Hamro Patra
टीकापुर नगरपालिकाको नगरसभा शुरुः मिलेर गए विकास सम्भवः डा.रावल

टीकापुर, ८ असार

कैलालीको टीकापुर नगरपालिकाको सातौं नगरसभा अधिवेशन आजबाट शुरु भएको छ । नगर अधिवेशनलाई सुदूरपश्चिम प्रदेश सभा क्षेत्र नं. १ (ख) सदस्य डा.रणबहादुर रावलले विशेष सम्बोधन गरेका छन् ।

सभालाई सम्बोधन गर्दै रावलले स्थानीय सरकार र प्रदेशबीच आपसी समन्वय हुनुपर्नेमा जोड दिए । ‘जनतालाई विकासको आभास दिलाउन स्थानीय तह र प्रदेशबीच समन्वयको खाँचो छ’ रावलले भने ‘जनताका असीमित आवश्यकताहरुलाई पुरा गर्नका लागि हामीबीच सहकार्य र समन्वय हुनुपर्छ ।’

Khadga Memorial And Janajagriti

कोरोना संक्रमणकाबीच स्थानीय तहहरुले व्यवस्थापन गर्दै आइरहेको क्वारेन्टाइनको कामबारे प्रशंसा गर्दै रावलले् कोरोना महामारी नियन्त्रणका लागि प्रदेश र संघीय सरकारले हात खडा गरेको आरोप लगाए । ‘सीमित श्रोत साधनका बाबजुत पनि स्थानीय सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास प्रशसंनीय छ’ रावलले भने ‘अब भारत लगायतका देशबाट फर्किएका नागरिकहरुलाई व्यवस्थित गर्ने कार्यक्रममा ध्यान दिनुपर्दछ ।’

समग्र टीकापुरको विकासका लागि टीकापुर नगरपालिकाले टीकापुर पार्कलाई व्यावसायिक रुपमा लिजमा दिने, रोजगारी सिर्जना गर्ने, औद्योगिक ग्रामको शुरुवात गर्ने तथा होमस्टेलाई बढावा दिनुपर्नेमा रावलले जोड दिए । ‘अहिलेको अवस्थामा रोजगारी सिर्जना गर्नु मुख्य चुनौति छ, त्यसकारण नगरपालिकाले पार्कलाई लिजमा दिने, औद्योगिक ग्राम लागु र होमस्टे विस्तार गरौं’ रावलले भने ‘आर्थिक रुपमा समेत नागरिकहरुलाई समानता प्रदान गर्नुपर्छ ।’

सभामा नगर प्रमुख तपेन्द्र रावलले आर्थिक वर्ष २०७७।०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा टीकापुर नगरपालिकालाई उत्पादनशील, स्वस्थ, शिक्षित, पूर्वाधारयुक्त, सुव्यवस्थित पर्यटकीय नगर बनाउने दीर्घकालीन लक्ष्य लिइएको छ ।

नीति तथा कार्यक्रममा एक वडा एक गौरबको सडक योजना, विद्यालय दीवा खाजा कार्यक्रम, टीकापुर अस्पतालमा संचालन गरिएको बालरोग तथा स्त्रीरोग विशेषज्ञ सेवा, घरदेखि अस्पताल, हाम्री छोरीः प्यारी छोरी कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

त्यस्तै नीति तथा कार्यक्रममा नयाँ कार्यक्रममा रुपमा नगरपालिकाको यातायात गुरुयोजना निर्माण, कृषि उत्पादन अभिवृद्धि एवं प्राङ्गारिक खेती, एक वडाः एक उत्पादन, टीकापुर शहरः सडकमानवरहित नगर, स्थानीय तथ्यांक व्यवस्थापन प्रणाली स्थापना, पूर्ण साक्षर नगरपालिका घोषणा, बालबालिकाको विशेष प्रतिभा पहिचान कार्यक्रम, प्लाष्टिक निषेधित क्षेत्र घोषणा र वडाहरुको विभाजन गरिने उल्लेख छ ।

विश्वमा देखा परेको कोरोना संक्रमणको सामना गर्दै रोजगारीका अवसरहरु सिर्जना हुने गरी विकासका प्राथमिकता र बजेट तर्जुमा गरिने नीति लिइएको छ ।

प्रकाशित मिति: सोमबार, असार ८, २०७७  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update