कैलालीको टीकापुर–१ का दीपेन्द्र भण्डारी वर्षा होस् कि हिउँद कर्णाली नदी कटानबारे चिन्तित हुन्छन्। कर्णाली नदीले टीकापुर नगरपालिका–८ श्रीलंकामा रहेको आफ्नो उब्जाऊ भूमि वर्षेनी कटान गर्न थालेपछि उनी चिन्तित बनेका हुन्।
२०६० सालबाट नदीले कटान शुरु गरेको भए पनि पछिल्ला तीन वर्ष यता कटान तीब्र छ। उनी नदी कटानबारे जिल्ला प्रशासन, जिल्ला विकास समिति, स्थानीय तह, प्रदेश सरकार हुँदै संघीय सरकारसँग पटक पटक गुहार माग्न पुगे। तर कतैबाट सुनुवाइ भएन।
नदी कटान भएदेखि नै सरकारी निकायहरु धाउन थालेका उनको, तीन विघा जमिन कर्णालीमा बगिसकेको छ। सात विघा जमिनमध्ये उनीसँग अहिले ४ विघा मात्रै बाँकी छ। उनी मात्रै होइनन् वर्षेनी नदी कटानले श्रीलंकाका खड्क साउँद, कालु साउँद, गोपाल साउँद, बलविरे टमट्टा, डंग्ला चौधरीसहित दर्जनौं किसानले सयौं विघा जमिन गुमाएका छन्।
नदीले वर्षेनी २० विघा भन्दा बढी जमिन कटान गर्दै आएको छ। ‘२०४० सालदेखि नै कटान शुरु भएको हो, साविक धनसिंहपुर गाविसको वडा नं. १ पुरै कटान भएर नदी बगिरहेको छ’ भण्डारीले भने,‘पछिल्ला तीन वर्षमा मात्रै हजार विघा जति जमिन कटान भएको छ।’
आफूहरूले पटक पटक विभिन्न निकाय धाएको भए पनि आश्वासनबाहेक केही नपाएको उनले गुनासो गरे। ‘वर्षेनी राज्यलाई कर तिर्दै आएका छौं, बदलामा हामीले हाम्रो जमिन कर्णालीमा गुमाइरहेका छौं’ भण्डारीले भने। राज्य नदी नियन्त्रणमा ध्यान नदिँदा ५ सय बढी घरपरिवार रहेको श्रीलंकाबाट थुप्रै मानिस पलायन भएका छन्।
कर्णालीको कटानबाट आफ्नो उर्बर भूमि बालुवामा परिणत हुँदै गएको स्थानीय डंग्ला चौधरीले बताए। ‘सबै बाली निकै राम्रो फल्थ्यो, वर्षेनी कटान हुँदै जान थालेपछि जतिबेला पनि उठिबास लाग्न सक्छ,’ चौधरीले भने।
कर्णाली सुदूरपश्चिमको कैलाली र प्रदेश ५ को बर्दियाको सीमाना भएर बग्छ। बर्दिया तर्फको कर्णालीमा तटबन्ध निर्माण भएपछि कैलालीतर्फ नदीको कटान तीब्र भएको हो।
कर्णाली नदीले श्रीलंकामा वर्षभरि नै कटान भइरहेको टीकापुर नगरपालिका वडा नं. ८ का वडाअध्यक्ष दीर्घ ठकुल्लाले बताए। कटान नियन्त्रणका लागि प्रदेश र संघमा पहल गरिरहेको भए पनि सुनुवाई नहुँदा किसानले उर्बर भूमि गुमाइरहेको उनले बताए।
धमाधम कर्णाली नदीले कटान शुरु गर्न थालेपछि श्रीलंकाबासी रातभर सुत्दैनन्। पानी परेको बेला नदीको सतह बढ्ने र बाढी गाउँ पस्ने डरले उनीहरू रातभर जाग्राम बस्ने गरेका छन्। ‘पानी धेरै परेको दिन रातभरी निदाउन पाईदैन, घर छोडेर अग्लो ठाउँमा गएर बस्नुपर्छ,’ स्थानीय भोला चौहानले भने।
पहाडमा पानी परेपछि पनि उनीहरू नदी बढ्ने र कटान शुरु गर्ने हुनाले राति जागाराम बस्ने गरेका कर्णालेश्वर आधारभूत विद्यालयका शिक्षक पदम बुढाले बताए। कर्णाली नदीले तीब्र कटान गर्न थालेपछि नेपाल भारतका ठाउँ ठाउँका सीमा स्तम्भ वर्षेनी कटान हुँदै आएका छन्। यस वर्ष कर्णाली नदीले दुई देशको दशजगा क्षेत्रमै बैशाख पहिलो सातादेखि नै कटान शुरु गरेको छ।
नदी कटानले यस वर्ष श्रीलंकामा रहेको ७०१/१ नम्बरको सहायक सीमास्तम्भ बगाएको छ। कर्णाली मात्र नभई सीमा क्षेत्र भएर बग्ने मोहना नदीले समेत दुई देशका सीमास्तम्भ बगाउँदै आएको छ। कर्णाली र मोहना नदीले टीकापुर नगरपालिकाअन्तर्गत पर्ने सहायक पिल्लर ७०२, ७०३ र ७०४ बगाएको थियो। टीकापुर नगरपालिका भित्रका ४ मुख्य र १० सहायक सीमास्तम्भ नदीले बगाएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टले बताए।
सुदूरपश्चिम प्रदेशको टीकापुर र प्रदेश नं. ५ को बर्दियाको राजापुरलाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गत कर्णाली नदीको सत्ती घाटमा निर्मित पुल समेत कटानको जोखिममा छ।
तीन वर्षदेखि नदी कटानले गर्दा पुलको राजापुरतर्फको किनारमा ठूलो प्वाल परेको छ। पुलको अन्तिम पिलरसँगै बनाइएको ताराजालीसहित तटबन्ध वर्षेनी भासिदै आएपछि पुल पनि जोखिममा परेको छ।