा केही असर परेको छ । लकडाउनका कारण होटल बन्द छन । बारीमा फलेको तरकारी खपत हुन सकेको छैन । ‘लकडाउनले केही हदसम्म असर पारेको छ’ उनले भने–‘तर तरकारी खेतीमा लागेर राम्रै आम्दानी भैरहेको छ ।’

टीकापुर नगरपालिका–५ नुक्लीपुरका प्रकाश ओड दुबईस्थित होटलको राम्रो जागिर छोडेर फर्किए । स्न २०१५ मा त्यहाँ गएका ओड २०१९ मा स्वदेश फर्किएका हुन । उनले अहिले गाउँमै बाख्रापालन थालेका छन । उनीसँग अहिले ३५ बाख्रा छन ।

उनको लक्ष्य बोर जातको बाख्रा पाल्ने छ । उनले लोकल जातको बाख्राको नश्ल सुधार थालेका छन । जसका लागि उनले अढाई लाख खर्च गरेर अष्टे«लियाबाट बोर जातको बोका ल्याएका छन । उनले थप १५ वटा बोर जातको बाख्रा समेत मगाएका छन । ‘केही दिन भित्रै बोर जातको बाख्रा पुग्छ’ उनले भने–‘मासुमा आत्मनिर्भर बनाउने लक्ष्य छ ।’

वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेका यी केही उदाहरणीय पात्र मात्रै हुन । हाम्रो गाउँ समाजमा अझ थुप्रै युवाहरु वैदेशिक रोजगारीबाट फर्केर कृषि क्षेत्रमा लागेको देख्न सकिन्छ । उनीहरु मध्ये धेरैजसोको भनाई आफ्नै देशमा केही गर्नुपर्छ भन्ने छ ।

रानी जमरा कुलरीया सिँचाई आयोजना कृषितर्फले कृषि क्षेत्रमा सहयोग गर्दै आएको छ । कार्यालयले विभिन्न किसानहरुलाई वर्षेनी लाखौ रुपैयाँ बराबरको कृषि औजार, मलखाद, बिउबिजन, विषादी लगायत सहयोग गर्ने गरेको छ । वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै कृषि क्षेत्रमा लागेका अधिकांश युवाहरु समेत कार्यालयबाट लाभान्वित भएका छन । समाचारमा उल्लेखित सबै युवाहरुले कार्यालयबाट केही न केही सहयोग प्राप्त गरेका छन ।
कार्यालय प्रमुख भरत कँडेलले कृषि क्षेत्रमा लाग्न युवाहरुलाई प्रोत्साहित गर्ने खालका विभिन्न कार्यक्रम सञ्चालन हुने गरेको बताए । उनले धेरै भन्दा धेरै युवाहरु कृषि क्षेत्रमा लागेर कृषि उपजमा आत्मनिर्भर बन्ने उदेश्य रहेको बताए ।

 

प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update